उत्पादनको अन्तिम तयारीमा मध्यभोटेकोसी, सबस्टेशन नबन्दा बिजुली खेर जाने डर

उत्पादनको अन्तिम तयारीमा मध्यभोटेकोसी, सबस्टेशन नबन्दा बिजुली खेर जाने डर
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सीमा क्षेत्र चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजना विद्युत उत्पादनको अन्तिम चरणमा पुगेको छ।

तर विद्युत उत्पादनको अन्तिम चरणमा पुगेको आयोजनाको सुरुङ परीक्षणका क्रममा पानी चुहिएको छ। निर्माणको जिम्मा पाएको कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गर्दा पानी चुहिएको स्थानीयको आरोप छ। मध्यभोटेकोसी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले पनि सुरुङ परीक्षणका क्रममा पानी चुहिएको स्वीकारे।‘अहिले हामी सुरुङ टेस्टिङका क्रममा छौं, अडिट १ बाट ठूलै मात्रामा पानी लिकेज भएको छ। पानी लिकेज भएको ठाउँमा केमिकल प्रयोग गरेर ग्राउण्डेड गर्छौं’, उनले भने। 

बाह्रविसे नगरपालिका–५ जम्बुमा रहेको पावर हाउसमा पेनस्टक पाइपबाट पानी खसालिएको आयोजनाले जानकारी दिएको छ। पानी फूल प्रेसरमा हाल्दा मात्रै चुहिएको तर कम प्रेसरमा हाल्दा समस्या नदेखिएको सिवाकोटीले बताए। अब आयोजनाको टीम, विज्ञ र ठेकेदारको संयुक्त टोलीले थप अध्ययन गरेर निचोड निकाल्ने उनले बताए। यस्ता सुरुङमा अन्यत्र पनि पानी चुहिएको बताउँदै उनले यसअघि चिलिमे ग्रुपले बनाएको अन्य आयोजनामा पनि पानी चुहिएको बताए। ‘हामी त्यसलाई मर्मत गर्छौं, मर्मत कुन लेभलको गर्ने हो, त्यो हेरेपछि मात्रै थाहा हुन्छ’, उनले भने– ‘यसले विद्युत् उत्पादनको पछिल्लो लक्ष्यमा कुनै फेरबदल हुँदैन। हामीले वैशाखभित्र उत्पादनको टार्गेट राखेका छौं।’

आयोजना २०७३ मा सक्ने लक्ष्य लिइएको थियो तर २०७२ सालको भूकम्प, नाकाबन्दी, २०७३ सालको जुरे पहिरो तथा पटक–पटक निर्माणस्थलमा आएको बाढी पहिरोका कारण आयोजना प्रभावित हुँदै आएको थियो। आयोजनाको अनुमानित सुरुवाती लागत १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेकोमा हाल आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख पुगेको छ। 

निर्माणाधीन आयोजनाको सुरुको  कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ। कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीमध्ये प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोसी हाइड्रो पावर लिमिटेडको १–१ प्रतिशत सेयर छ।

४९ प्रतिशत साधारण सेयरधनी समूहको सेयर छ। कम्पनीले  साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ। साधारण लगानीकर्ता १० लाख ७५ हजार छन्। आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ। प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ।

बिजुली खेर जाने डर

आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको भए पनि बिजुली प्रवाह गर्ने सबस्टेशन निर्माण सम्पन्न नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ। बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले ताकेता गरेको भएपनि आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्याका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन। 

कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले सबस्टेसनको निर्माण माघको पहिलो हप्ताभित्र सम्पन्न गर्ने तालिका तय गरेको भएपनि समयसीमा कटेको १ महिना बितिसक्दा पनि निर्माणकार्य सम्पन्न हुन सकेको छैन।  

सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ। प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटकपटक दिएको निर्देशन निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ।

समयमा नै सबस्टेसनको निर्माण सम्पन्न नभएर मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिए सोको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी प्राधिकरणले दिँदै आएको छ। समस्या समाधानका लागि पटकपटक प्रयास गरिए पनि निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन।

मध्यकोसीको निर्माण एक महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेको छ। मध्यभोटेकोसीबाट उत्पादित विद्युत् दुई सय २० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। तर सबस्टेशनको निर्माण पूरा नहुँदा एकातिर बिजुली खेर जाने चिन्ता र अर्कोतर्फ लगानी बढ्ने अवस्था सिर्जना भएको छ। ‘मध्यभोटेकोसी विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको छ, आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनुभन्दा पहिले नै सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्छ। समयमै निर्माण सम्पन्न नभए मध्यभोटेकोशीको विद्युत् खेर फाल्नुपर्ने पीडादायी अवस्था आउन सक्ने भएकाले यसलाई ध्यान दिएर काम गरौँ’, उनले भने– ‘मध्यभोटेकोसीले यस वर्षको सुख्खायामको विद्युतको माग धान्नका लागि ठूलो सहयोग गर्छ, त्यसैले सबै गम्भीर भएर सबस्टेसन निर्माणमा लागेर आयोजनाको विद्युत जतिसक्दो छिट्टो जोड्ने अवस्थामा पुगौँ, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्न तयार छौं।’

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन्। सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू राखिएका छन्। ग्याँस इन्सुलेटेड प्रणाली ९जिआइएस० प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरू जडान भइरहेका छन्।

नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरू निर्माणस्थलमा आपूर्ति भइसकेका छन् भने भने जडान बाँकी छ। सिभिलतर्फको फिनिसिङ काम बाँकी छ। २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ। बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.