वन कार्यालयले झुपडी भत्काउँदा दलित परिवारको बिचल्ली
रौतहट : चन्द्रपुर-७ नयाबस्तीका दलितका झुपडी वन कार्यालयले भत्काएको छ। वर्षौदेखि बस्दै आएका दलितको झुपडी भत्काइदिएपछि उनीहरूको बिचल्ली भएको हो।
स्थानीय धर्मेन्द्र मली डोम, जुगेशर हजारी ,अशोक पासवान, विवेक पासवानको झुपडी भत्काइदिएको छ। बिना सूचना वनका कर्मचारी आएर झुपडी भत्काएको उनीहरूले बताए।
झुपडी भत्किएपछि बिचल्ली भएको र जाडोमा कहाँ जाने कसरी बस्ने भन्ने चिन्ताले सताएको विवेक पासवानले दुःख पोखेका छन्। जाडोमा घर भत्काइदिएपछि ४ परिवार संकटमा परेको र खुला आकाशमा बस्न बाध्य भएको राष्ट्रिय मुसहर उत्थान संघ रौतहटका अध्यक्ष बिनोद माझी मुसहरले बताए।
वन क्षेत्र अतिक्रमण गरी झुपडी बनाएको र पटक पटक हटाउन सूचना दिँदा पनि खाली नगरेपछि शनिबार कर्मचारीले हटाएको चन्द्रनिगाहपुर सेक्टर वन कार्यालयका सहायक वन अधिकृत राम केवल राय यादवले जानकारी दिए।