२३ वर्षपछि फरार अभियुक्त पक्राउ
नुवाकोट : एक व्यक्तिलाई हत्या गरी फरार भएका नुवाकोटको घ्याङफेदीका पुरुष २३ वर्षपछि पक्राउ परेका छन्।
कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी दुप्चेश्वर गाउँपालिका-१ का ४४ वर्षीय प्रेमबहादुर तामाङलाई २३ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
२०५७ माघ १६ गते बेलुकी सात बजे नुवाकोटकै साविक घ्याङफेदी गाविस ३ हाल दुप्चेश्वर गाउँपालिका-१ स्थित आफन्तको घरमा घेवा मान्न गएका बेला मख्खु भन्ने छेवाङ तामाङलाई प्रेमबहादुर समेतका व्यक्तिहरूले खुकुरी प्रहार गरी हत्या गरी फरार रहेको घटनामा हालसम्म फरार रहेका तामाङलाई २३ वर्षपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार तामाङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ माकलबारीबाट नेपाल प्रहरीको प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा पक्राउ गरिएको हो। पक्राउ परेका तामाङलाई नुवाकोट जिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षका लागि कारागार पठाइएको नुवाकोट प्रहरीले जनाएको छ।
प्रेमबहादुर तामाङसहित हत्याको घटनामा संलग्न २ जना अदालतको फैसलाबमोजिम हाल कारागारमा २० बर्ष कैद सजाय भोगिरहेका छन्। अशिक्षा, मादक पदार्थ सेवन तथा जनचेतनाको अभावमा ग्रामीण भेगमा अपरोधमुलक घटनाहरू हुने गरेको प्रहरीले जनाएको छ।