कुचीकारहरूलाई सार्वजनिक सम्मान

कुचीकारहरूलाई सार्वजनिक सम्मान
सम्मानित सरसफाइ कर्मचारीका साथमा समाजसेवी इन्दिरा थापा र मेयर लोमन शर्मा।

दैलेख : नारायण नगरपालिका—६ का नमराज सार्की सरसफाइ कर्मचारी हुन्। नगरपालिकामा कुचीकार पदमा कार्यरत सार्कीले सरसफाइ कर्मचारीका रूपमा सेवा गर्न थालेको २० वर्ष पुग्यो।

घामपानी, चिसो गर्मीको प्रवाह नगरी उनी दिनहुँजसो नगरक्षेत्रको फोहोर संकलनदेखि सरसफाइमै जुट्छन्। उनै सार्कीले हालैमात्र सार्वजनिक सम्मान पाएका छन्। सार्कीजस्तै नारायण नगरपालिका–२ का मानबहादुर सुनार पनि सरसफाइ कर्मचारी हुन्। विगत ११ वर्षदेखि नगरपालिकाको कुचीकार पदमा कार्यरत सुनारको दैनिकी पनि नगर क्षेत्रमा सरसफाइ गरेरै बित्छ। सुनारलाई पनि सम्मान गरिएको छ। 

नगरपालिकामा कुचीकार पदमा सरसरफाइ कर्मचारीको रूपमा कार्यरत सार्की र सुनारलगायत ७ जनालाई हालै मात्र सम्मान गरिएको हो। उनीहरूलाई कुनै सरकारी कार्यालय वा गैरसरकारी संस्थाले सम्मान गरेको भने होइन। यहाँकी समाजसेवी इन्दिरा थापाले ती सरसफाइ कर्मचारीलाई सम्मान गरेकी हुन्।

ज्येष्ठ नागरिक संघ दैलेखकी संस्थापक रहेकी ७९ वर्षीया थापाले आफूले पाउने सामाजिक सुरक्षा भत्ताको रकमबाट सरसफाइ कर्मचारीलाई नगद पुरस्कारसहित दोसल्ला ओडाएर सम्मान गरेकी हुन्। नारायण नगरपालिकाका सरसफाइ कर्मचारी पाँच जना कुचीकारहरू नमराज सार्की, मानबहादुर सुनार, सुजन खत्री, घनश्याम सार्की, थीरबहादुर थापा, सरसफाइमा प्रयोग भएका टिपर चालकहरू पुष्कर थापा र टेकबहादुर चन्दलाई सम्मान गरिएको हो।

स्थानीय देवकोटा चोकमा भएको उक्त कार्यक्रममा समाजसेवी थापाले सरसफाइ कर्मचारीलाई फूलका गुच्छा दिएर खादा ओडाइन्। सम्मानित सातै जनालाई ५ सय ५५ रुपैयाँँ राखिएको खाम उपलब्ध गराइन्। नगरका मेयर लोमन शर्माले कर्मचारीहरूलाई सम्मानस्वरूप अबिर लगाइदिए।

समाजसेवी थापाले सरसफाइ कर्मचारीले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको बताइन्। माइलो छोराको परिवारलाई भेट्न बेल्जियम पुगेको बेला त्यहाँँ तल्लो तहमा काम गर्नेहरूलाई अझ बढी कदर गर्ने गरेको देखेर आफूमा नगरका सरसफाइ कर्मचारीहरूलाई सम्मान गर्ने सोच आएको बताइन्। कामले सानो वा ठूलो कोही पनि हुँदैन भन्ने सन्देश दिन उहाँहरूलाई सम्मान गरेको उनको भनाइ छ। ‘ठूला पदासीन व्यक्तिलाई मात्र सबैले हेर्ने तर हाम्रो दैनिकीसँग जोडिएका व्यक्तिहरूलाई कसैले पनि नहेर्ने भएकाले कुचीकारलाई नै सम्मान गर्नुपर्छ भन्ने मेरो बुझाइ हो,’ उनले भनिन्, ‘उहाँहरू हाम्रो स्वास्थ्य हो, उहाँहरूको कामले हामी सफा ठाउँमा छौं भन्ने अनुभूति भएको छ।’ 

नगरका मेयर लोमन शर्माले सरसफाइ कर्मचारीलाई सम्मान गर्ने कार्य सराह्रनीय भएकाले सिकाइ भएको बताए। सार्वजनिक सम्मान पाएपछि कुचीकार घनश्याम सार्कीले भने, ‘कोरोनाको बेलासमेत जोखिम मोलेर सरसफाइ गर्‍र्यौं तर कसैले सम्झन नसकेको बेला हजुरआमाबाट सम्मान पाउँदा खुसी लाग्यो।’ जिल्लामा जातीय विभेद, महिला हिंसालगायत असमानताविरुद्धको नागरिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी समाजसेवी थापालाई सन् २०२० मा संयुक्त राष्ट्रसंघले दैलेखका लागि यूएनदूत मनोनयन गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.