तिम्रै खातिर अँगालोमा बाँधिन आइपुगेको छु। बुर्कुसी मार्दै आएर समीप ठिंग उभिएको छु। तिमीलाई जुनीभरिको सलाम।
चिरप्रतीक्षित व्यग्रताको बुइँ चढेर आइपुगें पोखरा तिम्रो आँगनमा। मलाई धैर्यपूर्वक सम्हाल। तिम्रै खातिर अँगालोमा बाँधिन आइपुगेको छु। बुर्कुसी मार्दै आएर समीप ठिंग उभिएको छु। तिमीलाई जुनीभरिको सलाम। तिम्रो रूपसज्जाको आभादेखि निष्पाप दंग परेको छु। तिमीबाट विस्फारित देहलता यतिविधि अपार छ कि वर्णन गर्ने कति हिम्मत छैन। कान्ति पोखिएको तिम्रो सौन्दर्य यसकारण पनि अदबका साथ सुडौल रूपलावण्यको वशमा लाचार छु।
तिम्रो शैशवकाल कोसँग बितेको थियो ? यसमा कुनै क्षोम छैन तर यति धेरै अनन्त रूपराशिको सिर्जना कसरी भयो ? यसको कहिरन कति श्रुतिमधुर होला ? अड्कलबाजी लगाउन सामथ्र्यविहीन छु। जूनको रश्मि पोखिएको चेहरामा पुष्पवृष्टि भएको सुखानुभूति हुन्छ। सेती नदीको खोजमा बजेको तिम्रो नूपुरको झंकार कति श्रुतिगम्य र वासन्तिक छ। जसबाट फैलिएको सम्मोहित प्रेमरसको रचना कुन ईश्वरको मनोरथबाट रचि यो।
तिम्रो बहुरंगी रूपसज्जादेखि पनि चकित छु। तिमी माछापुच्छे्र बनेर पनि मुस्कुराउँछौ कहिले सेती नदी बनेर लुसुक्क गायब हुन्छ्यौ। कहिले फेवामा तरंग फैलाएर किनारहरूलाई ढाडस दिन्छौ। कुनै बेला साराङकोट कुनै बेला घान्द्रुक त कहिले रूपाकोट र बेगनासतिर रमाना हुन्छ्यौ। चौपट्ट छ तिम्रो दिनचर्या। पहिलोपटक तिमीबाट निःसृत प्रणयलाई स्पर्श गर्न पाउँदा आनन्द अपार र अनन्त दुवै थियो। तर यसमा कता–कता संकोच पनि थियो। तिमीभित्र सज्जित नारीत्वको कतै एक प्रकारको श्रापित पात्रमा दर्ज हुने होइन। तिम्रो विश्रामगृहमा अडेस लागेर यस्तै परिकल्पनाको दुविधाको चपेटामा रुमल्लिइरहेको थिएँ।
पोखरा ! तिम्रो दिनचर्या व्यस्त र अनौठो। प्रत्येक बिहान फेवातालमा स्नान गर्छौं अनि विन्ध्यावासिनीको मन्दिरमा टीका लगाएर तलसिएको केशराशिमा तम्तयार भएर फेवातालको दर्पणमा आफ्नै चेहरा डुबाएर मुसुक्क मुस्कुराउँछौं। यस्तो अब्बल मृदुमुस्कान देखेर कति प्रेमीहरूले आँखा जुधाउँदा
हुन् ? प्रेमिकाको सम्बोधन गरेर प्रणयभिक्षाको याचना गर्नसमेत लाचार हुँदा हुन्। पुष्पवाटिका जस्तो तिम्रो यौवनलाई तिम्रो शयनकक्षमा मद्वारा नछोइएका कैयन् बासी रातहरू अनिँदै छन्। शयनकक्षमा कहिले तिमी मसँग छोइने भएर प्रवेश गर्छौं ? यो हुटहुटीले पलप्रतिपल मलाई डसिरहेको छ। पूर्णेको जून झैं मुहारबाट प्रसारण हुने वाणीमा बान्की परेको मधुर ध्वनिमा कस्तो चमत्कारी जादु।
साराङकोटको टाकुरामा टेकेर तिम्रो श्वेतरूपी मुहारलाई सुम्सुम्याउन साह्रै भोको थिएँ। भित्रभित्रै डाहसमेत गर्थें। सम्मोदनीय अंगहरू दृष्टिगोचर हुँदा प्रणयभिक्षाको आतुरमा पनि थिएँ। प्रभातकालमा क्षितिज अनन्त फैलिएको समयमा तिमीलाई गमक्क फुलेर अंकमाल गरेको छु। मेघ गर्जनसहित कालो बादल आकाशिएर मडारिँडा धुपछायाँको फरियासँगै हेडस्कार्फ पहिरिएर तिमी बेपत्ता पनि हुने गछ्र्यौ। अथवा, बुर्फा ओढेको रूपराशि एक्कासि खैखबरबिनै गुप्तवास हुनपुग्दा हाम्रो प्रीति भंग भए झैं लाग्छ।
भाग्यवश भनौं, सेतीको सुरुङभित्र निर्मित ग्रीष्म दरबारबाट तिमीलाई फकाएर बुइँ चढाउँदै सार्वजनिक गर्न विवश छु। तर तिमी मसँग बेस्सरी थिल्लिएर बुर्कुसी मार्छौ। कति निष्ठुरी तिमी इतरिनुको माहिर। पोखरा तिमी कति विधि निर्माया भएको ? छिलिल्नुको सीमा हुन्छ नि पोखरा ! मुसाफिरजस्तो ऐलानी मेरो जवानी यस सुन्दर धरातलमा तिमीलाई राजीनामा दिइसकेको छु। यो नासोलाई इन्कार गर्ने चेष्टा नगर्नू है। प्रतिफल तिम्रो चेहराले थकित बनाउँछ ताजा पनि बनाउँछ। यही भएर त जिन्दगीको मुटुको सारा कम्पन तिमीलाई वसियतनामा गरिदिइसकेको छु।
फेवातालमा तिमीसँग पटकपटक खिचेको युगल तस्बिर दिवालमा यत्नपूर्वक सजाएको छु। तस्बिरबाट फिँजारिएको रश्मिले आभारी र पुष्पित दुवै छु। गुम्बा र बौद्ध विहारहरूमा हावाद्वारा गोता खाएर एक त मास हल्लिइरहेका लुङ्दुरहरूको आवाज आइरहँदा तिमी लुङ्दुरहरूसँगै टाँसिएर रमिरहेजस्तो लाग्छ। त्यहाँ गुञ्जिरहेको ‘ओम मणि पेम्बे हुम्’को लयात्मक धुन तिमी आफैं हौ जस्तो लाग्छ भन्नेमा पक्कापक्की विश्वास अंकुटित भएको छ। पोखरा ! इन्कार गर्ने हिम्मत नगर। म तिमीभित्र बिलाइसकेको छु। म फगत् मुसाफिरबाहेक केही हुइनँ।