नेशनल मेडिकल कलेजको सम्पत्तिमा दाजुभाइबीच विवाद

नेशनल मेडिकल कलेजको सम्पत्तिमा दाजुभाइबीच विवाद
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजको सम्पति भागबण्डाको विषयलाई लिएर दुई दाजुभाइ बीचको विवाद बढेको छ। मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारी र उनका साहिँला भाइ बसरुद्दिन अन्सारीबीच मेडिकल कलेजको जायजेथाको भागबण्डाको विषयलाई लिएर केही महिनादेखि विवाद चलिरहेको छ। 

अध्यक्ष जैनुद्दिनले मेडिकल कलेजको प्रबन्ध निर्देशक(एमडी)बाट बसरुद्दिनलाई पदच्युत गरेर आफ्नै छोरा शाहनवाज अन्सारीलाई एमडीमा नियुक्त गरेपछि दुई दाजुभाइ बीचको विवाद बढेको हो। 

गत शुक्रबार अध्यक्ष जैनुद्दिनले आफना छोरा शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि विवाद झन् बढेको हो। शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय विभिन्न माध्यमबाट सार्वजनिक भएपछि बसरुद्दिनले भने मेडिकल कलेजको एमडी आफू नै यथावत् रहेको र अध्यक्ष पनि बनेको भन्दै सामाजिक सञ्जालमार्फत प्रचारबाजी गरेका छन्। 

त्यसपछि आइतबार अध्यक्ष जैनुद्दिनका छोरा तथा मेडिकल कलेजका नवनियुक्त एमडी शाहनवाजले पत्रकार सम्मेलन गरेर मेकिडल कलेजका बारेमा बसरुद्दिनले फिजाएको हल्ला भ्रामक रहेको दाबी गरे। पत्रकार सम्मेलनमा शाहनवाजले मेडिकल कलेजको सञ्चालक समितिले यही फागुन ४ गतेदेखि लागु हुने गरी आफूलाई एमडीमा नियुक्त गरेको दाबी गरे। 

फागुन ४ गते सम्पन्न मेडिकल कलेजको वार्षिक साधरण सभाले संस्थापक अध्यक्ष जैनुद्दिन अन्सारीकै अध्यक्षतामा तीन सदस्यीय सञ्चालक समिति गठन गरेको उनले बताए। वार्षिक साधारण सभाले सञ्चालक अध्यक्षमा जैनुद्दिन अन्सारी, प्रबन्ध सञ्चालकमा आफूलाई र सञ्चालकमा नुशरत जहान अन्सारीलाई नियुक्त गरेको शहनवाजले जानकारी दिए। नुशरत , अध्यक्ष जैनुद्दिनकै छोरी हुन्। 

पत्रकार सम्मेलनमा शाहनवाजले यसअघिका एमडी बसरुद्दिनको कार्यशैली र गतिविधिमा कैफियत देखिएपछि सञ्चालक समितिले उनलाई एमडी पदबाट हटाएको प्रष्टीकरण पनि दिए। उनले भने,‘कानूनी रुपमा एक जना मात्र सञ्चालक समितिमा रहने व्यवस्था भए पनि कामको बोझले अध्यक्षले बसरुद्दिन अन्सारीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिनु भएको थियो। तर केही समयदेखि उनको कार्य सञ्चालनमा कैफियत देखियो। अध्यक्षले उनलाई पटक पटक सचेत पनि गराएका थिए। तर त्यसका बाबजुद पनि सुधार नआएपछि अध्यक्षले अन्सारीको अधिकार कटौती गर्दै जानु भएको हो। अहिले मेडिकल कलेज प्रालिमा बसरुद्धिनको १० प्रतिशतमात्र शेयर लगानी छ। त्योबाहेक यस मेडिकल कलेजसँग उनको कुनै साइनो छैन ’

मेकिडल कलेजको एमडीबाट हटाएप्छि बसरुद्दिनले अध्यक्ष जैनुद्दिनलाई ज्यान मार्ने धम्कीसमेत दिएको शाहनवाजले आरोप लगाए। धम्की आएपछि अध्यक्ष जैनुद्दिनले जिउज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्तासमेत गराइसकेको पत्रकार सम्मेलनमा शाहनवाजले बताए। उनले भने,‘बसरुद्दिनले ज्यान मार्ने सम्मको धम्की दिदैं आएकोभएपनि स्थानीय प्रशासनले केही सुनुवाइ अहिलेसम्म गरेको छैन।

२०५६ साल भदौ ३२ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आएको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अध्यक्ष सुरुदेखि नै जैनुद्दिन अन्सारी छन्। शाहनवाजका अनुसार, सुरुमा मेकिडल कलेजमा जैनुद्दिनको ९० प्रतिशत र उनका साहिँलो भाइ बसरुद्दिनको १० प्रतिशत शेयर थियो। तर गत साउन २६ गते सम्पन्न साधारणसभाले अध्यक्ष जैनुद्दिनकै छोराछोरीहरूलाई राखेर शेयरधनीहरू थपेको थियो। जसअनुसार अब अध्यक्ष जैनुद्दिनको ४५ प्रतिशत,उनका छोरा शहनवाजको १५ प्रतिशत, छोरीहरू नुशरत जहानको १० प्रतिशत,निकहत यासमिनको १० प्रतिशत,ईशंत जहानको १० प्रतिशत र साहिँलो भाइ बसरुद्दिनको १० प्रतिशत शेयर रहेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।  

तर अध्यक्ष जैनुद्दिनका भाइ बसरुद्दिनले भने मेडिकल कलेजको एमडी अहिले पनि आफू नै भएको दाबी गरे। उक्त पदबाट आफूलाई कसैले पनि नहटाएको दाबीपनि उनको छ। मेडिकल कलेजको दर्ता, स्थापना , अदालतमा मुद्दा लड्ने लगायतका सबै काम आफूले नै गरेर २५ वर्षदेखि मेडिकल कलेज चलाउँदै आएको उनले बताए। 

उनले भने,‘कलेज स्थापनका बेला दाजु जैनुद्दिन आफैले आधा आधा साझेदारी रहने भनेर मौखिक सहमति गर्नु भएको थियो। बुबा सरहको दाजुले भनेको कुरामा मैले भरोसा गरे। तर अहिले आएर उहाँका छोरा छोरी पढे लेखेर आएपछि मलाई नै पाखा लगाउने काम उहाँले गरिरहनु भएको छ। यो सरासर बेइमानी हो। धोखा हो। वीरगन्जको नेशनल मेडिकल कलेजमात्र नभइ काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेज गरी तीनवटा संस्थामा दाजुभाइको हिस्सेदारी रहेको भन्दै बसरुद्दिनले भने,‘यी तीनवटै जायजेथाको अहिलेको चलनचल्तीको भाउ मूल्यांकन गरेर दुई दाजुभाइले बराबर बाँडौ भन्ने मेरो माग हो। तर दाजुमा बेइमानी देखिएको छ।’

उनले दुई दाजुभाइ बीचको विवादलाई आफूले थप चर्काउन नचाहेको पनि बताए। उनले भने,‘गाउँ समाजमा बसेर दुई दाजुभाइको मनमुटाव  सल्टाउँ भनेर मैले दाजुलाई भन्दै आएको छु।’ ज्यान मार्ने धम्की दिएको बारेमा प्रश्न गर्दा बसरुद्दिनले त्यसमा कुनै सत्यता नभएको जिकिर गरे। उनले भने,‘उल्टै मलाई दाजुका आफन्तहरूले मार्ने धम्की दिइरहेका छन्।’  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.