जताततै दलालको दबदबा

जताततै दलालको दबदबा

एक मन्त्री छिमेकी देश भारतको विहार भ्रमणमा गएछन्। त्यहाँका एक वरिष्ठ नेताले उनको सम्मानमा एक भव्य रात्रिभोज आयोजना गरेछन्। त्यो देखेर दंग पर्दै मन्त्रीले सोधेछन्, ‘यति ठुलो भोज ? यत्रो खर्च कसरी जुटाउनु भयो ?’ नेताले झ्यालबाट टालटुल गरेको सडक देखाउँदै भनेछन्, ‘१० प्रतिशत।’ केही समयपछि ती नेता मन्त्री महोदयको निमन्त्रणमा उनको देशमा आएछन्। आफ्नो सम्मानमा ती मन्त्रीले आयोजना गरेको झन् ठुलो रात्रिभोज देखेर ती नेता तीनछक्क पर्दै सोधेछन्, ‘यत्तिका खर्च ? यस्तो गरिब देशमा पनि यो कसरी सम्भव भयो हँ ? कतै १० प्रतिशतकै करामत त होइन ?’

नेताको कुरा सुनेर ती मन्त्रीले उनलाई हातमा समाएर झ्यालतिर लगेछन् र एउटा ठुलो खोला देखाउँदै भनेछन्, ‘तपाईंले ऊ त्यो खोला देख्नु भयो ?’ नेताले भनेछन्, ‘अँ, देखें, देखें।’ ‘अनि त्यो खोलामाथिको एउटा विशाल पुल देख्नुभयो ?’, नेताले आश्चर्य मान्दै भनेछन्, ‘अहँ, त्यहाँ त पुल नै छैन त ?’ अनि ती मन्त्रीले छाती फुलाउँदै गर्वका साथ भनेछन्, ‘१०० प्रतिशत।’ यो जोक होइन, यथार्थ हो। भ्रष्टाचारको मामलामा ठिक यस्तै छ नेपालमा। यसरी सिन्को पनि नभाँची पूराका पूरा घोटाला गर्ने यस्ता भ्रष्टमन्त्री महोदयलाई के उपनाम दिने ? चोर वा कामचोर वा कमिसनखोर ?

कमिसनखोरलाई आमभाषामा दलाल भन्ने गरिन्छ। दलाल नेपाली समाजका लागि कुख्यात नाम हो। यो कुख्यात नामले जनमानसको हेराइमा कामदार विदेश पठाउने, चेलीबेटी बेचबिखन गर्ने तथा जग्गा खरिदबिक्री गर्ने मानिसलाई जनाउँछ। तर आँखा उघारेर हेर्ने हो भने यसको क्षेत्र व्यापक र विस्तृत छ। यसका अनेकौं रूपरंगहरू छन्। वास्तवमा हरेक पेशा र व्यवसायमा यो कुख्यात नामले अड्डा जमाएको छ। जताततै दलालको दबदबा छ। तर यस कुराप्रति आमजनमानस अनभिज्ञ छन्। एकपटक गहिरिएर सोचौं त, दलाल र दलाली कुन पेशा र व्यावसायमा छैन ?

दलाल शब्दको शाब्दिक अर्थ हो, आफू बीचमा परी किन–बेच–लिनु–दिनु गराएर नाफा लिने व्यक्ति, बीच, मध्यस्थ, लमी, कुटिनी। दलाललाई कमिसनखोर भन्न पनि सकिन्छ। यसर्थ, कमिसन खाने सबै दलाल हुन्। त्यसैले कमिसन खाने प्रधानमन्त्री तथा मन्त्रीहरू दलाल हुन्। ठेक्कापट्टाको सिनो लुछ्ने नेता र कार्यकर्ताहरू पनि दलाल हुन्। घुस खाने कर्मचारी वा पैसामा बिक्ने पत्रकार, लेखक, वकिल र न्यायाधीश पनि दलाल हुन्। त्यत्तिमात्र होइन, समाजले ठुलो प्रतिष्ठा दिएका चिकित्सक, जसले निजी क्लिनिक खोलेर प्याथोलोजीबाट, औषधि आदिबाट मोटो कमिसन (५० देखि ८० प्रतिशत) खाएर विरामीको डाढ भाँच्छन्, उनीहरू पनि दलाल नै हुन्।

हो, क्लिनिक खोलेर बसेका थुप्रै चिकित्सकले यसरी नै दलाली गरिरहेछन्। कतिपय चिकित्सकले त साधारण रुघाखोकी लागेको बिरामीलाई समेत ईसीजी, सोनोग्राफी तथा इन्डोस्कोपी गराएर तथा बाह्रथरीका रगत टेष्ट गर्न लगाएर तथा पर्चीभरि औषधि लेखेर ठुलो कमिसन कुम्लाइरहेका छन्। वास्तवमा धेरै क्लिनिकमा नांगो लुट छ। तर सत्तामा जुन सरकार आए पनि यो नांगो लुटलाई खुलेआम छुट छ। त्यो किनभने हरेक सरकारले नै सत्ता र कमिसनको दलाली गरिरहेछन्। वास्तवमा नेपालमा बसपार्कको फुटपाथदेखि सिंहदरबारको सत्तासम्म दलाल र दलाली छ।

नेपालमा जुन सरकार आए पनि राजनीतिको ठाउँमा दलाली गरेका कारण नै दलाल र दलाली यसरी मौलाएको हो। शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत यसरी दलाल र दलाली प्रष्टाउनु लुटतन्त्रको दृष्टान्त हो। यो भन्दाबढी शर्मनाक कुरा के हुनसक्छ ? स्वास्थ्य र शिक्षा क्षेत्रमा मौलाएको यस्तो लुटतन्त्रले गर्दा नै कलिला बालबालिकाले आफ्नो तौलभन्दा बढी वजनको किताबको भारी बोक्न बाध्य छन्। बिरामीले घरखेत गरेर औषधोपचार गराउनु परेको छ। दुर्गम ठाउँका मानिसले सिटामोल समेत खाना नपाएर मर्नु परेको छ। हिजोआज यहाँ जुनसुकै काम गर्न घुस दिनु परेको छ। नागरिकता निकाल्दा पनि घुस। पासपोर्ट बनाउन पनि घुस। कर तिर्दा पनि घुस। जग्गा नपाउँदा पनि घुस। जग्गा दर्ता गर्दा पनि घुस। घरको नक्शा पास गर्दा पनि घुस। बिजुलीको मिटर राख्दा पनि घुस। पानीको धारामा पनि घुस। पढ्न पनि घुस। जागिर खान पनि घुस। ड्राइभिङ लाइसेन्स बनाउँदा पनि घुस। हस्पिटलमा भर्ना हँुदा पनि घुस। कुटिर धन्दा गर्न पनि घुस। विदेश जान खोज्दा पनि घुस।

घुस दिएर पनि काम बने त हुन्थ्यो ? तर अहिले त घुस दिएर पनि काम बन्दैन। त्यसैले हिजोआज यहाँ इमानदारिताको परिभाषा नै अर्कै भएको छ। यहाँ इमानदार मानिस त्यो हो, जसले घुस खान्छ र काम गरिदिन्छ। एउटा बेइमान व्यक्तिले त मोटो घुस टन्न खाएर पनि कहाँ काम गरिदिन्छ र ? समष्टिमा भन्नुपर्दा गणतन्त्रको नाममा संस्थागत हँुदै गएको लुटतन्त्रमा अहिले दलाललाई हिराकटाइ छ। सुशासनको डिंग हाँक्ने नेताहरूले गुन्डाहरू पाल्छन्। कुर्सीका लागि कमिसनखोर पोस्दा गुन्डा र दलालहरू यत्ति बलिया भएका छन् कि चोर, कामचोर र कमिसनखोरहरू बिना न पार्टी चल्छ, न त देश।

पानीमात्र होइन कि अब त सास पनि किन्नुपर्ने स्थिति आइसकेको छ। त्यसैले देशलाई बचाएर विकासपथ अगाडि बढाउने हो भने नेपालमा मौलाएका चोर, कामचोर र कमिसनखोरहरू र राजनीतिका नाउँमा दलाली गर्दै आएका पार्टी तथा नेताविरुद्ध एकजुट भएर उठ्नु आवश्यक छ। यो देशको बागडोर अक्षम दलाल नेताहरूको हातबाट सक्षम, पारदर्शी, भिजनरी तथा इमानदार नेताको हातमा आएको खण्डमा यो देश सुन्दर, शान्त र समृद्धिशाली हुन धेरै समय लाग्दैन। तर नेपाल र नेपालीको बिडम्बना के भने ८४ को निर्वाचनले पनि नेपाल र नेपालीमा आशा र उत्साह जगाउने सक्षम नेता दिने देखिएको छैन। विभिन्न कारणले जनतामा झनै आक्रोश र निराशा बढेको छ। बढ्दै जाँदा जुनसुकै बेलामा पनि बिस्फोट हुन सक्छ। त्यसैले हाम्रै पालामा समृद्धि सपना सजाएका इमान्दार युवा जुर्मुराएर आआफ्ना दलमा हस्तक्षेप गर्नुपर्‍यो। र, देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनु पर्‍यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.