सडक बिस्तारमा अकर्मण्यता

सडक बिस्तारमा अकर्मण्यता
सुन्नुहोस्

व्यवस्थित सहरको पहिलो सर्त हो, व्यवस्थित र फराकिलो सडक । तर, सरकारी निकायबीच प्रभावकारी समन्वय हुन नसक्दा देशका मुख्य सहरहरूको सडक बिस्तारमा ढिलाइ भइरहेको छ । यसले सवारीको चाप मात्र बढाएको छैन, अव्यवस्थित बजारका कारण समग्र सहरलाई नै कुरूप र अस्तव्यस्त बनाएको छ । देशकै पुरानो र प्रमुख आर्थिक केन्द्र वीरगन्जको मुख्य सडक बिस्तार एक दसकदेखि अवरुद्ध छ । वीरगन्जकै पीडा बागमती प्रदेशको राजधानी हेटौंडाले पनि व्यहोरिरहेको छ ।

सरकारको एक निकाय सडक बिस्तारका लागि अघि बढ्छ, अर्को निकायले तत्काल काम अघि नबढाउने आदेश दिन्छ । सीमित घरधनीको स्वार्थमा सरकारका निकायहरूले निर्णय लिन नसक्दा सडक बिस्तारको पीडा भोगिरहेका ठूला सहरहरू विकासको गतिमा दशकपछि धकेलिएको छ । २०३१ सालमा आएको सडक ऐेनमा राजमार्गको चौडाइ सडकको मध्यभागबाट दायाँबायाँ दुवैतर्फ २५÷२५ मिटर र सहायक राजमार्गको चौडाइ १५÷१५ मिटर रहने उल्लेख छ । सोही ऐन अनुसार त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्गका सडक दायाँ–बायाँ २५÷२५ मिटर सडकको मुआब्जा वितरण भइसकेको सडक विभागको दाबी छ । तर उक्त दाबीलाई अस्वीकार गर्दै वीरगन्जको त्रिभुवन राजपथमा पर्ने घरधनीहरू र पूर्व–पश्चिम राजमार्गमा पर्ने हेटौंडा बजारका घरधनीहरू न्यायको ढोका घच्घच्याइरहेका छन् ।

२०६९ सालमा नेपाल सरकारको निर्णयअनुसार सडक विभागले वीरगन्जको मुख्य सडक विस्तार गर्ने तयारी थाले ेपनि यस बीचमा करिब एक हजार दुई सय घरधनीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । उक्त मुद्दाको पेसी २३ पटक सरिसकेको छ । न्यायलयले घरधनीहरू र सरकारको दाबीबारे प्राप्त प्रमाणहरू अध्ययन गरी छिटो निर्णय दिन सके सडक बिस्तारले गति लिने थियो । तर, देशका ठूला विकास योजनाहरूमा सरकारले काम अघि बढाउँदा अदालतमा बिभिन्न सरोकार पक्षबाट मुद्दा पर्दै आएको छ । यस्ता विकासका कामबारे परेको मुद्दाको द्रुत गतिमा निर्णय दिन न्यायालयले छुट्टै कार्यतालिका बनाएर काम गर्नुपर्ने देखिन्छ । अन्यथा दशकौंसम्म एउटै विषयमा बहस भइरहने र निर्णय नहुँदा विकासको गति कमजोर हुने देखिन्छ । सडक बिस्तारको सन्दर्भमा घरधनीहरूले मुआब्जा पाउनुपर्ने हो भने यसबारे छिनोफानो गरी मुआब्जा दिएर काम अघि बढाउनुपर्छ । अन्यथा विकासको काममा हुने ढिलाइले समग्रमा देशलाई नै ठूलो क्षति पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.