देउडा गीतमा ठाडी भाका

देउडा गीतमा ठाडी भाका

वास्तवमा देउडा गीत वनगीत हुन्। यी गीतहरू वनमा जन्मिन्छन्, संरक्षण गरिएन भने जंगलमै विलिन हुन्छन्।

जै वन कस्तुरी छियो उई वन बाघ्लागी

दिल् जली खरानी भयो हृदय आगलागी।

हिमाली भेग र उच्च पाखापखेरामा पाइने कस्तुरी मृगहरूको बासस्थानमा बाघ पसेर आतंक मच्चायो। कयौं कस्तुरी मृग बाघको सिकार बने। कस्तुरी मृगको वास्ना आउन छोड्यो हिमाली भेगहरूमा। अशान्ति, अभाव र समाजमा देखा परेका विकृतिका कारण हृदयमा आगो लागेझैं भइरहेछ, दिल खरानीमा परिणत भइरहेछ।

एकजना आँसुकविले देउडा गीतको करुण रसमा गाएको गीत हो माथिको। बिनायो, मुर्चुंगा, हार्मोनियम, बाँसुरी, मादल आदि कुनै पनि वाद्य संयन्त्र चाहिँदैन देउडा गीतमा ठाडी भाका गाउँदा। वास्तवमा देउडा गीत वनगीत हुन्। यी गीतहरू वनमा जन्मिन्छन्, संरक्षण गरिएन भने जंगलमै विलिन हुन्छन्। आँसुकविहरूले या देउडियाहरूले नै गीत जन्माउँछन्, ती व्यक्तिहरूले नै संरक्षण गर्छन् र आयु पुगेपछि माटोमा नै विलिन हुन्छन्। लोकसंगीतमा युगौंदेखिको समस्या हो यो।

सुदूरपश्चिमका मानबहादुर विष्ट, हरिशचन्द्र कडायत हुन् या जुम्लाका शिवचन्द्र खत्री हुन् अथवा लमजुङका भेडीखर्के साइँला किन नहुन् जसका गलाबाट निस्केका ठाडी भाकाका लयहरू उनीहरूको निधनसँगै विलिन भएर गए। ती कालजै गीत र स्वरहरूको अभावमा नवपिँढी सर्जकलाई घाटा भइरहेछ। पूर्वाञ्चलका मोहन आङबोका ठाडी भाकाका पूर्वेली हिमाली, पहाडी भेगका गीतहरू पनि संरक्षण गर्नुपर्ने आवश्यक छ। ठाडी भाकालगायतका अनेकौं संस्कृतिजन्य पहिचानका गीतहरू यस क्षेत्रमा लागिपरेका कलाकर्मीले नै बचाउनुपर्छ।

डेढी कदममा खेलिने देउडा खेलमा र ठाडी भाकामा गाउने गीतहरूमा आकाश–जमिनको फरक छ। देउडा गीतको एक चरणमा १४ अक्षर र अर्को चरणमा पनि १४ वटा गरी २८ अक्षर मिलेर बनेको देउडा गीतलाई आफू अनुकूल भाका (भाक्या) हाली गाउन सकिन्छ। गोलाकार रूपमा घुमेर रमाइलो मान्दै गाउन पनि सकिन्छ। जसलाई देउडा खेलेको या नृत्य गरेको भनिन्छ। सबाल–जवाफमा आधारित हुन्छ यो खेल। खेलका दुईवटा समूह हुने हुनाले गीतांगी पनि दुई थरी नै हुन्छन्। कडा प्रतिस्पर्धा हुन्छ, हारजित हुन्छ। यदि केटाकेटीका बीचमा सबालजबाफ परेको खण्डमा केटा पक्षले भगाएर केटीलाई आफ्नो घरमा लैजाने प्राचीन प्रचलन अहिले पनि सुदूरपश्चिमका पहाडी जिल्लामा यदाकदा देख्न पाइन्छ। यो प्रथालाई कुप्रथा नसम्झेर मायाको सम्बन्धका रूपमा लिने गरिन्छ।

देउडा गीतमा ठाडी भाका खेल खेलिने शैलीभन्दा पृथक् किसिमको विधा हो। समूहमा नभएर एकान्तमा विरही भावमा ठाडी भाका गाइन्छ। जमिनबाट जन्मेका गीत भएकाले व्यक्तिले आफ्नो जिन्दगीसँग मेल खाने गीतहरू गाउने गर्छन्। जिन्दगीको अर्थ बुझाउने ती गीतहरू विशेषगरी करुणरसमा आधारित हुन्छन्। ध्यान दिएर ठाडी भाका सुन्ने हो भने ती गीत र भावले मानिसलाई धुरुक्कै रुवाउँछन्। कति शक्ति हुन्छ ती गीतमा, कति मीठो शैली हुन्छ गायकगायिकामा। कानमा हात राखेर, आँखा चिम्लेर, गीतमा डुबेर गाएको देख्दा र स्वर सुन्दा जिन्दगी विरक्तिएर आउँछ। यस्ता गीत महिलावर्गले बढी गाउँछन्।

जंगल नै हो स्वतन्त्रता र स्वच्छन्दताको गीतको फूलबारी। आफूमाथि सौता हालेका, श्रीमान्ले हेलाँ गरी छोडेका, सुत्केरी हुन नसकी ज्यान गुमाएका, छोराछोरी प्रदेशबाट घर नफर्केका, पहिरोका कारण गाउँबस्ती बगाएका, भू्कम्पका कारण बालबच्चाको निधन भएका, घर भत्केर बस्ने ठाउँ नपाएका, साहुको ब्याजले ऋण तिर्न नसकेर जग्गाजमिन साहुले आफ्ना नाममा राखेका, हलिया प्रथाले जिन्दगी गुजार्नु परेका, साँघु तर्न नसकेर नदीमा ज्यान गुमाएका रामकहानीलगायतका दर्दनाक कथाहरू विरही भावका गीतमा पोखिएका पाइन्छन्।

शिररिर्या‍ बयालो (हावा) चल्दो रोक्या रोकिँदैन
बाहिर दन्त (दाँत) हाँस्याकाइछन् भित्री देखिँदैन।

गत असोज १६ र १७ गते बझाङको मष्टा गाउँपालिकामा गएको भूकम्पले हजारौं घर क्षतिग्रस्त भए। सीमा जोडिएको तलकोट गाउँपालिकामा पनि हजारौं घर क्षतिग्रस्त भए। जयपृथ्वी नगरपालिकालगायत जिल्लाका खप्तड छान्ना, शुर्मा दौलीचौर आदि गाउँपालिकाका बासिन्दाले पाएका दुःख सम्झेर गाएको ठाडी भाकाको गीतको एक अंश हो माथिको। उक्त गीतले श्रोताको मनमुटु छोएको छ। त्यसैले त ठाडी भाकाका गीतहरू सजीव हुन्छन्, जीवन्त हुन्छन्।

ठाडी भाका देउडा गीतकी जननी हुन्। ठाडी भाकाका गीतले सिंगो सुदूरपश्चिम र कर्णाली प्रदेशको नरनारीको जिन्दगी बोलेको हुन्छ। राज्यले ती प्रदेशलाई हेर्ने दृष्टिकोणमा फरकपन देखिएजस्तै त्यहाँका सम्भ्रान्त नरनारीले गरिबी र अभावमा बाँच्न बाध्य भुइँ मान्छेहरूलाई हेर्ने चश्मा फरक छन्। ठूलो खाडल छ, सम्पन्न र विपन्न वर्गका बीचमा। अधिकांश व्यक्ति हुँदा खाने भए पनि सीमित हुनेखाने समूहले दबाएर राखेको देखिन्छन्। त्यसैले पनि कोमल भावका मानिस कारुणिक लयमा ठाडी भाकामा गीत गाउने र प्रकृतिजन्य सम्पदालाई साथी सम्झेर सुनाउँछन्।

देश बस्न्या स्थिति छैन गाउँ बस्न्या घरै नाइँ
चेलाचेली भोकभोकै छन् कसैको भरै नाइँ।

ठाडी भाका गीतले समयलाई सम्बोधन गर्छ। तीसको दशकअघिसम्म ठाडी भाका नै वनगीतका सम्पत्ति कहलिन्थे। खेलभन्दा ठाडी भाका गाउन मानिसहरू तम्सिन्थे। स्याउली सोत्तर गर्दा, गाईगोठालो जाँदा या गाजो (सुकेको घास) काट्दा ठाडी भाका खुबै सुनिन्थ्यो। अहिले ठाडी भाकामा कमी आएको देखिन्छ। बदलिँदो समयसँगै गीतमा फास्ट ट्र्याकको प्रचलन बढेको छ। विस्तारै अर्थ बुझ्ने गरी गाउने गीतको चलन हराउँदैछ।

देउडामा पनि मौलिकपन हराउने पिर बढ्दै छ। तर, देउडा गीतमा खुसीका खबर पनि देखा पर्दैछन्। यो विधामा राम्रा प्रतिभा देखा पर्दैछन्। संगीत पनि सुसंस्कृत भएर देखा पर्दैछ। देउडा गीतसंगीतको विधा विशिष्ट पहिचान बोकेको संस्कृति भएकाले यस विधामा लागि पर्ने सबै स्रष्टाले इमान्दार हुनु जरुरी छ। ठाडी भाका मनमुटुका मौलिक गीत भएकाले यिनलाई बचाइराख्नु जरुरी छ। समग्र सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक परिचय हो, ठाडी भाका।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.