टेकु र बञ्चरेडाँडामा कम्पोष्टिङ एरिया बनाउँदै महानगर

टेकु र बञ्चरेडाँडामा कम्पोष्टिङ एरिया बनाउँदै महानगर
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाले फोहरको उचित व्यवस्थापन गर्नका कम्पोष्टिङ एरिया बनाएको छ।  टेकुमा रहेको डम्पिङ साइटमा गत माघ २१ गतेबाट महानगरको २७ नम्बर वडाबाट संकलित कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने प्रक्रियामा राखिएको छ। यसका लागि महानगरले वडा नं. २७ बाट संकलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको हो। 

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार टेकु र बन्चरेडाँडामा कम्पोष्ट मल बनाउने प्रक्रिया सुरु भएको छ।  महानगरपालिका भित्रको फोहोरको प्रभावकारी व्यवस्थापन गर्न महानगरले यसअघि नै वर्गीकरण गरिएको फोहर मात्रै उठाउने निर्णय गरेको थियो। तर प्राविधिक तयारी नभएको भन्दै पछि महानगर आफैं पछि हटेको थियो। 

वातावरण विभाग प्रमुख श्रेष्ठ भन्छन्, 'महानगरबाट उत्पन्न हुने फोहरको वर्गीकरण गरेर कम्पोष्टिङ एरियासम्म पुर्‍याउन बेग्लै तयारी गर्नुपर्ने हुन्छ। सवारी साधन बेग्लै चाहियो, फोहर कलेक्सन गर्ने ठाँउको पनि महानगरलाई अभाव छ। प्राविधिक व्यक्ति पनि थप व्यवस्थापन गर्नुपर्ने हुन्छ। यसैले पनि कम्पोष्ट मल बनाउने प्रक्रिया हामीले पालैपालो गर्देछौं। अहिले महानगरको २७ वडाबाट सुरु गरिएको हो।' 

२७ नम्वर वडाका बासिन्दाबाट उत्पादन भएको फोहर अहिले वर्गीकरण गरेर मात्रै महानगरले उठाउने गरेको छ। उक्त वडामा वर्गीकरण नभएका फोहर नउठाइने श्रेष्ठले जानकारी दिए। 

महानगर वातावरण विभागकी उपनिर्देशक सानुमैया मर्हजनका अनुसार २७ नम्बर वडामा १४ सय घरधुरी र ५ हजार जनसंख्या छन्। उक्त वडाबाट एक दिनमा ५०० केजी जैविक फोहोर उत्पादन हुन्छ। ३५ सय किलो जैविक फोहोरको एक पाइल बनाएर ४ पाइलमा १४ हजार केजी कम्पोष्ट मल तयारीको लागि प्रक्रिया सुरु गरिएको हो। उपनिर्देशक मर्हजनका अनुसार कम्पोष्ट मल बनाउने प्रक्रियामा राखिएको फोहोरलाई गन्धरहित बनाउनको लागि टोकोजाई नामक व्याक्टेरिया मिसाउने गरिन्छ। यो व्याक्टेरियाले फोहोर कुहिएर लिचेड निस्कन नदिने मर्हजनले बताइन्। यसरी कलेक्सन भएको फोहोरबाट २५ देखि ३० प्रतिशत मात्रै कम्पोष्ट मल बन्नेछ। 

फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै संकलन गर्न थालिएको छ। ढुवानी र व्यवस्थापन पनि छुट्टा–छुट्टैरुपमा गर्ने गरिएको छ। वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘ केही समय अगाडिदेखी नै महानगरको फोहर वर्गीकरण गर्ने भनिए पनि कम्पोष्टिङ गर्न ठाँउ तोकिएको थिएन। तर अब टेकु र बन्चररेडाँडामा पनि कम्पोष्ट मल बनाउने तयारी गरेका हौं। सुरुवातमा २७ वडा अनि १२ नम्बर वडा ५ र ६ नम्बरमा पनि क्याम्पियनहरु भैरहेको उनले बताए। 

श्रेष्ठले जैविक फोहर कम्पोष्टिङ गर्नलाई महानगरसँग प्रशस्त जग्गा नभएको बताउँदै पहिलो चरणमा टेकु अनि क्रमस सिसडोल र बन्चरेडाँडामा पनि राख्ने तयारी रहेको बताए। महानगरले क्रमिक रुपमा सबै ठाँउमा फोहरको वर्गीकरण गरेर मात्रै संकलन गर्ने उनले बताए। उनका अनुसार जैविक फोहोरबाट उत्पादन भएको कम्पोष्ट मल महानगरकै पार्क, तथा सडकका टेउछाउमा रहेका बोटविरुवामा प्रयोग गरिनेछ। आवश्यकताभन्दा बढी उत्पादन गर्न सकिएमा कम्पोष्ट मल बिक्री वितरण गरिने उनले बताए। 

आफ्नो एरियालाई हरियाली बनाउने महानगरको योजना रहेको श्रेष्ठले बताए। उनी भन्छन्, 'निकै अगाडिदेखी महानगरको फोहोर फाल्ने डम्पिङ साइट रहेको बन्चरेडाँडा र सिसडोलमा पनि वृक्षारोपण गर्न तयारीमा महानगर छ। यसका लागि महानगरले पानीको व्यवस्थापन गरिसकेको छ। महानगरमा हरेक दिन उत्पादन हुने फोहोरमध्ये ४० देखि ५० प्रतिशत जैविक फोहर हुन्छ। पुन प्रयोग गर्न सकिने फोहोरजन्य सामाग्री पनि बेग्लै संकलन गरिने श्रेष्ठले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.