पर्सामा एक महिनादेखि आतंक मच्चाउने बाघ नियन्त्रणमा
वीरगन्ज : पर्साको ग्रामीण भेगमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको मध्येको एउटा बाघलाई नियन्त्रणमा लिइएको छ।
तीनवटा हात्तीसहित १० दिनदेखि खटिएको पर्सा र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहीबार दिउँसो भाले पाटे बाघलाई डाट हानेर बेहोश पारी नियन्त्रणमा लिएको हो।
दुवै निकुञ्जका प्राविधिक र डिभिजन वन कार्यालय पर्साको संयुक्त टोलीले सखुवा प्रसौनी गाउँपालिका-२ स्थित उखुबारीबाट उक्त बाघलाई डाट हानेर लठ्याएर नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादवले जानकारी दिए।
एउटा भाले र एउटा पोथी बाघले पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकाका विभिन्न गाउँमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको थियो। बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। एक जना घाइते भएका थिए। राष्ट्रिय वन क्षेत्र नजिकका ती गाउँमा उक्त बाघले दर्जनौं चौपाया पनि मारेको थियो ।
डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहका अनुसार उक्त बाघलाई नियन्त्रणमा लिन दुवै निकुञ्जका १० जना प्राविधिक र वन कार्यालयका ५ जना गरी १५ जनाको टोली तीनवटा हात्तीका साथ विगत १० दिनदेखि खटिए पनि सफलता पाउन सकेको थिएन। बाघ लुकेर बसेको सम्भावित स्थानहरूमा उक्त टोलीले सीसीटीभी क्यामेरा पनि जडान गरेको थियो।
ती दुवै बाघ उखु र मकै बारीमा लुक्दै ठाउँ सर्दै हिँडेका कारण १० दिनसम्म निकुञ्जको टोलीले फेला नै पार्न सकेको थिएन। तर बुधबार राति सीसीटीभी क्यामेरामा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो सखुवा प्रसौनी-२ को उखुबारीमा दुईमध्ये एउटा बाघ लुकेर बसेको अवस्थामा फेला परेपछि डाट हानेर बेहोश पारी उक्त १८ महिनाको भाले बाघलाई नियन्त्रणमा लिन सफल भएको यादवले बताए।
अर्को पोथी बाघ भने अझै फेला पर्न नसकेको उनले बताए। बिहीबार दिउँसो नियन्त्रणमा लिएको बाघलाई खोरमा राखेर गाडीमा लोड गरी चितवन राष्ट्रिय निकुञ्जको टोलीले लिएर गएको यादवले बताए ।