पर्सामा फेरि बाघको आक्रमणबाट एक महिलाको मृत्यु
वीरगन्ज : पर्साको ठोरीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट ठोरी गाउँपालिका-४ मालीबस्तीकी ४० वर्षीया कलावती सुवेदीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मालबस्ती गाउँ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला सोमबार साँझ ४:३० बजेतिर जंगलबाट आएको बाघले आक्रमण गर्दा सुवेदीको मृत्यु भएको हो।
आक्रमण गर्ने बाघ भने जंगलतिर भागेको स्थानीयले बताएका छन्। महिलाको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए।
एक महिनाभित्रै पर्सामा बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि पटेर्वा सुगौली गाउँपालिकामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको थियो।
पर्साको ठोरी, पटेर्वा सुगौली र सखुवा प्रसौनी गाउँपालिकाका विभिन्न गाउँमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको छ। आतंक मच्चाउने दुई बाघमध्ये भाले पाटे बाघलाई गत बिहीबार मात्रै तीनवटा हात्तीको मद्दतमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त प्राविधिक टोलीले सखुवा प्रसौनी गाउँपालिकास्थित उखुबारीबाट डाट हानेर नियन्त्रणमा लिएको थियो। पोथी बाघलाई नियन्त्रणमा लिन भने उक्त टोली असफल भएको थियो।