‘हैन, आफू संलग्न देखिने गरी थोडा जो गर्छु र म। एउटा न एउटा बिंगा लगाएर कानुनी तरिकाले सजाय दिने हो नि ! जेलमा सडेपछि बल्ल चाल पाउँछन्।’ अकस्मात यो सोच आउन पुगेकोमा म मख्ख पर्छु। मित्र रोक्न खोज्दै थिए, म भने खुसी हुँदै हिँडे।
हुुन त बालशाखा हुन् तर के गर्ने सधैं मेरो आलोचना गर्छन्। मलाई सुधार्न खोज्छन्। उनी सुध्रिएको कि म ? मलाई त मै सुध्रिए जस्तो लाग्छ। उनी सुध्रिएको भए त्यो हविगत कसरी हुन्थ्यो उनको। मुस्किल मुस्किलले डाडुपन्यु हल्लाउन पाउँछन् उनका घरमा। रिस त उठ्छ नि उनीसँग। तर, बालशाखा ! आँत जोडिएजस्तो। रिसाएर पनि धर पाउँदिनँ।
त्यसमाथि बिना कुनै स्वार्थ मेरो कुरा पूरै सुनिदिन्छन्। त्यति विधि धैर्यता छ उनीमा। बिनास्वार्थ बिनाआश अचेल त्यसरी अर्काको कुरा सुनिदिने मान्छे कहाँ भेटिन्छ र ! अस्ति म सन्केर हिँडेकोमा त्यसैले नमजा पनि लागिरहेथ्यो। भैगो, जाउँ भनेर म उनको घरतिर लस्किएँ। पहिला जस्तै बेरोकटोक उनका कोठामा पसें। उनले मुस्कुराउँदै स्वागत गरे, अस्तिको कुरा बिर्सिए झैं गरेर।
उनले मुख खोल्नुभन्दा अगाडि सुरु गरेँ, ‘हेर न, मान्छेहरू सामाजिक सञ्जालमा होस् वा भाषणमा, अचेल मेरै खेदो खन्छन्। मेरो मात्र हो र मेरो परिवारको समेत खेदो खन्छन्, आलोचना गर्छन्। त्यो पनि अत्यन्त कटु शब्दले। कम्ता रिस उठ्छ र ? कम्ता चित्त दुख्छ र मेरो ? त्यस्तो गर्न त पाइँदैन नि।’ उनले मुस्कुराएर भने, ‘हेर, जति आलोचना भयो त्यति आफू ठूलो मान्छे भएछु भन्ने ठानेर मक्ख पर न। साना मान्छेको कसले आलोचना गर्छ र ? त्यसमाथि लोकतन्त्रमा त बोल्न पाइन्छ नि !’
अलि कड्किएर भनेँ, ‘बोल्न पाइन्छ भन्दैमा अर्काको हुर्मत नैं निमिट्यान्न पार्ने गरी बोल्न लेख्न पाइन्छ ? बिचरा मेरा निमुखा परिवारलाई समेत छाडेका हैनन्। हेर न मैले तिनलाई जान्या छु। म केसम्म गर्न सक्छु भन्ने तिनलाई देखाइदिनेछु।’ उनले सम्झाउँदै भने, ‘आवेशमा नआउ न मित्र। आवेशमा कुनै काम नगर। त्यसको प्रतिफल राम्रो हुँदैन।’
क्रोधित मुद्रामा मैले भनें, ‘राम्रो भए हुन्छ, नभए हुँदैन। म छाड्नेवाला छैन।’ उनले नरम भएर सम्झाए, ‘हेर, मित्र भएकाले मैले तिमीलाई त्यसो भनेको हुँ। मेरो बालसखामाथि कुनै विपद् नआओस् भनेर बुझाउन खोझ्दैछु, तिमी त्यस्सै जंगिन्छौ।’
आफूलाई सम्हाल्दै भनेँ, ‘ल तिमी आफैं भनन मित्र। त्यत्रो बद्ख्वाईं, त्यत्रो बेइज्जत गर्दा पनि चुप्प लागेर बस्नेँ ?’ मित्रले भने, ‘हेर, जनताले सबै निगरानी गरिराखेका हुन्छन्। तिम्रो न कुनै उद्योगधन्दा छ न कुनै व्यवसाय। हिजो तिम्रो गति के थियो आज के छ ? तिम्रो हिजोको रहन–सहन र आजकोमा आकाश–जमिन फरक भैसक्यो। अनि आलोचना गर्दैनन् त ?’सम्हालिएरै भनेँ, ‘हैन, जोगी हुन मैले राजनीति गरेको हो र ? तिमी नैं भन त मैले चाहिँ जिन्दगीभर दुःखै पाइरहनु पर्ने ?’ उनले सरल भावले भने, ‘चोखो व्यापार व्यवसाय गरेर बस्नु पथ्र्यो नि त। राजनीतिमा लागेर त्यसो गर्नु हुँदैनथ्यो। हेर, कस्ता कस्ता सपनाको पछ्यौरी ओढाएर मन जित्यौ। अहिले त्यही कुरा भुल्न त भएन नि !’
मजाले जवाफ दिन मन लाग्यो। भनिदिएँ, ‘हेर, तिमी मेरा मित्र हौ। तिमीले मलाई जे भन्ने पनि हक छ। त्यसमाथि तिमीले समाजमा मेरो बदख्वाई गरेका पनि छैनौ। तिनीहरूलाई त म छाड्दै छाड्दिनँ। मेरो अथवा मेरो परिवारको बिरोध गर्नु भनेको लोकतन्त्रको बिरोध गर्नु हो। त्यस्तालाई त्यसै कहाँ छाड्छु र म ? पहिले पहिले भए म जस्तोलाई त परै जावस् परिवारलाई समेत केही भन्न पाइँदैनथ्यो। सजाय भैहाल्थ्यो। अहिले कस्तो अराजकता हो। यसै छाड्ने हो भने अराजकता झन् झन् बढ्छ। मैले सजाय त दिनै पर्छ। सुरुमै सजाय दिनुभन्दा धम्की दिएर हेरौं। त्यसले काम भयो भने व्यर्थमा किन सजाय तोक्नु।’
मित्रले उदेक माने झैं गरी भने, ‘धम्की दिने रे ! कस्तो गैरजिम्मेदार कुरा गर्छौ तिमी ? तिम्रो स्तरको मान्छेले त्यसो गर्नु हुन्छ ?’ मैले सजिलै भनिदिएँ, ‘मैले दिने हो र ? मेरा आफन्तले दिन्छन् नि ! ’ उनले सुझाव दिए, ‘हेर, लोकतन्त्रमा त्यस्ता काम गर्यौ भने झन् बदनाम हुन्छौं। नगर त्यस्तो काम। लेख्दा बोल्दा पनि धम्की र सजायका कुरा गर्न हुन्छ ? त्यस्तो काम नगर मित्र।’
‘हैन, आफू संलग्न देखिनेगरी थोडा जो गर्छु र म। एउटा न एउटा बिंगा लगाएर कानुनी तरिकाले सजाय दिने हो नि ! जेलमा सडेपछि बल्ल चाल पाउँछन्।’ अकस्मात यो सोच आउन पुगेकोमा म मख्ख पर्छु। मेरा मित्रले त्यसो नगर्न कति सम्झाए। म चैं यही सोचलाई यथार्थमा बदल्ने निश्चय गरेर मख्ख पर्दै हिँडेँ। मित्र रोक्न खोज्दै थिए, म भने खुसी हुँदै हिँडे।