राजश्व ठगी गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न निर्देशन
कपिलवस्तु : नदीजन्य वस्तु निकासीमा राजश्व छली गरेको भन्दै कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताले ठेकेदार कम्पनीलाई कडा कारबाहीका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएकी छन्।
वाणगंगा नदी अन्तर्गतको कपिलवस्तु नगरपालिकाको जर्लैया नाकाबाट नदीजन्य वस्तु निकासी गर्दा ठेकेदार पक्षले राजश्व ठगी गर्ने नक्कली ठेली प्रयोग गरेको भेटिएपछि उपमेयर गुप्ताले ठेकेदार कम्पनीलाई कारबाही गर्न निर्देशन दिएकी हुन्।
उपमेयर गुप्ताको नेतृत्वमा कपिलवस्तु नगरपालिकाका इन्जिनियर मुक्तिराम कुँवर, राजश्व फाँटका कर्मचारी योगेन्द्र नाथ शुक्लसहितको नगरपालिकाको टोली फागुन २३ गते नदीजन्य वस्तु निकासी अनुगमनका लागि जर्लैया नाका पुगेको थियो।
उपमेयरको टोलीले विभिन्न नम्बरका राजश्व छली गरिएका १७ वटा नक्कली रसिद भेटिएका छन्। सो प्रकरणमा कारवाही गर्न प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याललाई नक्कली रसिद सहित अनगुमन प्रतिवेदन पेश गरिएको उपमेयर गुप्ताले बताइन्।
जर्लैया नाकाबाट नदीजन्य वस्तु निकासीका लागि कपिलवस्तुको वाणगंगा नगरपालिका-७ मोतीपुरको रवि निर्माण सेवाले २ करोड ४९ लाख ३३ हजार ३ सय ३३ रुपैयाँमा २०८० फागुन १६ गते कपिलवस्तु नगरपालिकासँग ठेक्का सम्झौता गरेकथियो छ। ठेक्का सम्झौता गरे लगत्तै एक साता पनि बित्न नपाउँदै ठेकेदार पक्षले राजश्व छलीका नक्कली विलहरू प्रयोग गर्न सुरु गरेका छन्।
ठेक्का सम्झौता अनुसार ठेकदार पक्षले कुल ३१ लाख १ हजार १ सय १२ घन फुट नदीजन्य वस्तु निकाल्ने अनुमति रहेको छ। तर यस प्रकारका नक्कली विल बनाएर ठेकदार पक्षले लाखौ रुपैयाँको राजश्व ठगी हुने गरी ठेक्का सम्झौता भन्दा धेरै बढी नदीजन्य वस्तु निकासी गर्ने गरिरहेको छ।