एमालेको आरोप : विवादित मन्त्रीहरूको राजीनामा माग्दा प्रधानमन्त्रीले संसद् छले
काठमाडौं : नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जनाएको छ। आइतबार प्रतिनिधिसभा बैठक सुरू हुनेवित्तिकै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका हुन्।
त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद पदम गिरीलाई बोल्ने समय दिए । उनले लामो समयदेखि विवादित मन्त्रीहरूको बर्खास्तको माग गर्दै आएपनि सरकारले प्रतिपक्षको मागका विषयमा वेवास्ता गरेको आरोप लगाए। एमाले प्रमुख सचेतक गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यस विषयमा संसदमा आएर जवाफ दिनुपर्नेमा उल्टै संसद छलेर बाहिर हिँडिरहेको आरोप लगाए।
उनले सरकार प्रतिपक्षको आवाज सु्न्नका निम्ति तयार नभएको जिकिर गरे। 'प्रधानमन्त्रीज्यूले यस्तो महत्वपूर्ण विषयमा संसदमा आएर जवाफ दिनुपर्ने ठाउँमा वेवास्ता गरिरहुन भएको छ,'उनले भने,'उहाँ संसद छलेर बाहिर हिँडिरहनु भएको छ।'
नेता गिरीले ललितपुरको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, गृहमन्त्री नारायणकाजी श्रेष्ठ ,टेरामिक्स काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संस्कति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्नुपर्ने माग गरे।
उनले भगवान गौतमबुद्धको अस्तु भएको रामग्राम क्षेत्र व्यावसायिक प्रयोजनमा भाडामा लगाउने सम्बन्धमा पनि अनियमिता भएको उल्लेख गर्दै मन्त्री किराँतीको राजीनामा माग गरे।
उनको सरकारले तस्करी र भ्रष्टाचारलाई संरक्षण गरेको र शासन सञ्चालनमा द्वैध चरित्र देखाएको आरोप छ ।