त्रियुगामा अनिवार्य करेसाबारी
उदयपुर : स्वस्थकर खानाका लागि उदयपुरको त्रियुगा नगरपालिका-१० ले सबै घरमा अनिवार्य करेसाबारी कार्यक्रम सञ्चालनमा ल्याएको छ।
बजारको विषालु खानालाई प्रतिबन्ध लगाउँदै वडाले सबै घरमा करेसाबारी निर्माण गरी अनिवार्य तरकारी खेती लगाउने गरी कार्यक्रम अघि सारेको हो। त्यसका लागि प्रत्येक घरमा टोलविकास संस्थामार्फत विभिन्न प्रकारका तरकारीका बिउविजन वितरण गर्न सुरु गरेको वडाध्यक्ष किरण पाण्डेले बताए। उनले भने, ‘करेसाबारीले एकातर्फ अर्गानिक तरकारी खाएर स्वस्थ बन्न र अर्कोतर्फ बढी भएको बिक्री गरी आयआर्जनमा सहयोग पुग्ने छ।'
उनका अनुसार १ हजार ८ सय २७ परिवारका लागि टोल विकास संस्थामार्फत ६ प्रकारका तरकारीको बिउ उपलब्ध गराइएको छ। करेसाबारी खेतीका लागि चालु आर्थिक वर्षमा ३ लाख रुपैयाँ बजेट विनियोजन गरी सुरुवात गरेको उनले बताए। उनले आगामी वर्ष यसको प्रतिफल हेरी बजेटको आकारलाई वृद्धि गरिने बताए। पाण्डेले थपे, ‘कार्यक्रम हटाउने कुरा भएन निरन्तरता दिन यसको प्रतिफल र नयाँ विकल्पहरू समेत खोजिने छ।'
उनले सबै वडावासीलाई समानुपातिक रुपले बिउ वितरण गरिएको बताए। ‘स्वस्थकर खाना र समाजमा रहेको गरिबीपनलाई हटाउन साथै सानोतिनो आर्थिक गर्जो टार्न यसले सहयोग पुग्छ,' वडाध्यक्ष पाण्डेले भने, ‘बाँझो जमिन सुक्खा राख्दा दैनिक तरकारी किनेर खानु पर्ने परिपाटीको विकास हुँदै गएकाले पनि यो कार्यक्रम लागु गरिएको हो।'
घर वरपरको थौरै ठाउँमा पनि लगाउन सकिने बोडी, काँक्रो, घिरौला, करेला, लौका र फर्सीको बिउ वितरण गरिएको उनले बताए। त्रियुगा नपाका कृषि विकास शाखाका प्राविधिक सोमबहादुर दनुवारले रासायनिक मललाई प्रतिस्थापन गर्न घरायसी झोलमलको विषादी बनाउन सुरु गरिएकाले अर्गानिकतामा जोड दिन आग्रह गरे। उनले नगरपालिका जस्तोसुकै समयमा पनि किसानलाई प्राविधिक सहयोग गर्न तयार रहेको बताए।