अध्ययन बिनाको विकास नगरौं
नेपाल भूकम्प, बाढीपहिरो, डुबानजस्ता विपद्का हिसाबले उच्च जोखिममा रहेको देश हो। भूकम्पका हिसाबले जोखिम नभएको कुनै भूभाग नै छैन। तराईमा बाढी र डुबानको समस्या छ। पहाड र हिमालमा बाढी, पहिरोजस्ता विपद्को जोखिम उच्च छ। हामी बहुप्रकोपका हिसाबले जोखिममा छौं। कतिपय सिजन अनुसारका विपद् छन्। भूकम्पका हिसाबले हामी सधैं नै जोखिममा छौं।
यी विपद् न्यूनीकरणका लागि सरकारले केही कामहरू गर्नै पर्ने अवस्था छ। पछिल्लो समय मुलुकभर नै सडक सञ्जाल विस्तारलाई सबैले प्राथमिकता दिएका छन्। तर, त्यसका लागि आवश्यक पूर्ण इन्जिनियरिङ छैन। हरेक विकास आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन गर्न जरुरी हुन्छ। तर, त्यसलाई महत्व नदिएको जस्तो अवस्था छ। प्राविधिकको पूर्ण अध्यायनबिनाको जथाभावी हुने विकासले विपद्को थप जोखिम बढाएको छ। यसो नगरौं। पहाड र पानीको व्यवस्थापनबिनाको विकासले ठूलो विनास निम्त्याइरहेको छ।
२०७२ को भूकम्पले मुलुकमा ठूलो क्षति भयो। गत कात्तिक १७ गते जाजरकोट केन्द्र बनाएर गएको भूकम्पले पनि जाजरकोट र रुकुमपश्चिमसहितका धेरै जिल्लामा क्षति पुर्यायो। त्यसबाट हामीले पाठ सिक्नुपर्छ। हाम्रा पुराना संरचनाहरू भूकम्पले धान्ने खालका छैनन्।
त्यसैले पुराना भौतिक संरचनालाई रेक्टोफिटिङ गर्ने र नयाँ बन्ने भौतिक संरचनाहरू भूकम्प प्रतिरोधी र मापदण्डको पूर्ण पालना गरेर मात्र निर्माण गर्नुपर्छ। त्यससँगै भूकम्प आउँदा के सावधानी अपनाउने, बाढी, पहिरोबाट जोगिन के गर्ने ? अन्य विपद्बाट कसरी सुरक्षित हुने भन्ने विषयमा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ। विपद्बाट हुने क्षति कम गर्नका लागि सरकारले पूर्वसूचना प्रणालीको विकास गर्न जरुरी छ।
(डा. देवकोटा भूगर्भ तथा विपद् व्यवस्थापन विज्ञ हुन्।)