विकासका कुरा

व्यंग्य

विकासका कुरा
सुन्नुहोस्

आज बिहानै म मित्र सुपर्णखाकहाँ पुगें क्रुद्ध मुडमा। कोठाभित्र पस्नेबित्तिकै आफ्नो क्रोधित मुद्रा प्रदर्शित गर्दै भनें, ‘बुझ्यौ म कसैलाई छाड्दिनँ। के ठानेका छन् तिनीहरूले ?’

अचम्म मानेर उनले बिस्तारै सोधे, ‘के भयो ? किन 
रन्किएको ? कोसँग रन्किएको ? मसँगै हो कि क्या हो ?’

मैले अलि नरम हुँदै जवाफ दिएँ, ‘तिमीसँग किन रन्किने ? तिमीले मेरो के बिगारेका छौ र ! त्यसमाथि म कहिले तिमीसँग रन्किएको छु ?’
कुनै कुनै बेला रन्किएको त छु तैपनि भनिदिएँ। उनले यस कुरामा प्रतिवाद गरेनन्।
‘हैन, अनि मलाई देख्नेबित्तिकै रन्कियौ त !’, उनले भने।

मैले भनें, ‘हेर न, हेप्नुको पनि सीमा हुन्छ नि। संख्यामा कम भएर के भो त। हामी नभै ल डेक चलुन् त। देखाइदिन्छौं हामी तिनका ताईं। के सम्झ्याछन् तिनीहरूले हामीलाई ?’
मैले के भन्न खोजेको हो कसलाई भन्न खोजेको हो उनले कुरै क्यै बुझेनछन् क्या र, जिल्ल परेर एकोहोरो मलाई हेरिरहे लाटाले केरा हेरेको भन्ने हाम्रो उखान जस्तो।
म चैं फतफताउँदै रहें, ‘सम्मान भएन, हाम्रो सम्मान नैं भएन। सम्मान नभएपछि कहाँ छाड्छु र त्यसै।’ यसरी फत्फताइरहेकोमा अलिअलि लाज पनि लाग्यो।

उनले सोधे, ‘कुरा स्पष्ट भन न, मैले त केही बुझिनँ। वास्तविक कुरा के हो ?’
अब अलि शान्त भएर मैले भनें, ‘हेर न हामी संख्यामा कम छौं भनेर हाम्रो भाग पनि हसुर्न खोज्छन्। हामीलाई माइनस गरेर भागबन्डा गर्ने रे ! त्यस्तो हुन कहाँ दिन्छु र म। हामीलाई कमजोर ठान्ने ! तिनका लुटलाई असफल बनाइदिन सक्ने शक्ति हामीसँग छ। फुईं खोज्ने ? आफैं मात्र हसुर्ने ? त्यस्तो हुन कहाँ दिन्छु र म !’

उनले बिस्तार सोधे, ‘हैन, तिमीहरू भागबन्डामा मात्र रमाइरहने, निजी स्वार्थसिद्ध गर्न मात्र मिल्ने वा लड्ने गर्ने कि देश र जनताको हितका निम्ति सोच्ने वा मिल्ने र तिनकै भलोको निम्ति गर्नुपरे झगडा गर्ने काम गर्ने ?’

मैले भनें, ‘आदर्शका कुराले न त काम बन्छ न केही फाइदा हुन्छ, त्यो त किताबमा लेखिने र पढिने कुरा मात्र हो। पण्डितले किताबको भन्टा पो खान नहुने भनेको त साँच्चिकैको भन्टा खान नहुने भन्या हो र भनेर पण्डितनीलाई भने जस्तै।’
‘भनेपछि देश विकास र जनताको विकास भर्सेलैमा परोस् ?’, उनले व्यंग्य कसे।

मैले मुस्कुराउँदै जवाफ दिएँ, ‘हेर, मेरो विकास भएपछि मेरो परिवारको हुन्छ। मेरो कार्यकर्ताको विकास भयो भने तिनका परिवारको विकास हुन्छ। यसरी व्यक्तिव्यक्ति विकास भएपछि समाजको विकास हुन्छ अनि समाजको विकास भएपछि राष्ट्रको विकास हुँदैन त ? यति सजिलै विकास हुने कुरामा किन माथापच्ची गरिराख्ने ?’

बानीअनुसार उनलाई सन्का छुट्ने स्वाभाविकै भयो, चर्किंदै भने, ‘तिम्रा कार्यकर्ताको विकास भयो भन्दैमा सबै जनताको विकास हुन्छ ? यस्तो वाहियात कुरा पनि गर्न सक्छौ भन्ने मैले त सोचेकै थिइनँ। तिम्रो त भएको बुद्धि पनि भ्रष्ट भएछ।’
मैले पनि च्याट्ठिँदै भनें, ‘किन हुँदैन ? जान्नु पर्‍यो नि त। कराएर मात्र हुन्छ र विकास ? विकास चाहने हो भने बन्नुपर्‍यो नि त कार्यकर्ता। त्यसै हुन्छ त विकास ?’
‘ए, त्यसो भए कार्यकर्ता नभए विकास नै नहुने ?’, उनले पनि जंगिँदै भने।

मैले मुस्कुराएर टाउको हल्लाएँ। उनले थपे, ‘ए त्यसो भए विकास गर्नका लागि सम्पूर्ण जनता पार्टीको कार्यकर्ता हुनैपर्ने ?’
मैले पनि मुस्कुराउँदै भनिदिएँ, ‘विकास चाहने हो भने त्यो बाहेक अर्को उपाय छैन। यसमा कसैको दुई मत हुनै हुँदैन।’
उनलाई झोक चलेछ क्या र, बोल्दै नबोली लागे आफ्नै घरतिर।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.