मोरङमा आगोले बस्ती सखाप, सतार र मुसहरको बिजोग

मोरङमा आगोले बस्ती सखाप, सतार र मुसहरको बिजोग

विराटनगर : मोरङमा शनिबार बस्ती नै सखाप हुने गरी भीषण आगलागी भएको छ। सबै हिसाबले पिछडिएको सतार र मुसहर समुदायको बसोबास रहेको बस्ती आगोले स्वाहा बनाएको हो। 

रंगेली नगरपालिका–३ बाबु सहायक टोलका जंगली मुर्मूको गाई ग्वालीबाट दिउँसो २:३५ बजेतिर आगलागी सुरु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। प्रहरी, स्थानीय र दकमलको सहयोगमा ४:३५ बजेतिर आगो नियन्त्रणमा आएको उनको भनाइ छ। पश्चिमबाट चलेको हावाका कारण बस्तीको आगो नियन्त्रणमा लिन समस्या भएको थियो। प्रहरीका अनुसार २ घण्टाको अन्तरालमा आगोले खरानी पार्दा एउटा अति विपन्न बस्तीको उठिबास लागेको छ।  

एसपी कार्कीले २० वटा घर जलेर ध्वस्त भएको जानकारी दिए। उनका अनुसार बस्तीमा २४ परिवारको बसोबास थियो। पीडितले घरभित्र रहेका सामान निकाल्न पाएनन्। सुन चाँदी, नगद, लत्ताकपडासहित सबै धनमाल जलेर ध्वस्त भएको प्रहरीको भनाइ छ। शरीरमा लगाएका कपडा मात्रै बच्यो। धेरैजसोको शरीरमा सामान्य चिसो छल्न सक्ने कपडा पनि छैन। घरबाट मालसामान निकाल्न खोज्दा २९ वर्षीया तलाबेटी मुर्मू जलेर सामान्य घाइते भएकी छन्। उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ। 

आगोको उठिबास लगाएपछि जंगलीसहित तल्लु, भना, धारो, जुगल, मंगल, साइला, सञ्चराम, गम्बु, सुकदेव, राम मुर्मू तथा चन्द्र, सुकल, बासुदेव, चट्टा किस्कु एवं मनोज, बुद्दराय, मराहाङ हेमराम र सुमन सतार, सुकल हस्दा, लुकु टुडू तथा बाबूलाल बेश्राको परिवारको बिजोग भएको छ। पीडितको नामावली संकलन इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्दिराम चौलागाईं नेतृत्वको टोलीले गरेको हो। 

प्रहरीका अनुसार जंगली मुर्मूको ग्वालीबाट आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको कर्कट पाताको छाना भएको र सेन्ट्रीबेरा गरिएको १ तले घर तथा गाई ग्वाली ध्वस्त भएको छ। प्रहरीका अनुसार बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर थिए। केही घरहरू इँटाको सामान्य गाह्रो लगाएर बनाइएका थिए। बाँस, सन्ठी र पराल मिलाएर सेन्ट्रीबेरा गरिएका घरबाट आगो छिटो फैलिएको प्रहरीको भनाइ छ। 

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने एसपी कार्कीले बताए। अनुसन्धानपछि यकिन हुने उनको भनाइ छ। स्थानीयका अनुसार आगलागी सुरु भएको ग्वालीमाथि बिजुलीको तार लत्रिएको थियो। विद्युत प्राधिकरणको लापरबाहीले सिंगो बस्ती ध्वस्त भएको गुनासो स्थानीयले गरेका छन्। 

पीडितले प्रहरीलाई दिएको जानकारी अनुसार १५ दिनअघि पनि त्यही ठाउँमा विद्युत सर्ट भएर आगलागी भएको थियो। आगो आफूहरूले नै निभाएर तत्काल घटनाको जानकारी गराए पनि लत्रिएको तारलाई व्यवस्थित गर्नेतर्फ प्राधिकरणले चासो नदिएको गुनासो उनीहरुको छ। पीडितले यति ठूलो घटना हुनुमा विद्युत प्राधिकरणलाई दोषी देखेका छन्। 

सर्वस्व गुमाएका पीडितलाई नजिकैको खाली गाई फार्ममा लगेर राखिएको छ। पीडितको व्यवस्थापन र राहतका लागि स्थानीयदेखि प्रदेश सरकारसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। आगलागीपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, मन्त्रालयका सचिवसहित मोरङका सुरक्षा अधिकारी घटनास्थलमा पुगेका थिए। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको सक्रियतामा पीडितलाई खाद्यान्न, ओढ्ने, ओछ्याउने र खानेपानी वितरण गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार तत्कालका लागि १ परिवारलाई २/२ वटा ओढ्ने र ओछ्याउने कपडा तथा १० किलो चामल एवं १ काटुन पानी उपलब्ध गराइएको छ। 

नगरपालिकाले पनि राहत वितरण गरेको उनले बताए। प्रजिअ भट्टराईले आगोले सिंगो बस्ती नै खरानी बनाएको जानकारी दिए। क्षतिको विवरण यकिन भइनसकेको र संकलन जारी रहेको भट्टराईले बताए। उनले पीडितको उद्धार र राहलाई प्रभावकारी बनाइने जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.