सरकारका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने
जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने संकल्प छ : प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने संकल्प रहेको दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प रहेको बताएका हुन्।
‘मैले निरन्तर भनिरहेको छु, अघिल्लो सत्ता–गठबन्धनमा म व्यक्तिका रुपमा अप्ठ्यारोमा थिइनँ। प्रधानमन्त्री पद पनि असुरक्षित थिएन। सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेको पनि होइन। तर देश आज औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा छैन। औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प छ।’ उनले भने, ‘आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु। मेरो प्रतिवद्धतामा यो सम्मानित संसदले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ।’
न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने
उनले आज बेलुकासम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताए। ‘सरकार गठनमा सहभागी दलहरुबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ र सम्भवतः आज बेलुकासम्म त्यो सार्वजनिक हुनेछ। त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ। सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछन्। ’
उनले राजस्वको लक्ष्य पुरा गर्न, पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रमहरु ल्याउने दाबी गरे। आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुने उनको भनाई छ। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइने बताए।
सरकार पुनर्गठनसँगै पूँजीबजारमा सकारात्मक परिवर्तन
प्रधानमन्त्री प्रचण्डले सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई जनअनुमोदन र समर्थनका रुपमा बुझेको बताए।
‘सोमबार मात्रै मिटर ब्याज पीडितहरुसँग चार बुँदे सहमति भएको छ। वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट छ। रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन्।’ उनले भने, ‘पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक संख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ। वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिनेछ र स्वदेश फर्केकालाई पनि सीप अनुसारको व्यवसायका लािग सुलभ ऋणको ग्यारेन्टी गरिनेछ।’
हेर्नुहोस् पूर्णपाठ