वीरगन्जमा ब्राउन सुगरसहित चार जना पक्राउ
वीरगन्ज : वीरगन्जबाट प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको हो।
वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकमा प्रहरी चौर्की ईनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका-१७ का २४ वर्षीय अमित गुरुङ र २४ वर्षीया सुनिता विकलाई १ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।
यस्तै वीरगन्ज महानगरपालिका-१५ स्थित सडकमा प्रहरीले बा ९५ प २३०३ नम्बरको स्कुटी रोकेर चेकजाँच गर्दा त्यसमा सवार दुई युवकपनि खैरो हेरोइनसहित पक्राउ परेको थापाले बताए। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका-५ का २४ वर्षीय सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाउँपालिका–२ का १९ वर्षीय विजय साह रहेका छन्। उनीहरूको साथबाट पनि १ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
खैरो हेरोइनसहित पक्राउ परेका चारै जना विरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए।