पर्यटकीय सिजन सुरु भएपछि बजार अनुगमन
जोमसोम : पर्यटकीय सिजन सुरु भएसँगै मुस्ताङमा बजार अनुगमन सुरु गरिएको छ। म्याद गुज्रिएका खाद्य पदार्थले जिल्ला भित्रिने पर्यटक तथा स्थानीय नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले जोमसोममा जिल्ला प्रशासन कार्यालयले अनुगमन सुरु गरेको हो।
जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय,घरपझोङ गाउँपालिकाका कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली मुस्ताङको जोमसोम बजार क्षेत्रमा बिहीबारदेखि अनुगमन सुरु गरेको हो। पहिलो चरणमा जोमसोम बजार क्षेत्रमा सञ्चालित दुई दर्जन बढी किराना पसलहरूमा बजार अनुगमन गरिएको छ।
मुस्ताङमा यस वर्षको हिउँदे जाडो सकिए लगत्तै पर्यटकीय गतिविधि समेत विस्तारै बढ्न थालेको छ। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले हिउँदयामपछि मुस्ताङमा नियमित बजार अनुगमनलाई निरन्तरता दिइएको जानकारी दिए ।