दुई वर्षदेखि पाएनन् बुटवलका छात्राले निःशुल्क सेनेटरी प्याड

दुई वर्षदेखि पाएनन् बुटवलका छात्राले निःशुल्क सेनेटरी प्याड
बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन । तस्बिर : केशरराज क्षेत्री।
सुन्नुहोस्

बुटवल : सरकारले सामुदायिक विद्यालयका सबै छात्रालाई दिने गरेको निःशुल्क सेनेटरी प्याड बुटवलका छात्राहरुले दुई वर्षदेखि पाएका छैनन् । बुटवल उपमहानगरपालिकाको हेलचक्रयाइँका कारण करिव १२ हजार छात्रा उक्त सेवाबाट वञ्चित भएका हुन् । 

अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्ष २०८०/०८१ मा उपमहानगरपालिकाले प्याड खरिद गरेको छैन। संघीय सरकारले ससर्त अनुदान अन्तर्गत प्रत्येक स्थानीय तहलाई सेनेटरी प्याड खरिदका लागि बजेट पठाउने गर्छ । 

प्याड खरिदका लागि अघिल्लो आर्थिक वर्ष आएको ९१ लाख रुपैयाँ बजेट उपमहानगरपालिकाले कामै नगरी फ्रिज गराएको छ । चालु आर्थिक वर्षको सात महिना बितिसक्दासमेत उपमहानगरले खरिद गरेको छैन। 

नयाँ जनप्रतिनिधि आइसकेपछि विद्यालयका छात्राले सेनेटरी प्याड नपाएको नहरपुर माध्यमिक विद्यालय बुटवल–११ का प्रधानाध्यापक धनिश्वर गौतमले गुनासो गरे । ‘विद्यालयमा करिव ५ सय बढी छात्राले प्याड प्रयोग गर्छन्’,गौतमले भने,‘पटकपटक उपमहानगरपालिकामा कुरा पनि उठाएका छौँ । तर, सुनुवाई भएको छैन। प्रक्रिया छ मात्र भन्नुहुन्छ विद्यालयमा प्याड आएको छैन।’ उनले केही सामाजिक संघसंस्था र क्लवहरुले दिएको सेनेटरी प्याडले काम चलाएको जानकारी गराए । 

समग्र बुटवल क्षेत्रको शिक्षा क्षेत्रमा बुटवल उपमहानगरपालिका जवाफदेही नभएको कालिका मानवज्ञान माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले प्रतिक्रिया दिए । शिक्षा क्षेत्रको विकासका लागि काम नगरेको भन्दै उनले उपहानगरपाकिालाई ‘निकम्मा’ को संज्ञा समेत दिए ।
सोही विद्याययका प्रधानाध्यापक दिनेश थापाले सरकारले दिने निःशुल्क प्याड नपाउँदा विद्यालयको आन्तरिक स्रोतबाट खरिद गर्नुपर्ने बाध्यता रहेको जानकारी गराए । 

‘अहिलेसम्म करिव सात लाख बराबरको प्याड खरिद गरिसक्यौँ’,थापाले भने,‘करिव तीन हजार सातसय छात्राहरुले प्याड प्रयोग गर्छन् ।’ दुई वर्षदेखि स्थानीय सरकारले राज्यले दिएको सुविधा आफूहरुले नपाएको उनले गुनासो गरे । 

उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि आइसकेपछि विद्यालयले निःशुल्क सेनेटरी प्याड नपाएको मोतिपुर माध्यमिक विद्यालय बुटवल–१९ का प्रधानाध्यापक लक्ष्मण मरासिनीले प्रतिक्रिया दिए । ‘खरिदका लागि आन्तरिक स्रोत पनि छैन्’, उनले भने,‘यसवर्ष जसोतसो त चल्ला अर्को वर्ष व्यवस्थापन गर्नै गाह्रो होलाजस्तो भइसक्यो ।’ छात्राहरुलाई दिँदै आइरहेको सुविधा एक्कासी बन्द गर्न पनि नहुने भएकाले समस्या भइरहेको उनले प्रतिक्रिया दिए । करिव ५ सय  छात्राहरुले प्याड प्रयोग गर्ने उनले बताए । कान्ती माध्यमिक विद्यालय बुटवलका प्रधानाध्यापक गोविन्द ज्ञवालीले पनि उपमहानगरपालिकाबाट प्याड पाउने आश्वासन मात्र पाएको प्रतिक्रिया दिए । 

चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकामा ९६ लाख रुपैयाँ बजेट प्याड खरिदका लागि संघीय सरकारले पठाएको उपमहानगरका माध्यमिक तह शिक्षा शाखामा अधिकृत (आठौँ) तहमा कार्यरत टिकाराम पन्थीले जानकारी दिए । ‘खरिद प्रक्रियामा छ’,पन्थीले भने,‘केही प्राविधिक कुरामा अन्यौलता भएर रोकिएको हो । दुई लाख प्याकेट सेनेटरी प्याड खरिदका लागि शिक्षा शाखाले खरिद समितिमा फाइल पठाएको छ ।’ 

बुटवल उपमहानगरपालिका क्षेत्रमा ३५ वटा सामुदायिक विद्यालय छन् । बुटवलसँगै जोडिएका अन्य पालिकाहरुले विद्यालयलाई निःशुल्क सेनेटरी प्याड दिइरहेका छन् । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६) जारी गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.