देशमा नयाँ सरकार आयो। नयाँ नेपाल बनाउने भन्छन्। तर, हामीले खानेपानीका लागि संघर्ष गर्नु परेको छ। गाउँमा पहिले पानीका मूल थिए। अचेल ती मूल सुके। पानीका मूल सुकेपछि हाम्रा दुःखका दिन सुरु भए। नजिकै पानी पाइँदैन।
हिउँद र खडेरीको समयमा त पानीकै लागि गाउँमा झगडा हुन्छ। बस्तीबाट टाढा रहेका मूलबाट पानी ल्याउन घन्टांै पैदल हिँड्नुपर्छ। पानीको पालो नपाइने भएकाले रातभर कुरेर पानीको जोहो गर्छौं। तर, पनि सजिलै पानी पाइँदैन। एक गाग्री पानीका लागि आफन्त र छिमेकीसँग विवाद हुन्छ। खडेरीले बारीमा खेती हुँदैन। खानेपानीको संकट हुन थालेपछि गाउँबाट धेरै परिवार बसाइँ नै सरेर गइसके।
केही संस्थाले बनाइदिएका धारामा पनि पानी आउँदैन। पानीका दुःख देखाउँदा नेताले पनि चुनावमा धारा बनाइदिने आश्वासन दिए। तर, चुनाव जितेर गएपछि फर्केनन्। हाम्रो गाउँ त अझ नगरपालिका भएको छ। नगरपालिका भएर के गर्नु ? खानेपानी नपाउने अवस्था छ। सरकारले अब गाउँमा खानेपानी ल्याउँछ भन्छन्। तर, कहिले आउने हो थाहा छैन। नगरपालिकाले पनि पानी कसरी ल्याओस् ?
लक्ष्मी शाही
माथिको सरकारले बजेट दिए पो पानी आउला। हाम्रा लागि त पानी नै ठूलो कुरा हो। जसले पानी ल्याउँछ, त्यो हाम्रो नेता हो। त्यही हाम्रो सरकार हो। गाउँमा खानेपानी नपाउने बेलामा सिँचाइको सुविधा पाउने कुरै भएन। खडेरीले हाम्रा दुःखको दिन सुरु भए। यस्तै अवस्था रहे हामीले पानी नपाएर मर्नुपर्ने त होला। हामी मात्र होइन, हाँसेगाउँ, फार्सेकाँडा, बुढामारे, कुवासैनी र भक्तडी गाउँमा बस्नेले खानेपानीका दुःख भोगिरहेका छन्।
गाउँलेले पालेका वस्तु भाउले पानी खान पाउँदैनन्। तर, आजसम्म हाम्रो खानेपानीको दुःख सरकारले सुनेको छैन। खानेपानीको जोहो गर्दागर्दै घाँसदाउरा र खेतबारीमा काम गर्ने समय पुग्दैन। बालबालिकाको पढाइ नै छुट्छ। खानेपानीका स्रोतहरू धेरै टाढा छन्। भएका मुहानहरू सुक्दै गएपछि पानीको संकट थप चुलिँदै गएको छ। खानेपानीको संकटलाई बेलैमा समाधान गर्न नसके बिस्तारै गाउँ नै रित्तो हुने सम्भावना छ। हाम्रो यो पीडा र समस्यालाई सरकारले तत्काल सुनेर गाउँमा खानेपानीको सुविधा उपलब्ध गराइदेओस्। बुढेसकालमा गाउँमै खानेपानी आएको हेर्ने धोको छ।
(शाही सुर्खेतको पञ्चपुरी नगरपालिका–१ फार्सेकाँडा निवासी स्थानीय बासिन्दा हुन्।)