प्रकोपले बदलियो खेती प्रणाली

प्रकोपले बदलियो खेती प्रणाली
चैते धान खेती लगाउँदै किसानहरू। परमानन्द पाण्डे

टीकापुर : जलवायु परिवर्तनका कारण हुने प्राकृतिक प्रकोपले सधैं विनाश मात्रै गर्दैन। प्रकोपले कहिलेकाहिँ राम्रो अवसर पनि सिर्जना गर्छ भन्ने उदाहरण हो, कैलालीको भजनी नगरपालिकामा लगाइएको चैते धान खेती। 

जलवायु परिवर्तन तथा वन विनाश जस्ता कारणले बर्सेनि प्राकृतिक प्रकोपबाट डुबानमा पर्दै आएको भारतीय सीमावर्ती भजनी नगरपालिकाको डुबान क्षेत्रको खेती प्रणाली नै बद्लिएको छ। दशक अघिसम्म उखरमाउलो चैत र वैशाख महिनाको गर्मीमा प्रायः बाँझो रहने भजनीका फाँटहरूमा यतिबेला चैते धान खेती लहराई रहेको छ। यहाँका 

किसानहरूले बाढीबाट बर्सेनि प्रभावित हुन थालेपछि खेती प्रणाली नै बद्लिएका छन्।  वर्षायाममा बाढी आएर बाँझो रहने जमिनमा उनीहरू तोरी रोप्छन्। फागुन महिनामा तोरी निकालेपछि ती फाँटहरूमा चैते धान खेती लगाउँछन्। यहाँका किसानहरू गर्मी सहन सक्ने, बाढीको प्रकोपले असर नगर्ने, चिउरा आदि बनाउनका लागि सहजै बिक्री गर्न सकिने चैते धान खेती लगाई रहेका छन्। 

किसानहरूले सिँचाइको सामान्य सुविधामा नै खेतबारीमा फागुन अन्तिममा  लगाएर असारमा भित्र्याउन मिल्ने चैते धान लगाउन थालेका हुन्। पालिका भएर बग्ने मोहना नदी, पथरैया, काँढा र कान्द्रा लगायतका साना ठूला नदीहरूले बाढीको उच्च जोखिममा रहेको वडा नम्बर ३ र ८ का अधिकांश किसानहरू यतिबेला चैते धान लगाई रहेका छन्। 

भजनी नगरपालिका-८ का किसन चौधरीले वर्षायाममा लगातार बाढी आउन थालेपछि खेती प्रणाली नै परिवर्तन गरेर विगत ११ वर्षदेखि चैते धान खेती गर्दै आएको बताए।  ‘हामी ८ जनाको परिवारमा छौं, तीन विघा जमिनमा ११ वर्ष जति भयो, चैते धानखेती लगाई रहेका छौं’ उनले भने ‘हाम्रो वडाभरि नै चैते धान खेती लगाउने किसानहरू बढ्दै गइरहेका छन्, हामीले खेती प्रणाली नै परिवर्तन गरेका छौं।’ 

भजनीकै वडा नम्बर ३ का पवित्रा चौधरीको परिवार समेत विगत छ वर्षदेखि चैते धानखेती गर्दै आइरहेका छन्। ९ जनाको संयुक्त परिवार कृषि उत्पादनकै भरमा चलाउँदै आएका बताउने पवित्राले आफ्नो सहित अन्य किसानको जग्गामा समेत चैते धानखेती लगाउँदै आएकी छन्। 

कैलालीमा अत्यधिक डुबान हुने क्षेत्रका रुपमा रहेको उनको खेतमा बाढीका कारण फल्नै आँटेको फाँटमा बालुवा पाटिन्छ त कहिले भित्र्याउने समयमा सोत्तर पार्छ। डुबानको यही समस्याबाट गुज्रिरहेको पवित्राको परिवारका लागि अहिले चैते धान खेती मुख्य आम्दानीको मुख्य श्रोत बनेको छ। ‘आफ्नो तीन विघासहित अरूको ठेक्का र अधियाँ गरी दश विघामा चैते धान लगाइरहेका छौं’ पवित्राले भनिन् ‘वर्षामा लगाउने हो भने बाढीले लगानी समेत उठ्दैन, गहुँ लगाउँदा जंगली जनावरले खाइदिन्छ, त्यही भएर फागुनमा चैते धान लगाई रहेका छौं।’

बाढीका कारण वर्षे धानखेतीमा बर्सेनि क्षति पुग्न थालेपछि वैकल्पिक खेतीका रुपमा चैते धान खेती गरिरहेका किसानहरू स्थानीय सरकार, प्रदेश सरकारले चैते धान खेतीमा सहयोग गर्न थालेपछि व्यावसायिक रुपमै चैते धानखेती गरिरहेका छन्। 

भजनी नगरपालिका वडा नम्बर ८ का किसान प्रमोद सुनारले सिँचाइ, मलखाद, बिउमा पालिका र कृषि ज्ञान केन्द्रले सहयोग गर्न थालेपछि किसानहरूको आकर्षण बढ्दै गएको बताए। ‘पानीका लागि डिजल चाहियो, मलखाद पनि बेमौसम भएको हुनाले नपाइने समस्या हुन्थ्यो’ सुनारले भने ‘सबै ठाउँमा विद्युत पनि पुगेको छ, सिँचाइका लागि मोटर, मलखाद र बिउमा ज्ञान केन्द्रले सहयोग गरेपछि यहाँका अधिकांश किसान चैते धान खेती लगाइरहेका छन्।’

भजनी नगरपालिकाका कृषि अधिकृत सुशोधन अधिकारीका अनुसार पालिकाका वडा नम्बर ३, ६ र ८ को झण्डै १ हजार बढी हेक्टर जमिनमा चैते धान खेती भइरहेको छ। ‘डुबान क्षेत्र भएकाले पनि चैते धान खेती गर्ने किसानहरू बढिरहेका छन्, प्रधानमन्त्री आधुनिक कृषि परियोजना, सुदूरपश्चिम प्रदेशको कृषि ज्ञान केन्द्र कैलालीले समेत चैते धान खेती प्रवर्द्धनका लागि कार्यक्रमहरू गरिरहेका छन्’ कृषि अधिकृत अधिकारीले भने ‘यहाँको माटोमा समेत चैते धानखेती राम्रो हुँदै गइरहेको हुनाले पालिकाले समेत प्राविधिक सहयोग गर्दै आइरहेको छ।’

भजनी नगरपालिकामा झण्डै ११ हजार हेक्टर कृषियोग्य जमिन छ। पालिकाका अनुसार वर्षायाममा झण्डै ३ हजार जमिन बाढीको समस्याका कारण बाँझो रहने गरेको छ। कृषि अधिकृत अधिकारीले भने ‘अन्य वडामा पनि चैते धान खेती हुँदै आएकोमा वडा नम्बर ३ र ८ लाई चैते धान खेती जोनकै रुपमा खेती विस्तार भइरहेको छ।’

पालिकाका नगर प्रमुख केबल चौधरीले चैते धान खेती विस्तारका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युतीय पोल र तार विस्तारका लागि झण्डै २ करोडको सम्झौता प्रक्रिया बढाइएको बताए। ‘बाढी प्रभावित क्षेत्रमा पर्याप्त मात्रामा चैते धान खेती विस्तारका लागि सिँचाइ सुविधा पुर्‍याउन हामीले विद्युत प्राधिकरणसँग सम्झौता प्रक्रिया अगाडि बढाएका छौं’ नगर प्रमुख चौधरीले भने ‘चैते धान खेतीलाई वर्षे खेतीकै रुपमा विकास गर्ने पालिकाको योजना छ।’

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार बाढीबाट डुबानमा जोखिममा परेका भजनी नगरपालिकासहित कैलालीमा टीकापुर, घोडाघोडी नगरपालिका, जानकी, जोशीपुर, बर्दगोरिया र कैलारी गाउँपालिकामा चैते धान खेती हुँदै आएको छ। सिँचाइको सुविधा भएका किसानहरूले तोरी निकालेपछि लगाउने हुनाले किसानका लागि चैते धान खेती अतिरिक्त आम्दानीको श्रोत बनेको कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले बताए।  ‘बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरिएको छ’ कृषि प्रसार अधिकृत चौधरी भने, ‘भजनी कैलालीको सबैभन्दा बढी चैते धान लगाउने पालिका हो। वर्षातमा बाढीले जलमग्न हुने भएकाले चैते धान विकल्पका रुपमा गर्ने गरिएकोमा आम्दानी राम्रो हुन थालेपछि किसानहरू आकर्षित भइरहेका छन्।’

सिँचाइ सुविधा पुर्‍याउन सके चैते धान खेतीको उत्पादन प्रतिहेक्टर ६० क्वीन्टलसम्म रहेको बाली विकास अधिकृत चौधरीले बताए। कृषि ज्ञान केन्द्रका अनुसार कैलालीमा १ हजार १ शय हेक्टर जमिनमा चैते धान खेती हुँदै आएको छ भने ५ हजार ७ शय २० मेटिक टन चैते धान उत्पादन हुँदै आएको छ। चिउरा उत्पादनका लागि राम्रो मानिने हुनाले चैते धान बिक्री गर्न समस्या नरहेको किसानहरू बताउँछन्। बाढी प्रभावित क्षेत्रका किसानका लागि आम्दानीको मुख्य श्रोत बन्दै गएको चैते धान खेती विस्तारका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने किसानहरूको माग छ।

जलवायु तथा विपद् विज्ञ डाक्टर धरमराज उप्रेती विपद्ले क्षति मात्रै गर्दैन् कहिलेकाहिँ अवसर पनि सिर्जना गर्छ भन्ने उदाहरण चैते धान खेती भएको बताउँछन्। ‘हरेक वर्ष बाढीले धान बगाउने, किसानले दुःख पाउने हुनाले चैते धान खेतीमा किसानका आकर्षण बढेको हो’ डाक्टर उप्रेतीले भने ‘जलवायु परिवर्तनका कारण मौसमी प्रणाली नै पछाडि धकेलिएको छ, यसले खेती प्रणालीमा समेत परिवर्तन गर्नुपर्ने आवश्यकता भइरहेका बेला चैते धान खेती त्यसको उदाहरण हो।’

बाढी प्रकोपबाट प्रभावित भएका अन्य पालिका तथा जिल्लामा समेत सिँचाइको सुविधा पुर्‍याएर चैते धान खेती विस्तार गर्न सकिने डाक्टर उप्रेतीले बताए। ‘चैत, वैशाख सुक्खायाम हुनाले सिँचाइको सुविधा गर्न सके बाढी प्रभावित क्षेत्रका किसानका लागि चैते धान उत्तम विकल्प हो, किसानले फाइदा पनि लिइरहेका छन्, यसको विस्तारका लागि सबै तहले योजना बनाउन आवश्यक छ।’ बाढी प्रकोपबाट आक्रान्त बनेका कैलालीको दक्षिणवर्ती क्षेत्रका किसानहरू चैते धान खेतीलाई मुख्य आम्दानीको श्रोत बनाइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.