तस्करी गरेर ल्याइएको ५ हजार किलो प्याज वीरगन्जमा बरामद
वीरगन्ज : भारतबाट तस्करी गरेर ल्याई वीरगन्जमा भण्डारण गरी राखिएको ठूलो परिमाणमा प्याज प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मिनाबजारमा अनधिकृत रुपमा भण्डारण गरेर राखिएको अवस्थामा ५ हजार २२० किलोग्राम प्याज बरामद गरेको हो।
विशेष सूचनाको आधारमा खानतलासी गर्न पुगेको प्रहरीलाई देख्ने बित्तिकै प्याज भण्डारण गर्ने व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए।
उनकाअनुसार १३३ बोरामा रहेको ५ हजार २२० केजी प्याज बेवारिसे अवस्थामा बरामद गरिएको हो। बरामद प्याज आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको थापाले जानकारी दिए।
नेपाल सरकारले गत साउन १ गतेदेखि आलु र प्याजमा भ्याट लगाएपछि भारतबाट तस्करी गरेर प्याजको आयात हुने क्रम बढेको छ।