यात्रा डायरीहरूले जनयुद्धमात्र होइन, नेपाली समाज उतारेका छन्

यात्रा डायरीहरूले जनयुद्धमात्र होइन, नेपाली समाज उतारेका छन्

लेखक, कवि एवं पत्रकार मनऋषि धितालद्वारा लिखित आधा दर्जन जनयुद्धकालीन डायरीहरूको सँगालो भर्खरै प्रकाशित भएका छन्। नेपाली समाज राजतन्त्रबाट गणतन्त्रमा कसरी प्रविष्ट भयो, त्यो ऐतिहासिक यात्राको जीवन्त दस्तावेजीकरण युद्धमोर्चाबाटै गरिएको छ। २०५९ देखि २०६३ सम्मको पाँच वर्षको नेपालको राजनीतिक, सामाजिक तथा सशस्त्र संघर्षको यथार्थलाई चित्रित गर्ने यात्रा डायरीका लेखक धितालसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको अन्तर्वार्ताको अंशः

एकैसाथ आधा दर्जन यात्रा डायरी प्रकाशित गर्नु भएको छ। कहिले र कसरी लेख्नु भयो ?

नेपाली जनयुद्ध सयौं वर्षदेखि जकडिएको नेपाली समाजलाई चौतर्फी रूपमा हल्लाउने भुइँचालो थियो। साहित्यमा अभिरुचि र पत्रकारितालाई जीवनसंघर्षको साधन बनाइरहेको मलाई जनयुद्धले प्रभावित पार्‍यो। मैले पत्रकारितालाई क्रान्तिको वैचारिक मोर्चाको रूपमा लिएँ। लामो समय अभिव्यक्ति स्वतन्त्रताका एक्काइसौं शताब्दीकै महान्् योद्धा कृष्ण सेनको टिमको मातहतमा रहें। हामी जेलमा भएकै बेला संकटकालमा सेनको निर्ममतापूर्वक हत्या भयो।

जेलबाट छुटेपछि दोस्रो वार्तासँगै जनादेशसँग जोडिएका पत्रकारहरू युद्धविराम भंग हुने निश्चित भएपछि भूमिगत भयौं। युद्धमोर्चाबाटै रिपोर्टिङ गर्ने क्रममा पश्चिम नेपालका कास्कीदेखि डँडेलधुरासम्मको भूगोलमा कहिले जनसैनिकहरूसँग सहयात्रा, कहिले जनसरकारका प्रतिनिधिसँग सहयात्रा, कहिले युद्धसंवाददाताहरूसँग यात्रा गर्ने क्रममा मैले हरेक दिन डायरी लेख्ने गरेको थिएँ। यी डायरीहरू प्रत्येक दिनका राजनीतिक, सामाजिक एवं फौजी संघर्षका साक्ष्य हुन्। पहिलो डायरी जेलयात्रा लेखेको समयावधि मात्र २१ वर्ष पुगेको छ भने गण्डकयात्रा १७ वर्ष। यति लामो समयसम्म डायरीहरू कहिले पिठ्यूँमा, कहिले डेरामा, कहिले प्रवासमा थन्किए। यी डायरीहरूलाई जनताको सार्वजनिक सम्पत्ति, क्रान्तिको अप्रशोधित दस्तावेजका रूपमा प्रकाशित गर्नुपर्छ भन्ने उद्देश्यले तथ्य, विवरण, पात्र र प्रवृत्तिमा कुनै सम्पादन नगरी प्रकाशित गरिएको छ।

एउटा गुफा प्रेसको चिठी नामक युद्धकालीन पत्रहरूको सँगालो छ। बाँकी ६ वटा यात्रा डायरी छन्। यिनीहरू के कसरी यो ढाँचामा आए ?

पहिलो डायरी, जेलयात्राबाटै सुरु गर्छु र अन्तमा गुफा प्रेसका चिठीबारे भन्नेछु। २०५८ मंसिर ८ गते विद्रोहीद्वारा दाङ, सोलुसल्लेरी र स्याङ्जामा हमलासँगै पहिलो वार्ता भंग भयो। मंसिर ११ गते जनादेश कार्यालयमा पत्रिकाको तयारीमा थियौं। जनादेशको ब्यानर न्युज लेख्दालेख्दै मसहित ११ जना पत्रकार गिरफ्तार भयौं। महाराजगन्जमा २४ दिन जति राखियो। त्यसपछि हामीलाई भद्रबन्दी गृहमा लगियो। २०५९ जेठ ४ गते मेरो जन्मदिनबाट मैले जेलभित्र देखे, भोगेका विषयमा टिपोट गरेर डायरी लेख्ने प्रतिबद्धता जनाएँ आफैंसँग। त्यहाँ बीपी कोइरालाको जेल डायरी पनि पढियो। जेठदेखि २०५९ कात्तिक १९ मा रिहा होउन्जेलसम्म निरन्तर डायरी लेखें, त्यो नै जेलयात्रा हो। जेल दैनिकी, जेल डायरी नभनेर यात्रा किन भनेको भने त्यो महान् उत्सर्गको अभियानको एक हिस्सा थियो, त्यो आफैंले आफ्ना लागि कात्रो बेरेर हिँडेको अभियान थियो, त्यो महान् आदर्शको खोज थियो। त्यसलाई केवल कैदी नोट नठानेर मैले जेलयात्रा भनेको हुँ।

दोस्रो शृंखला, बेनीयात्रा हो। २०६० सालको युद्धविराम, मेरो पहिलो प्रवासयात्रा, भूमिगत पत्रकारिताका सुरुवाती दिनहरू, युद्धसंवाददाताहरूलाई पत्रकारिता तालिमदेखि २०६० चैत ७ गते म्याग्दीको सदरमुकाम बेनीमा भएको जनमुक्ति सेनाको फौजी हमलासम्मको यात्रा डायरी यसमा समेटिएको छ।

तेस्रो, आधारयात्रा हो। मुख्य आधार इलाका रुकुम–रोल्पालाई भनिन्थ्यो। प्रवासबाट अध्यक्ष कमरेड प्रचण्ड आधार इलाकामा फर्कनु भएको थियो। मुख्य आधार इलाकामै बसेर उहाँले जनयुद्धको नेतृत्व गरिरहनु भएको थियो। त्यो वरिपरिको घटनाक्रम यो शृंखलामा समेटिएका छन्। यो शृंखलामा गण्डक क्षेत्रका युद्ध संवाददाताको तालिम, भेरी कर्णालीमा हवाई हमलाबीच जंगलमा प्रशिक्षणदेखि गुफा प्रेसका सुरुवाती संघर्षको गाथा समेटिएको छ।

चौथो शृंखला, राजमार्गयात्रा हो। बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको पूर्वपश्चिम राजमार्गमा भएको संघर्ष र समर्पण, माघ १८ को शाही घोषणा र त्यसविरुद्ध जनमुक्ति सेनाले गरेको प्रतिरोध, सहरी इलाकामा सैन्य कमान्डो, तत्कालीन मोबाइल ब्रिगेड कमान्डर कमरेड जितको साहस र बलिदानको दस्तावेजीकरण यसमा भएको छ।

पाँचौं शृंखला, पिलीयात्रा हो। तराईका मोर्चाहरूपछि जनमुक्ति सेना पहाड उक्लिएर विजय हासिल गरेको कालीकोटको पिली लडाइँको विवरण मुख्य रूपमा यसमा छ। युद्धलाई नै स्कुल ठान्ने जनमुक्ति सेना, वार्तापछि जाजरकोट, जुम्ला, कालीकोट, अछाम, दैलेख, सुर्खेत हुँदै बर्दियासम्मको यात्रा विवरण पनि छ। यहाँ महान् सहिदहरूलाई सम्बोधन गरेर लेखिएको यात्रा विवरण छ। यो वास्तवमा अघिल्लो दिन नायक मानेको योद्धा अर्काे दिन भागेको, गद्दारी गरेको एक प्रतिनिधि घटनापछि कहिल्यै नहार्ने, नभाग्ने र गद्दारी नगर्ने सहिदलाई सम्बोधन गरेर डायरी लेखेको छु। यो आफैंलाई रोमाञ्चित गर्ने, आदर्शको खोज गर्ने एउटा तरिका पनि हो।

छैटौं शृंखला, गण्डकयात्रा हो। यो तत्कालीन जनमुक्ति सेनाले शाही सेनालाई लड्न आउन खुल्ला अपिल गरेको यात्रा हो। यो अवधिमा वर्ग संघर्षको विकास जनआन्दोलनमा छलाङ मारेको देखिन्छ। यो गणतन्त्रको नयाँ बिहानीलाई स्वागत गर्ने यात्रा विवरण हो। गण्डक यात्राको मूलयात्रा दिन एक सय दिनको छ भने जनआन्दोलनको विकाससँगै सुरु भएको खुल्ला आकाशको उडान ४१ दिनको छ। यो नेपाली समाजले पुरानो व्यवस्थाबाट नयाँ व्यवस्था जन्माउने प्रसव वेदनाको काल पनि हो।

यो शृंखलाको अर्को अर्थात् सातौं पुस्तक गुफा प्रेसका चिठी हो। भूमिगत पत्रकारिताका क्रममा जनादेश पश्चिम संस्करणका सम्पादक, संवाददाता, व्यवस्थापक, सुरक्षा दल र राजनीतिक नेतृत्वका बीचमा आदानप्रदान भएका चिठीहरूको सँगालो हो। यसमा कृष्ण सेन इच्छुकका पत्रहरू पाइएसम्म समेटिएका छन्।

तपाईंले यो  यात्रालाई कलम र बन्दुक एकीकृत यात्रा भन्नुभएको छ। यो कसरी सम्भव छ ?

हामी मुख्यतः कलमका यात्री थियौं। जनादेशद्वारा वैचारिक, प्रचारात्मक कार्य गर्नु मेरो जिम्मेवारी थियो। म भियतनाम युद्धबाट प्रभावित थिए। भियतनाम युद्धका कथाहरू पढें। अक्टोबर क्रान्ति पढेर अलिकति प्रभावित रहेछु जस्तो लाग्छ। युद्धको समयमा खुल्ला पत्रकारिता गर्ने पत्रकारहरूको मूलतः काम वक्तव्यमा आधारित समाचार लेख्ने वा आर्टिकल लेख्नेमात्रै हुन्छ। यसो गर्नु हुँदैन बरु स्वयं युद्धमोर्चामा नजिकबाट युद्धजीवनलाई लेख्ने, एउटा सैन्य सदस्यकै रूपमा सेन्ट्री बस्ने, युद्धसंवाददाताको रूपमा युद्धमोर्चामा सहभागी हुने जोखिम हामीले मोल्यौं। युद्ध सपाट हुँदैन। यो उतारचढावपूर्ण हुन्छ।

म एउटा सर्वहारावर्गको मुक्ति आन्दोलनको पक्षपाती पत्रकार हुँ। मैले जे देखेको थिएँ, त्यो सत्यलाई डायरीमा चित्रित गरेको छु, जे सुनेको थिएँ, त्यो लेखेको छु, जे अनुभूत गरेको थिएँँ, त्यो लिपिबद्ध गरेको थिएँ, त्यसैले त्यो सबै सत्यलाई इतिहासको कसीमा हो होइन, त्यो म इतिहासलाई नै छोड्न चाहन्छु। तथापि एउटा जनसैनिक र अर्को कलमको सिपाहीसँगै युद्धमोर्चामा पुग्छन्, त्यो विशेष परिस्थितिलाई नै कलम र बन्दुकको एकीकृत कमान्ड, एकीकृत यात्रा भन्न खोजेको हुँ।

तपाईंले डायरीमा भारत गएको, आएको विवरण दिनु भएको छ। भारत–नेपाल यात्राले जनयुद्धमाथि प्रश्न उठाउनेहरूलाई सहयोग गर्दैन ?
मैले आफूले देखेको के हो भने भारत आन्दोलनकारीहरूका लागि खुल्ला सिमाना भएकाले सधैं सुरक्षित ठाउँ हो। राष्ट्रिय राजनीतिमा भारत नै जनयुद्धको जननी, भारत नै गणतन्त्रको जननी भन्ने जुन भाष्य निर्माण गरिँदैछ, त्यो गलत हो। जनयुद्धको नेतृत्व, विचार र योद्धा नेपाली जनसमुदाय नै हुन्। बरु भारतको भूगोलमा घाइतेहरूको स्वास्थ्योपचार हुन्थ्यो। खुल्ला सिमानामा एक देशका क्रान्तिकारीहरू अर्को देशमा रहनु सामान्य हो।

क्रान्तिलाई समग्र क्रान्तिमा फेर्न, सूचना तथा सञ्चार, नेतृत्वको रक्षा र विकासका लागि प्रवासको भूगोलको उपयोगकै आधारमा लाञ्चनाको चक्रव्यूह चलाउनेहरूसँग मेरो भन्नु केही छैन। म बोर्डरबाट गइरहेको थिएँ, मसँग केही जनयुद्धका डायरी, डकुमेन्ट र फोटोहरू थिए। बसमा चढ्न खोज्दा सेक्युरिटी फोर्सको मान्छे आएर के हो ? भनेर खोजतलास गर्न थाले। त्यसपछि मैले अब यसले पत्ता लगायो भने सिध्याउँछ भन्ठानें र पत्रकार हुँ भनें। रखो रखो भन्दै जान दियो। पत्रकार भन्नेबित्तिकै त्यहाँ ज्यान बचेको एउटा घटना छ। त्यसो त युद्ध पत्रकारितामा मृत्युसँग बारम्बार जम्काभेट भइरहन्थ्यो।

प्रचण्ड, बाबुराम र महराहरूको भारतको संस्थापन पक्षसँग भेटघाट भएर यता आएको भनिन्छ नि ?

मेरो डायरीभित्र विभिन्न ठाउँमा प्रवासमा प्रचण्ड, बाबुराम, महरा देखिन्छन्। इन्डियन संस्थापन पक्षका मान्छेहरूले हाम्रो कुनै पनि खालको नेताहरूसँग केही सम्पर्क नभएको दाबी गर्दिनँ। उहाँहरू एक समय जसरी भारतीय भूगोलको उपयोग गर्दै क्रान्तिलाई हाँक्नु भयो, त्यो जोखिमपूर्ण र महत्वपूर्ण कुरा हो। कहाँ बसेको छ भन्ने भूगोलले राजनीतिक उद्देश्य र लक्ष्यलाई निर्धारित गर्दैन। ठ्याक्कै भन्ने हो भने भारतको संस्थापनले माओवादी नेतृत्वको भारतभित्र व्यवस्थापन गरिदिएको कुरा भने सत्य होइन। नेतृत्व आफैं युद्ध व्यवस्थापनका लागि त्यहाँ रहनु परेको हो।

गुफा प्रेस, ओढार पत्रकारिता जस्ता पदावली प्रयोग गर्नु भएको छ ? अलिकति व्याख्या गर्दिनुस् न।

यो बडो रोचक छ। खासगरी युद्धविराम भंग हुने भएपछि हामीले पत्रकारिता गर्न पहिलो चरणमा भारतलाई नै बेस बनायौं। नेपालकै ५–६ वटा कमान्ड छुट्ट्याएर पत्रकारिता गर्ने गरेका थियौं। पछि नेपालकै विभिन्न भूगोलमा हामीले जनादेशको कार्यालय खोल्यौं। यसअन्तर्गत मेरो कार्यक्षेत्र पश्चिममा थियो। त्यो पश्चिम सुर्खेतको छाप्प्रे इलाकामा राम्रो ठूलो पञ्चपुरी डाँडा छ। त्यहाँ धेरै ओढार रहेछन्। सामानहरू सुरक्षित राख्न हुने। त्यहाँ लेकमा गाईबस्तु पाल्ने गोठहरू थिए। गोठहरूमै हामीले लिपपोत गरेर अफिस राख्यौं।

हाम्रा सामग्रीहरू लाइब्रेरी, किताब प्रकाशन गर्ने कागज, प्रेस सबै कुरा ओढारमै लुकाएर राख्थ्यौं। अहिले पनि सायद कहीँकतै केही सामग्री फिर्ता ल्याउन पनि भ्याएका छैनौं। त्यसैलाई हामीले ओढार पत्रकारिताको उपमा दिएको हौं। हाम्रो रेडियोमा काम गर्ने साथीहरूले एकदमै माथि हिमालको टाकुरामा टनेल खनेरै (भित्र हल्का त्यो बेलाको परिस्थितिअनुसार वातानुकूलित अवस्थामा) रेडियो प्रसारण गर्नुहुन्थ्यो। त्यो मोबाइल खालको हुन्थ्यो।

कुनै पनि बेला त्यसको सिंग्नलहरू नेपाली सेनाले थाहा पायो भने त्यहाँ हमला गर्ने सम्भावना हुन्थ्यो। त्यसलाई ठाउँ सारी गर्दै सञ्चालन गर्नुपथ्र्यो। त्यो बेलाको अनुभूति निकै रमाइलो थियो। कागज तयार भयो, कहिलेकाहीँ मसी सकिन्थ्यो। कागज र मसी तयार हुन्थ्यो तर छापाखानाले दुःख दिन्थ्यो। सबै तयार भएपछि कहिले मट्टीतेल सकिन्थ्यो। कहिले हेलिकप्टर आएर लखेट्थ्यो। तत्कालै सबै सामान बोकेर अर्को ठाउँ जानु पथ्र्यो। हामीलाई सुरक्षाका लागि केही जनमुक्ति सेनाको सुरक्षा दस्ता पनि हुन्थ्यो। अलिकति टाढा बसेर त्यसले हाम्रो सारा सेक्युरिटी गर्ने काम गथ्र्यो। एक हिसाबले व्यवस्थित थियो। केही हजारप्रति हामीले छाप्थ्यौं। हजारौं चाहिँ हुँदैनथियो। छापेर जनादेश नै प्रकाशन हुन्थ्यो। अरू आन्तरिक प्रकाशनहरू पनि गरिदिएर त्यो छापाखानाबाट काम हुन्थ्यो। आफ्नै आन्तरिक हुलाक सञ्जालहरू थिए। हाम्रा आफ्नै ती हुलाकीले एक ठाउँबाट अर्काे ठाउँमा पुर्‍याएर सम्बन्धित ठेगानासम्म लैजान्थे। ठेगानामा डी २, डी ३ जस्ता कोडहरू प्रयोग हुन्थे।

गुफा प्रेसबाट छापिएको जनादेश पाठकको हातमा कहिले पुग्थ्यो ? त्यो साप्ताहिक वा पाक्षिक हुन्थ्यो ?
गुफा प्रेसमा प्राविधिक कमजोरीका कारणबाहेक  जनादेश साप्ताहिक रूपमै प्रकाशित हुन्थ्यो। गुफा प्रेसका छेउछाउका जिल्लामा चाँडै पुथ्यो भने दूरदराजका गाउँमा कम्तीमा १५–१६ दिनमा पुग्थ्यो।

जनादेशका विषयवस्तु युद्ध मात्र हुन्थे कि अरू पनि ?
काठमाडौंमा जसरी हामी जनादेश साप्ताहिक तयार गथ्र्यौं, युद्धकालमा जनादेशको भाषा अलिक बौद्धिक भयो। गुफा प्रेसमा जनादेश साप्ताहिकको छपाइ आकार–प्रकार अलि सानो भयो। ए–फोर साइजमा १६ पेज, कहिलेकाहीँ ३२ पेजमा पनि त्यो छाप्थ्यौं। सामग्री भनेको ब्यानर न्युज, सम्पादकीय, यात्रा संस्मरण भन्ने हुन्थ्यो। समीक्षाहरू पनि हुन्थे। राष्ट्रिय राजनीतिका कुरा पनि हुन्थे। सहरमा आन्दोलन के कस्तो भइरहेको छ, त्यो पनि हुन्थ्यो। उताको युद्धको पनि हुन्थ्यो। विषयवस्तु ‘सेमी प्रोफेसनल’ जस्तो हुन्थ्यो। बिक्री पनि हुन्थ्यो।

एउटा पत्रकार युद्ध संवाददाता बन्दा आफूले आफैंलाई कस्तो मूल्यांकन गर्नुहुन्छ ?

युद्धको सघन अवधिमा धेरै कुरा सामान्य नै हुँदोरहेछ। चेतना तीक्ष्ण हुँदोरहेछ युद्धको बीचमा। युद्धको चेतना नै सबैभन्दा तिखो चेतना रहेछ सायद। सधैं छापामार अलर्ट हुन्थे। लगभग ननिदाइकन अलर्ट पोजिसनमा हुँदा रैछन्। समयको हिसाबले चेतना पनि तीक्ष्ण हुने रहेछ। जीवन र मृत्युको दोसाँधमा जहिले पनि हुने भएकाले मृत्यु नै कुरेर बस्ने त्यो खालको हुँदो रहेनछ। उसलाई मृत्युभन्दा पनि समयको सदुपयोग गर्नुपर्छ भन्ने मात्र हुँदो रहेछ। एउटा फिलोसोफीले पनि निर्देशित गर्दो रहेछ। डर पनि बाँडिँदो रहेछ।

एउटा कारबाहीमा पाँच हजार मान्छेसँगै यात्रा गरिरहेका छन् भने डर पाँच हजारमा बाँडिँदो रहेछ। आफ्नो भागमा पाँच हजारको एउटा अंश पर्‍यो नि त। त्यसैले डरको कुरा त्यति हुँदैन रहेछ। मैले कति घाइतेसँग भेटें, त्यो लडाइँमा सामेल हुँदा निराशा हीनताबोध कहिल्यै पनि व्यक्त गर्दैन थिए। डायरीभित्र पनि घाइतेहरूसँगको कुराकानी देख्नुहुन्छ। जनयुद्धको मुख्य कार्य फौजी हो।

हामी वैकल्पिक मोर्चा कलमको मोर्चामा हुनेहरूसँग पनि लगभग त्यही किसिमको गौरवजस्तो हुन्थ्यो। अचम्म के हुन्थ्यो भने आफ्ना धेरै साथी आज भेटे पनि भोलि को कता पुग्ने हो पत्तो हुँदैनथ्यो। भोलि भेटेकाहरू पर्सि कहाँ कहाँ ? यो अनिश्चयको आन्दोलन, कहाँ गएर टुंगिन्छ ? हाम्रो जीवनकालमा सकिन्छ कि सकिँदैन ? सफलतामा पुग्छ कि पुग्दैन ? भन्ने जस्ता कुराको हिसाब हुँदो रहेनछ। एउटा निश्चित ‘मोटिभेसन’ हुँदो रहेछ। निजी कुराहरू निजी सपनाहरू एकदमै गौण हुँदा रहेछन्।

तपाईंले आफूलाई पत्रकार मात्र भन्नुहुन्छ कि युद्ध संवाददाता पनि ?

मैले बन्दुक बोकें तर अरूमाथि प्रयोग गर्न होइन। साथीहरू बेनीबाटै फर्कंदाखेरि धेरै मान्छेहरू घाइते थिए। बन्दुकको संख्या बढी थियो। बोकिदिने मान्छे थिएन। हामीले बोक्ने पनि गथ्र्यौं। कहिले कहिले स्वयंसेवककै रूपमा। युद्धभित्र एउटा पत्रकार, पत्रकारमात्रै भइरहन सक्दो रहेनछ। स्वयंसेवकमा समेत रूपान्तरित हुँदो रहेछ। योद्धा बन्ने कुरा अलग छ, बन्दुकै समातेर लड्न जाने त्यो अलग कुरा हो। तर सामान्य अवस्थामा स्वयंसेवकमा बदलिँदो रहेछ।

सेन्ट्रीमा बस्दा बन्दुक बोकें भन्नु भएको थियो नि ?
सेन्ट्रीमा बसे पनि बन्दुक बोकिनँ। सुरक्षा खतरा भयो भने दुःख गरेर संकलन गरेको बन्दुक गुम्न पनि सक्ने भएकाले बन्दुकभन्दा पनि बरु अरू कुराहरू ग्रिनेइटहरू बोक्छु भनेर ग्रिनेइट बोकेर सेन्ट्री बसेको कुरा चाहिँ मेरो किताबभित्रै भेटिन्छ।

जनयुद्धको २० वर्षपछि समग्र युद्धलाई विश्लेषण गर्नुपर्‍यो भने कसरी हेर्नुहुन्छ ?
अहिले पनि म त्यो २०५२ सालदेखि २०६२ सम्मको जुन चरण थियो, त्यो नेपाली इतिहासलाई उलटपुलट गर्न अनिवार्य आवश्यक थियो भन्नेमै छु। २० वर्ष पछाडि पनि मेरो बुझाइमा केही अन्तर छैन। किनकि नेपाल पछि पर्नुमा भनौं वा विश्व परिवेशमा नेपाल प्रगतिमा पछि पर्नुको कारण सामन्ती राजतन्त्र हो भन्ने जुन बुझाइ थियो, त्यो बुझाइमै छु। नेपालको इतिहासलाई नयाँ ठाउँमा पुर्‍याउन त्यो अनिवार्य परिघटना थियो। हरेक देशको जीवनमा पनि यस्ता घटना भएकै छन्। नेपालको इतिहासमा त्यो कम्युनिस्ट पार्टीको नेतृत्वमा भयो। 

माओवादीले नगरेको भए फेरि अन्य कुनै पार्टीको नेतृत्वमा वा गैरकम्युनिस्ट पार्टीको नेतृत्वमा यस्ता खालका सशक्त र सशस्त्र युद्ध गर्ने परिस्थिति आउँथ्यो भन्ने लाग्छ। किनभने राजतन्त्र जसलाई संवैधानिक राजतन्त्र २०४७ को संविधानमा भनिएको थियो। तर संवैधानिक मात्रै हैन, यो कुनै पनि बेला ठाउँ पायो भने निरंकुश हुन सक्छ भन्ने जुन व्याख्या थियो, त्यो आखिर पछि पुष्टि भयो। दरबार हत्याकाण्ड पछाडि पनि जुन ज्ञानेन्द्रले शासन लिए, उनले पनि त संवैधानिक रूपमै बस्न सक्ने सम्भावना थियो। तर त्यो बेला शान्तिपूर्ण संघर्ष गरिरहेका पार्टीहरू समेतलाई प्रतिबन्ध लगाएबाट के पुष्टि भयो भने नेपालको राजतन्त्र फौजी रूपमा धक्का दिएर मात्रै ढल्ने थियो, जुन जनयुद्धले गरिदियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.