संस्कृत विश्वविद्यालयको १,३३६ बिघा कब्जा
दाङ : नेपाल संस्कृत विश्वविद्यालयले २२ वर्षदेखि आफ्नो स्वामित्वमा भएको १ हजार ३ सय ३६ बिघा जग्गाको भोगचलन र आयस्था पाउन सकेको छैन। तर, राजस्व भने तिरिरहेको छ। ‘२०५८ सालदेखि अहिलेसम्म विश्वविद्यालयले आफ्नो जग्गा उपभोग गर्न सकेको छैन’, कुल सचिव प्राध्यापक माधव अधिकारीले भने, ‘स्वामित्व हाम्रो छ, उपयोग कसको छ ? छैन, आयस्था अहिलेसम्म एक रुपैयाँ विश्वविद्यालयको नाममा आएको छैन।’
२२ वर्षदेखि विश्वविद्यालयको जग्गा कब्जामै राखिएको छ। विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा अमुक पार्टीका कार्यकर्ताले राजनीतिक आडमा कब्जामा लिएका विश्वविद्यालयले जनाएको छ। तत्कालीन माओवादीले थालेको सशस्त्र युद्धको समयमा २०५८ सालमा विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेका गोवहडिया, राजपुर, सतवरिया, बेला, गंगापरस्पुर गाविसका विभिन्न स्थानमा रहेको १३ सय ३६ बिघा जग्गा विश्वविद्यालयबाट खोसिएको छ।
‘त्यसरी कब्जा भएको जग्गा अहिलेसम्म पनि विश्वविद्यालयले आफ्नो सम्पत्ति भनेर उपभोग गर्न पाएको छैन। कुल सचिव अधिकारीले भने, ‘कब्जा गर्नुपूर्व विश्वविद्यालयले जग्गाबाट आम्दानी लिइरहेको थियो।’ विश्वविद्यालय प्रशासनले स्वामित्वको १३ सय ३६ बिघा जग्गा राजनीतिक आडमा कब्जामा रहेको जनाएको छ।
‘विश्वविद्यालयले तिरोमात्रै तिरेको छ, उपभोग गर्न, आफ्नो जग्गाको भोगचलन गर्न पनि पाएको छैन’, उनले भने, ‘विश्वविद्यालयले राज्यलाई कब्जा भएको जग्गाको वार्षिक २ लाख राजस्व (तिरो) तिर्दै आएको छ।’
कुल सचिव माधव अधिकारीका अनुसार विश्वविद्यालयको नाममा १६ सय ६२ बिघा जग्गा रहेको छ। जसमा ३ सय २६ बिघा जग्गामात्रै विश्वविद्यालयले भोगचलन तथा उपभोग गरेको छ। त्यो पनि विश्वविद्यालयका पूर्वाधार, भौतिक संरचना भएका स्थानको मात्रै हो। अन्य १३ सय ३६ बिघा जमिन विश्वविद्यालयले आफूले प्रयोग गर्न पाएको छैन। त्यो सबै अरूकै कब्जामा रहेको छ।
दाङको देउखुरी क्षेत्रमा रहेको विश्वविद्यालयको जग्गा स्थानीय, भूमिहीन, राजनीतिक कार्यकर्ता, सरकारी निकाय र राजनीतिक नेता तथा कार्यकर्ताहरूले कब्जा गरेर भोग चलन गर्दै आएका छन्। कुल सचिव अधिकारीले भने, ‘हामीले प्रयोग गर्न नसकेको जग्गामा ४ सय ५ बिघा मोही रहेछ, अरू सबै एकथरीले कब्जा गरेका छन्।’ यसरी विश्वविद्यालयको सम्पत्ति कब्जा गरेर राजनीतिक रजाइँ बढेको उनको भनाइ छ। कोइरालाले भने, ‘अब कब्जा गर्नेहरूलाई विश्वविद्यालयले लखेटेर भए पनि आफ्नो जग्गा संरक्षण गर्छ।’
उनले विश्वविद्यालयको नाममा रहेको देउखुरी क्षेत्रको जग्गामा बढी समस्या रहेको बताए। यो जग्गा संस्कृत शिक्षा र संस्कृतिको संरक्षणका लागि दाङका मजगैया परिवारले दान दिएका हुन्। विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा उपयोग र व्यवस्थापनका लागि विश्वविद्यालयले प्रयास गरेको छ। तर, व्यवस्थापन गर्न सकेको छैन।
राजनैतिक आडमा विश्वविद्यालयको जग्गा कब्जा भएकाले त्यसको समाधानको लागि जिल्लाका सबै राजनीतिक दल, जग्गा दाता, समाजसेवी, स्थानीय सरोकारवालाहरूको सहभागिताबाट दुई वटा समिति निर्माण गरी जग्गा खोजीको कार्यलाई अघि बढाइएको थियो। केही दिनअघि विश्वविद्यालय पदाधिकारी र सरोकारवालाहरूले प्रधानमन्त्रीलाई समेत समाधानका लागि प्रयास गरिदिन आग्रह गरिसकेका छन्।