सेना सौर्य

समाज/सेवा

सेना सौर्य

अस्तित्वमा आएदेखि नै आफ्नो देशमा हिमाल, पहाड, तराईका हरेक कुनामा अनि परदेशमा शान्ति सेनामा हाम्रो नेपाली सेनाको उपस्थिति दशकौंदेखि छ।

महाशिवरात्रि समग्र हिन्दुुजनका लागि विशेष दिन। नेपालीजनका लागि थप विशेष हुन्छ। अर्थात् यो दिन सेना दिवस पनि हो। सरसर्ती हेर्दा लाग्नसक्छ, सेना सरकारअन्तर्गतको एउटा निकाय त हो नि भनेर तर त्यतिले मात्र नेपाली सेनाको ओजलाई न्याय गर्दैन किनकि नेपाली आमाका बलवान्, बुद्धिमान् छोराछोरी सम्मिलित यो निकायको अस्तित्व नेपाल एकीकरण अभियानभन्दा पनि अघिदेखि कायम छ जुन आजपर्यन्त छ। फर्कौं विगतमा, जहाँ पृथ्वीनारायण शाह गोरखाका राजा हुन्छन्। वास्तवमा उनै थिए, एकीकृत नेपालका प्रथम राजा पनि। उनैले नेपाल एकीकरण गरे।

१६१६ सालमा राजा द्रव्य शाहद्वारा गठित साधारण सेनालाई नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहले १७९६ सम्म निकै सुदृढ तुल्याए। नेपाल एकीकरण अभियान थालनीसँगै गोर्खाली सेनाले १८१९ सालमा मकवानपुरमा मीर कासिमलाई हराउँछ, त्यसपछि नेपाली सेनाको स्थायी कम्पनीहरू निर्माण हुन्छ। ती कम्पनीहरू नै आधुनिक नेपाली सेनाका आधारशिला बन्छन््। समय क्रममा १८२३ देखि उपत्यका छिर्न प्रयासरत क्याप्टेन किनलकको सेनालाई पनि तीन वर्षसम्म पटकपटकको युद्धमा नेपाली सेनाले हरिहरपुर गढीमा हराउँछ।

यसैबीच १८२५ असोज १३ मा पृथ्वीनारायण शाह र उनको सेनाले काठमाडौं उपत्यका पनि निर्माणाधीन नेपालमा मिलाउँछन्। गोरखाका राजा पृथ्वीनारायण शाह अब नेपालका राजा हुन्छन् भने ‘गोर्खाली सेना’ ‘नेपाली सेना’ हुन्छ, नेपाल राष्ट्रको रक्षक। नेपाल एकीकरणका लागि अनेकौं युद्ध एवं उपत्यका विलय अनुभवको हौसलाले ओतप्रोत नेपाली सेनाको नेतृत्वमा १८३१ सालमा पृथ्वीनारायण शाहको निधनपछि शिवरामसिंह थापा, कालु पाण्डे, वंशीराज पाण्डे, अभिमानसिंह बस्न्यात, दामोदर पाण्डे, रणबहादुर शाह, भीमसेन थापा, रणजंग पाण्डे, पुष्कर शाह र माथवरसिंह थापासम्म अनेकौं हस्तीहरू आउँछन्। यी महारथीहरूको नेतृत्वमा पनि नेपाली सेनाले अनेकौं युद्ध गर्छ। परिणामत १८३२ सालमा नेपालको सीमा पूर्वमा सिक्किम र भुटान तथा पश्चिममा सतलजसम्म पुग्छ।

नेपाल एकीकरण अभियान झन्डै ५० वर्षसम्म चल्छ। अर्थात् एउटा यस्तो सेना जो निरन्तर ५० वर्षदेखि युद्धमा छ। युद्धको त्यही अनुभव नेपाली सेनाले उत्तरी सिमानामा आरम्भ हुँदै गरेको नेपाल–तिब्बत युद्धमा सदुपयोग गर्छ। जुन १८४५ र ४८ मा गरी दुईपटक हुन्छ। एकातिर नेपाल एकीकरण अभियान जारी थियो भने अर्कोतिर बाह्य शत्रुहरूसँग छोटोछोटो अन्तरालमा आइपर्ने युद्धहरू पनि चल्दै थिए। १८६६ सालमा काँगडासँग भएको सम्झौताअनुसार सतलज खोलाबारी नेपाल रहने निर्णयसँगै नेपाल एकीकरणको अन्तिम युद्ध टुंगोमा पुग्छ। एकीकरणको यात्रा रोकिए पनि नेपाली सेनाका लागि युद्धका अनेकौं प्रकरण एकपछि अर्काे आउँदै थियो। किनकि अंग्रेजको आँखा उपत्यकामा परिसकेको थियो।

१८७० सालदेखि ७२ का बीच जितगढ, मकवानपुरगढी, हरिहरपुरगढी, नालापानी, जैथक, मलाउ र पुनः जैथकलगायत विभिन्न स्थलमा नेपालभूमि रक्षार्थ नेपाल अंग्रेज युद्धका अनेकौं प्रकरण चलिरहन्छन्। यही युद्धमा नेपाली इतिहासका एकजना बिर्सन नहुने पात्र हुन सरदार भक्ति थापा जसले नेपाल–अंग्रेज युद्धमा देउथल लडाइँको नेतृत्व गर्दै वीरगति प्राप्त गरेका थिए। ७३ वर्षको उमेरमा तालिम प्राप्त बेलायती सैनिकमाथि जाइलाग्ने यी सरदारको साहसको कदर गर्दै मृत्युपश्चात यिनको शवमा बेलायती फौजले दोसल्ला ओडाएर सम्मान गर्दै यिनको शव नेपाली पक्षलाई बुझाएका थिए। स्मरण रहोस्, सरदार भक्ति थापा नेपालका राष्ट्रिय विभूति हुन्।

५०औं वर्षदेखि देश एकीकरण, सीमा विस्तार तथा सीमारक्षाका लागि युद्धरत नेपालको सेनामा त्यो बेला सैनिकहरूको संख्या कति थियो होला ? भन्न सकिन्छ अहिलेको जस्तो लाखमात्र हैन, नेपाली आमाका हजारौंहजार हुँदै लाखौं वीर छोराछोरीका प्रत्यक्ष वा परोक्ष योगदान नेपाली सेनामा रहँदै आयो र यो देश बन्यो। १९०३ साल प्रधानमन्त्रीको कुर्सीमा जंगबहादुर राणा विराजमान भएसँगै देश र सेनाको नेतृत्व वर्षौंका लागि राणाहरूको हातमा जान्छ। जंगबहादुरकै पालामा १९११ सालमा तेस्रोपटक नेपाल–तिब्बत युद्ध हुन्छ।

एउटा यस्तो सेना जो आफ्नो देशमा मात्र हैन, विदेशका विभिन्न मुलुकमा पनि कार्यरत छ। अर्थात् ऊ माथि संयुक्त राष्ट्रसंघलगायत ती देशहरूको विश्वास छ। किन छ ? ऊ साहसी छ, कर्तव्यपरायण छ, अनुशासित छ, तोकिएको काममा दत्ताचित्त छ।

१९०७ सालमा बेलायत भ्रमण गरिसकेका जंगबहादुरको बेलायतीहरूसँग राम्रो सम्बन्ध हुनु स्वाभाविकै भयो। त्यसैले आफ्नो देश बनाउन र बचाउन युद्ध अनुभव सँगालेको नेपाली सेनासँग १९१३ सालमा आफूविरुद्ध सेनाले गरेको विद्रोह दबाउन छिमेकबाट अंग्रेज सरकारले सहयोग माग्छ। नेपाली सेनाले सहयोग गर्छ। विद्रोह दब्छ। यसबाट नेपाल–अंग्रेज सम्बन्ध थप प्रगाढ हुन्छ, यसको प्रत्यक्ष लाभस्वरूप १८७२ सालको सुगौली सन्धिमा गुमेको नेपाली भूभागहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुनः नेपाललाई प्राप्त हुन्छ। त्यसपछि प्रथम विश्वयुद्धमा १९७० सालदेखि १९७२ सम्म, १९७० सालमै बेलायती शासनविरुद्ध हाल पाकिस्तानस्थित बजिरिस्तानमा भएको विद्रोह दमन र अंग्रेज सरकारले नै लडेको अफगानिस्तान युद्धका लागि पनि १९७५ सालमा नेपाली सेनाले सहयोग गर्छ।

२० वर्षको अन्तरालपछि नेपाली सेना पुनः युद्धमा होमिन्छ– १९९५ सालदेखि आरम्भ भएको दोस्रो विश्वयुद्धमा करिब सात वर्षपछि यो महायुद्धमा सहभागिताका अनेकन अनुभवसहित नेपाली सैनिक २००२ मा घर फर्कन्छन्। सहयोगका लागि छिमेकीले नेपाली सेनालाई गुहार्ने काम फेरि एकपटक २००४ सालमा हुन्छ, यसपटक हिन्दु मुसलमानबीच हैदराबादमा सल्केको हिंसा दबाउन सदा झैं नेपाली सेनाले सहयोग गर्छ र हिंसा दब्छ पनि। यसरी जंगबहादुरदेखि मोहनशमशेर जबराको पालासम्ममा नेपाली सेनाले अंग्रेज सरकारले गर्नु परेका विभिन्न सैनिक कारबाहीलाई निर्णायक टुंगोमा पुर्‍याउन सघाउँदै आउँछ र अनेकौं अनुभव सँगाल्छ।

२००७ सालमा देशमा राणाशासन पतनसँगै पुरानो शासकीय संरचनाअनुसारको फौजी व्यवस्थामा पनि परिवर्तन महसुस गरियो। २००९ सालमा अथाह युद्धबल अनि रणनीतिक कौशलले निपुण हुँदै संसारभर चर्चित हुँदै गएको नेपाली सेना पुनर्गठित हुन्छ। पुनर्गठित नेपाली सेनालाई थप संगठित र आधुनिक तालिमहरूबाट सुसज्जित गराउने भन्दै पहिलेको तुलनामा आकारमा सानो बनाइन्छ। बडामहाराजाधिराज पृथ्वीनारायण शाहको विरासत बोकेको सेनाले बदलिएको परिस्थितिमा पनि निरन्तरता दिनुपर्ने काम छँदैथिए। बेलायतको शासन रहँदामात्र हैन, दक्षिण एसियाबाट बेलायत फिर्ता भइसकेपछि पनि नेपाली सेनाले नवगठित भारतीय संघलाई सैन्य सहयोग उपलब्ध गराएको छ। सन् १९४८ मा २० पल्टन सम्मिलित नेपाली फौज नवगठित भारतीय संघलाई सैन्य सहयोग उपलब्ध गराउने नेपाली सेना विश्वकै एकमात्र सेना हो।

राष्ट्रसंघीय शान्ति सेना
जमिनमार्फत जोडिएको छिमेकीलाई गर्दै आएको सहयोग थप विस्तार हुने क्रममा नेपाली सेना २०१५ सालमा पहिलोपटक सयुंक्त राष्ट्रसंघीय मिसनमा पर्यवेक्षकका रूपमा सामेल हुन्छ। त्यसपछि २०३१ सालदेखि आजपर्यन्त सयुंक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना संसारका विभिन्न मुलुकमा खटिइँदै आएको छ।

लेबनानबाट सुरु भएको ‘शान्ति मिसन’ यात्रामा नेपाली सेना द्वन्द्वपीडित जनताको मन जितेर ‘पिस च्याम्पियन’को छविसमेत बनाउन सफल भएको छ। विश्वशान्ति स्थापनामा हालसम्म १,४७,७४० नेपाली सैनिकले विभिन्न मुलुकमा खटिएर योगदान गरेका छन्, यो संख्या बढ्दो क्रममा छ। किनकि शान्ति मिसनमा नेपाली सेनाको सहभागिता निरन्तर छ। विश्वशान्ति स्थापना कार्यमा पुर्‍याएको योगदानको कदरबापत प्राप्त शान्ति पदकले ती सबै नेपाली सैनिकका छाती शोभायमान छन्। यद्यपि यस दौरान ७३ जना नेपाली सैनिकको वीरगति र दर्जनौं घाइते भएको तथ्य यहाँ उल्लेख गर्नैपर्ने हुन्छ।

आन्तरिक परिचालन

२०३१ सालमा तिब्बतबाट निर्वासित सशस्त्र खम्पाहरूको जत्थाले चीनविरुद्ध हिंसात्मक कारबाहीको तयारी गरिरहेकाले चीनको अनुरोधमा उनीहरूलाई निशस्त्र गर्न र २०५८ देखि केही वर्षका लागि आन्तरिक शान्ति स्थापनामा खटिनुपर्नेसहित विक्रमको २१औं शताब्दी आरम्भ भएदेखि नै नेपाली सेना देशभित्रका अनेकौं सुरक्षात्मक, रचनात्मक तथा विकास निर्माणका विभिन्न जिम्मेवारीमा संलग्न रहँदै आएको छ। यसैमध्येको एक महत्त्वपूर्ण जिम्मेवारी हो, वन्य जीवजन्तु एवं प्रकृति संरक्षण।

वन्यजन्तु तथा प्रकृति संरक्षण

२०३१ सालदेखि देशभित्रका विभिन्न राष्ट्रिय निकुञ्जहरूको जिम्मेवारी नेपाली सेनाले सम्हाल्न थालेपछि अनेकौं सकारात्मक परिणाम देखा परेका छन्, कुनैबेला लोप हुने अवस्थामा पुगिसकेको एकसिंगे गैंडा र बाघको संख्या अहिले संरक्षणको लक्ष्यभन्दा धेरै बढी छ।

यसबाहेक वनजंगललाई शोभायमान तुल्याउने जमिन र पानीका अनेकौं जीवजन्तु संरक्षणको प्रगति पनि रहरलाग्दो छ। आज संरक्षणमा नेपालले हासिल गरेको सफलताको सूत्र सिक्न विभिन्न अफ्रिकी तथा दक्षिण अमेरिकी मुलुकबाट संरक्षणकर्मी नेपाल आउने गरेका छन्।

प्रकृति संरक्षणमा सफा हिमाल

प्रकृति संरक्षणमा नेपाली सेनाले हासिल गरेको अर्को उपलब्धि हो– हिमाल सरसफाइ। पृथ्वीमा हिमशृंखलाहरूको उपस्थिति समग्र परिस्थिकीय प्रणालीको आधार मानिन्छ। हिमालयहरूबाट उत्पन्न भएर बग्ने स्वच्छ नदीनालाहरूको सम्बन्ध समग्र चराचर जगत्को अस्तित्वसँग गाँसिएको हुन्छ। त्यसैले जीवनका पुञ्ज यस्ता प्राकृतिक धरोहरहरूको स्वच्छता महत्त्वपूर्ण हुन्छ। जब १९७७ सालदेखि नेपालका हिमालहरू आरोहण हुन थाले।

त्यतिबेलादेखि नै अनेक प्रकारका मानवसिर्जित फोहोरहरूबाट हिमाल प्रदूषित बन्दै गए। जगत् र जीवनको संरक्षणका लागि पनि हिमालयको स्वच्छता अपरिहार्य थियो। त्यसैले नेपाली सेनाकै काँधमा हिमालयको स्वच्छता कायम गर्ने जिम्मा आयो। २०७५ सालदेखि आरम्भ भई हरेक वर्ष सञ्चालन हुने सफा हिमाल अभियानअन्तर्गत २०८० सालसम्म नेपालका हिमाल करिब १०९ टन फोहोरबाट मुक्त भइसकेका छन्।

विकास निर्माण
आन्तरिक विकास निर्माणका विविध कार्य सरकारले सेनालाई जिम्मेवारी दिनु विश्वव्यापी प्रचलन नै हो। सरकारको चाहनाबमोजिम नेपाली सेना पनि देशभित्रका विभिन्न विकास निर्माण जिम्मेवारीमा संलग्न छ। २०११ सालमा कान्ति राजपथ निर्माणदेखि आरम्भ भएको विकास निर्माणमा संलग्नता आजपर्यन्त कायम छ। यस दौरान देशका केही महत्त्वपूर्ण राजमार्ग नेपाली सेनाले बनाइसकेको छ भने सम्पन्न हुन बाँकीमा कर्णाली करिडोरको २२ किलोमिटर छ। 

यहाँ बिर्सन नहुने तथ्य के हो भने कर्णाली करिडोरअन्तर्गत हुम्लामा सडक पुगेसँगै देशको ७७ जिल्ला सडक सञ्जालमा जोडिनेछन्। यसबाहेक कोशी करिडोरको करिब ९२ किलोमिटर, बेनीघाट आरुघाट लार्के भन्ज्याङ सडकको ३२.५ किलोमिटर, महाकाली करिडोरको ७९ किलोमिटर तथा साढे ७२ किलोमिटर लम्बाइ भएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रूतमार्ग छन्।

खेलकुद

नेपालमा खेलकुदको संस्थागत विकासमा नेपाली सेनाको समेत योगदान रहोस् भन्ने अभिप्रायले २०४६ सालमा त्रिभुवन आर्मी क्लब स्थापना गरी संगठित तवरमा खेलकुद गतिविधि सञ्चालन हुँदै आएको छ। त्रिभुवन आर्मी क्लबमार्फत नेपाली सेनाका खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई अनेकौं नतिजा हात पार्दै देशको गौरव बढाउन योगदान गर्दै आएका छन्।

विपतको सहारा

मानव सिर्जित होस् वा प्रकृति सिर्जित, देशमा आइपरेका हरेक आपत्विपत्का बेला नेपालीहरूको भरोसाको केन्द्र रहँदै आएको छ नेपाली सेना। प्राकृतिक प्रकोप हिमालदेखि तराई जहाँ कहीँ पनि आउने गर्छ, द्रूत उद्धार र जीवन रक्षार्थ नेपाली सेनाको उपस्थिति आवश्यकताअनुसार आकाश, जमिन र जल जहाँ पनि हुने गरेको फेहरिस्त लामै छ। विशेषगरी २०७२ सालको विनाशकारी भूकम्पमा उद्धारको काममा खटेर हजारौंको ज्यान र धनसम्पत्ति जोगाउन जसरी नेपाली सेनाले काम गर्‍यो। नेपालीको जीउधन सुरक्षाप्रतिको नेपाली सेनाको तत्परता ९० सालको महाभूकम्पका बेलादेखि नै हो।

अस्तित्वमा आएदेखि नै आफ्नो देशमा हिमाल, पहाड, तराईका हरेक कुनामा अनि परदेशमा शान्ति सेनामा हाम्रो नेपाली सेनाको उपस्थिति दशकौंदेखि छ। एउटा यस्तो सेना जो आफ्नो देशमा मात्र हैन, विदेशका विभिन्न मुलुकमा पनि कार्यरत छ। अर्थात् ऊ माथि संयुक्त राष्ट्रसंघलगायत ती देशहरूको विश्वास छ। किन छ ? ऊ साहसी छ, कर्तव्यपरायण छ, अनुशासित छ, तोकिएको काममा दत्तचित्त छ। 

समग्रमा विश्वशान्तिका खातिर योगदान गर्दैछ। सुन्दर, शान्त, समृद्ध विश्वनिर्माण होस् भन्ने उसको चाहना छ। यही हो नेपाली सेनाको सौर्य।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.