ओलीको उद्घोष : नयाँ ढंगले जाँदैछौं, ‘मिसन ८४’ छोड्दैनौं, एमालेलाई निर्णायक शक्ति बनाउँछौं
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको दाबी गरेका छन्। सोमबार एमाले निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूहरु नयाँ ढंगले जान खोजिरहेको बताएका हुन्।
नयाँ सत्ता समिकरण बनेको संकेत गर्दै उनले भने,‘हामी नयाँ ढंगले जान खोजिरहेका छौं। हेरौं अब, आजको राजनीति छिटो छिटो परिवर्तन हुन खोजिरहेको राजनीति, कतिको प्रभावकारी ढंगले अगाडि बढ्छ। जे होस्, आशिंकरुपमा भएपनि, जस्तो अवस्था देशको भताभुङ्ग बिग्रिएको छ त्यस अवस्थाबाट सकारात्मक बाटो तर्फ फर्किन्छ भन्ने विश्वास लिएको छु। आज केही ठूलै परिवर्तन हुन्छ भन्ने मैले विश्वास हुन्छ।’
ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ अगाडि बढ्ने उद्घोष गरे। निर्णायक शक्ति एमाले भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने ओलीको दाबी छ।
ओलीले भने, ‘देशमा परिवर्तन आवश्यकता छ। जे सुकै परिवर्तन भएपनि हामी ‘मिसन ८४’छोड्दैनौं । राष्ट्रिय शक्तिलाई, नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो उद्देश्यको जुन हो। मिसन चौरासी भनेको चुनावमा बहुमत ल्याउने मात्र होइन, त्यो भन्दा माथिको कुरा हो। राष्ट्रिय शक्तिलाई निर्णायक शक्ति बनाउने हो। त्यसको मापन मात्र निर्वाचनले गर्छ।’
देशमा परिवर्तन आवश्यक रहेको उनको भनाई छ। उनले पुँजीवाद र समाजवादको लडाईं चलिरहेकाले समाजवादले र श्रमिकको जीत हुनुपर्ने धारणा राखे। उनले अहिले युवा उद्यमशीलता नभई रोजगारी खोज्दै हिँडिरहेको बताए। उनले युवालाई उद्यमशीलतातर्फ लैजानु आवश्यकता रहेको बताए।