ऐतिहासिक ‘विश्व शान्ति मण्डला’खोज्न भौतारिँदै वृद्ध जापानी

ऐतिहासिक ‘विश्व शान्ति मण्डला’खोज्न भौतारिँदै वृद्ध जापानी

काठमाडौं : १६ देशका १० हजारभन्दा बढी स्वयम्सेवकले तीन वर्ष लगाएर बनाएको ‘विश्व शान्ति मण्डला’ विगत ८ वर्षदेखि नेपालमा हराएको छ। विश्वको सबैभन्दा ठूलो मण्डला दाबी गरिएको मण्डला सन् २०१६ मा नेपाल ल्याइएको थियो। त्यसयता यो मण्डला गायब छ। यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र इज्जत र छविमा नै आँच पुर्‍याएको छ।

पछिल्लोपटक सन् २०१६ मा यो मण्डला नेपालमा प्रदर्शन गरिएको थियो। नेपाल–जापान दौत्य सम्बन्धको ६०औं वर्षका अवसरमा २०१६ नोभेम्बर ११ र १२ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, नोभेम्बर १८ र १९ मा पोखरा रंगशाला र नोभेम्बर २५ र २६ मा लुम्बिनी मैदानमा प्रदर्शन गरिएको थियो। नेपालमा मण्डला प्रदर्शनीको नेतृत्व नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीले गरेका थिए। मण्डला निर्माणको सुरुवाती चरणदेखि नै थकाली संलग्न थिए। प्रदर्शनीका लागि उनले मण्डला नेपाल ल्याएपछि फिर्ता गरेनन्। उनले नै लामो समयदेखि मण्डला राख्दै आएका छन्।

अहिले यो मण्डला खोज्न ८४ वर्षीय जापानी नागरिक भौतिरहेका छन्। मण्डला फिर्ता लिन जापानी नागरिक कातागिरी याचुतादा धेरैपटक नेपाल आइसकेका छन्। मण्डला फिर्ताको पहल गरिदिन नेपाल सरकारसँग पटक–पटक अनुरोध गरिरहेका छन्। तर, उनले मण्डला पाउन सकेका छैनन्।

सूर्य थकाली आफूले भन्सार प्रक्रिया पूरा गरेर मण्डला नेपाल ल्याएको र जापानीले आफ्नो कमजोरीको फाइदा उठाउन खोजेको बताए। उनले अदालती र कानुनी प्रक्रियाबाटै मण्डला आफ्नो भएको दाबी पनि गरे। ‘मैले भन्सार तिरेरै मण्डला ल्याएको हो। जापानी दूतावासले समेत त यसबाट हात झिकिसक्यो’, उनले भने, पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालय र दूतावाससँग पनि पटक–पटक बैठक बसिसकेका छौं। कुरा नमिलेपछि अदालत गयौं। अदालतले पनि कातागिरीले अमेरिकामा मुद्दा दायर गर्न सक्ने भनिसकेको छ। अब यहाँ केही हुनेवाला छैन।’ उनले कातागिरीले अमेरिकाको न्युयोर्क अदालतमा मात्रै उजुरी र मुद्दा दर्ता गर्न सक्ने बताए।

null 

मण्डला फर्काउन गरिएको पहल

वृद्ध जापानी कातागिरीले पटक–पटक मण्डला फर्काउन पहल गरिरहेका छन्। उनले जापानस्थित नेपाली राजदूतावासदेखि नेपालका विभिन्न मन्त्री, उच्च पदस्थ प्रहरी अधिकारी, स्थानीय प्रशासनसँग आग्रह गरिसकेका छन्। सूर्य थकालीसँग भेट्ने पटक–पटक प्रयास गर्दा पनि पछिल्लो समय सम्पर्कमै नआएको उनको आरोप छ। कातागिरीले मण्डला जापान फर्काइ पाऊँ भन्दै सन् २०१७ सेप्टेम्बर ११ मा जापानस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। त्यतिबेला प्रतिभा राणा राजदूत थिइन्। उनको निवेदनका आधारमा २०७६ माघ २६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थकालीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न पत्राचार गरेको थियो। तर, थकालीले मन्त्रालयको निर्देशनलाई बेवस्था गरेका थिए।

कातागिरी र थकालीबीच ४ पटक भेटवार्ता भएको थियो। वार्तामा विभिन्न बाहना बनाएर थकालीले मण्डला फिर्ता गर्न मानेनन्। उनले विभिन्न बाहना बनाएर पन्छिने गरेको कातागिरीको आरोप छ।

२०७६ मंसिर ३० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सहजीकरणको भूमिका निर्वाह गरिदिन भन्दै कातागिरीका तर्फबाट निवेदन हालियो। जिल्ला प्रशासनमा उजुरी परिसकेपछि पक्राउ पर्न सक्ने खतरा देखेपछि थकालीले २०७६ पुस ६ मा अन्तरिम आदेशका लागि उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

पटक–पटकको बहसपछि उच्च अदालतले थकाली र जापानीय नागरिकलाई पर्यटन मन्त्रालयमा हाजिर हुन र छलफलको निष्कर्षसहित जवाफ माग गरेको थियो। यसका लागि जापानी दूतावासलाईसमेत सहयोगी भूमिका निर्वाह गर्न अदालतले आदेश दिएको थियो। तर, मण्डला फिर्ता गर्नुपर्ने भनेर अदालतबाट कुनै निर्णय भएन।

मण्डलाको ऐतिहासिक पृष्ठभूमि

nullसन् १९९४ मा जापानी नागरिक किता मुराको सोचमा मण्डला निर्माण भएको हो। सूर्यबहादुर थकाली कितामुराको घरमा भाडामा बस्न पुगेका बेला मण्डला बनाउने योजना बनेको थियो। घर जत्रै मण्डला बनाउने उनीहरूले अवधारण बनाएका थिए। त्योबेला थान्का बेच्न थकाली जापान पुगेका थिए। कितामुराका साथी कातागिरी याचुतादासँग पनि थकाली जोडिए। कातागिरी थाकालीसँग नेपाल आए। दुवैले मण्डला बनाउन करिब ५ वर्षसम्म गृहकार्य गरे। त्यो बेला जापानमा धर्मसम्बन्धी आंतक नै फैलिएको थियो। त्यो आंतकका कारण पनि उनीहरूको योजना सफल हुन सकेन। त्यसपछि यो योजना स्थगित नै भयो। यो असफलतापछि कातागिरी जापान फर्किए। तर, विश्वकै ठूलो मण्डला बनाउने भोक भने उनको मरेन।

कातागिरीले विश्वकै ठूलो मण्डला बनाउन प्राध्यापक र प्राविधिकसहित एउटा संस्था नै स्थापना गरे। उनले आफूलाई अध्यक्ष बनाएर नन प्रोफिट अर्गनाइजेसन (एनपीओ) एम २१ नेटवर्क टोकियो (मण्डला २१ सेन्चुरी) स्थापना गरे। यो समूहले मण्डला बनाउन सर्वे थाल्यो। सन् १९९९ मा लामो गृहकार्यपछि विश्वकै ठूलो मण्डला बनाउने अभियान सुरु भयो। १ हजार वर्षसम्म नबिग्रिने मण्डला बनाउन १६ देशका १० हजारभन्दा बढी मानिस परिचालित भए। लगातार तीन वर्षसम्म १० हजारभन्दा बढी जनसहभागितामा विश्वकै सबैभन्दा ठूलो मण्डला तयार भयो। करिब २ हजार किलोग्रामको मण्डला तयार भयो। ८१ वटा टुक्रा जोडेर यो मण्डला बनाइएको थियो। ८१ वटा टुक्रा बनाउन ८१ जना नै संयोजक तोकिएको थियो। एउटा टुक्रा बनाउन १६ जनाभन्दा बढी मानिस खटेका थिए। ८१ वटा टुक्रा जोडेर एउटै बनाउन पनि ठूलै परिश्रम लाग्यो। निर्माणमा १६ देशका मानिसको सहभागिता थियो। त्यसमध्ये ७५ प्रतिशत जापानमै निर्माण भएको थियो। बाँकी २५ प्रतिशत अन्य १५ मुलुकमा तयार गरिएको थियो। नेपालमा पनि दुई प्रतिशत अर्थात् ८१ मध्ये २ वटा टुक्राको निर्माण भएको थियो।

विश्वशान्ति मण्डला बनाउनुको मुख्य दुई उद्देश्य राखेको देखिन्छ। विश्वमा युद्धको अन्त्य भई शान्ति छाओस् र मण्डलाको निर्माणपछि विश्वव्यापी प्रदर्शन गरी त्यसबाट संकलन भएको रकम एसियाली मुलुकका बालबालिकालाई शैक्षिक सहयोग गर्न सकियोस्।

विवादको सुरुवात

सन् २०१२ मा नेपालमा सूर्यबहादुर थकालीकै नेतृत्वमा मण्डलाको भव्य प्रदर्शन भयो। यो प्रदर्शनको भव्यता र विश्वासलाई देखेर नै जापानी नागरिक कातागिरीले सन् २०१६ मा पनि थकालीको आग्रहलाई स्वीकार गरेर मण्डला नेपाल पठाए। काठमाडौं, पोखरा र लुम्बनीमा भव्य प्रदर्शन भयो। तर, त्यसपछि भने थकालीले यो मण्डला फर्काएनन्। कातागिरी भन्छन्, ‘थकालीसँग सन् १९९४ मैै जापानमा भेट भएको थियो। हाम्रो संस्थाको उद्देश्यअनुरूप काम गर्छु भनेर विश्वास पारे। पुरानो सम्बन्ध भएकाले मण्डलाको हेरचाह गर्नुहुनेछ र यस प्रदर्शनले नेपाल र जापानको सम्बन्धमा पनि सुमधुरता स्थापित हुनेछ भनेर गर्न मण्डला दिएको थिएँ।’

यो मण्डला सन् २०२० को टोकियो ओलम्पिकमा पनि प्रदर्शन गर्न खोजिएको थियो। तर, थकालीले मण्डला फिर्ता नगरेका कारण प्रदर्शन गर्न नपाएको कातागिरीले गुनासो गरे। श्रीलंका, म्यानमारलगायतका देशबाट समेत प्रदर्शनको माग भए पनि प्रदर्शनी गर्न नपाएको कातागिरीले बताए।

अमेरिकामा गरेको ‘किर्ते सम्झौता’

नेपालमा माओवादी सशस्त्र आन्दोलन चलिरहेको थियो। नेपालमा बस्न नसकिएको भन्दै थकाली अमेरिका पुगे। त्यो बेला कातागिरी पनि अमेरिकामा थिए। त्यो बेला थकालीले अमेरिकामा ‘किर्ते सम्झौता’ गरेको कातागिरीको दाबी छ। सन् २०१० डिसेम्बर २१ मा मण्डला २१ सेन्च्युरीका अध्यक्ष कातागिरी र थकालीबीच अमेरिकाको ११३७३ स्थित कामावे लज एन्ड ट्राभलमा बौद्ध धर्म प्रवद्र्धन गर्नका लागि विशाल मण्डला बनाउने र संसारभर प्रदर्शन गर्ने सम्झौता भएको थकालीले दाबी गर्दै आएका छन्। सो सम्झौताको दफा ७ मा कुनै विवाद भएमा समाधान अमेरिकाको न्युयोर्क राज्यको कानुनबमोजिम गरिनेछ भन्ने लेखिएको छ। मण्डला आफ्नो पनि हो भन्ने दाबी थकालीको छ। थकालीले अदालतमा समेत अमेरिकामा गरिएको सम्झौताको आधारमा संयुक्त सम्पत्ति दाबी गरेका थिए। थकालीले मण्डला बनाउने अवधारणा पनि आफ्नो भएको दाबी गरेका छन्।

कातागिरी भने आफूलाई यो सम्झौताको विषयमा जानकारी नभएको दाबी गर्छन्। हस्ताक्षर पनि आफ्नो नभएको उनको दाबी छ। ‘यो नक्कली सम्झौता हो। मेरो हस्ताक्षर पनि होइन। उसले मलाई झुक्याएको हो’, उनले भने, ‘मण्डला बनाउने अवधारण उसको होइन। मेरो साथी किरामुराको हो।’

कानुनतः फर्काउनु पर्ने बाध्यता

थकालीले जतिसुकै दाबी गरे पनि कानुनतः उनले मण्डला फकाउनै पर्ने देखिएको छ। तत्कालीन भन्सार विभागका महानिर्देशकले प्रदर्शनीका लागि ल्याएको मण्डला फिर्ता हुने गरी लगत राख्न परिपत्र गरेको कागज नै छ। थकालीले नै भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गरेर भन्सार र अन्तःशुल्क छुट गरिदिन आग्रह गर्दै लेखेको पत्रमा ‘उ.म.नि.श्री कृष्णजी फिर्ता हुने गरी अभिलेख (लगत) राखी’ भनी उल्लेख छ। नेपाल बौद्ध धर्म संरक्षण समिति तथा एनपीओ एम २१ नेटवर्क टोकियो जापानको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा विश्वकै सबैभन्दा ठूलो थान्का (मण्डला) निःशुल्क रूपमा प्रदर्शनी हुन लागेको भन्दै भन्सार र अन्तःशुल्क छुट मागिएको थियो। तर, थकाली भने आफूले सबै प्रक्रिया पूरा गरी भन्सार पनि तिरेर ल्याएको फिर्ता गर्नु नगर्ने दाबी गर्छन्।

अहिले कहाँ छ मण्डला ?

जापानबाट पछिल्लो पटक खोज्दै आएका कातागिरी मण्डला सूर्य थकालीले गायब गरेको बताउँछन्। यो मण्डला संवेदनशील वस्तु भएकाले थन्क्याएर राख्दा पनि गुणस्तरमा क्षति हुने उनको दाबी छ। ‘यो विशेष तापक्रममा राख्नुपर्छ। यति ठूलो वस्तु जथाभावी राखेमा बिग्रिन्छ’, उनले भने। उनले ऐतिहासिक विश्वशान्ति मण्डलालाई सधैंका लागि सुरक्षित राख्न यथासक्य छिटो जापान फर्काउन आवश्यक पहल गरिदिन पनि आग्रह गरे।

सन् २०१७ मा भएको चार पटकको वार्तामा जथाभावी फालेर राखेको एक भट्टचन थरका व्यक्तिले आफूलाई बताएको कातागिरीले दाबी गरे। आधाआधा हो भनेर पनि थकालीले प्रस्ताव गरेको थिए। ‘थकालीको घरमा वार्ता भएका बेला मैले हेर्छु भनेँ। तर, मलाई हेर्नै दिइएन। भट्टचनलाई मात्रै देखायो। उनले देखाएको फोटो हेर्दा नै विरुप भइसकेको थियो। अहिले के भयो होला’, उनले चिन्ता प्रकट गर्दै भने। मण्डला कहाँ छ भनेर सोध्दा मेरो चिज हो जहाँ भए पनि राखेको छु भन्ने थकालीले उत्तर दिए। उनले यो मण्डला अब नेपालकै सम्पत्ति भएको समेत बताए। थकालीले कातागिरीले लामो समयसम्म मनपरी रूपमा मण्डलाको प्रयोग गरेको आरोप पनि लगाए।

कातागिरीका कानुन व्यवसायी सुदर्शन प्रधान पनि मण्डला फिर्ता लिन कातागिरी धेरै पटक नेपाल आएको बताउँछन्। ‘यति बुढो मान्छे यसैका लागि धेरैपटक आइराख्नु भएको छ। धेरै खर्च पनि गरिसक्नु भएको छ’, उनले भने, ‘मण्डला फिर्ता नगर्ने हो भने नेपालको प्रतिष्ठा र इज्जतमा पनि आँच आउन सक्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.