पाटनमा होली उमंग, कलाकारसँगै विदेशी पनि रंगिए
काठमाडौं : आज फागु पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौंका विभिन्न स्थानमा युवायुवती,बालबालिका तथा विदेशी पर्यटकहरू भेला भएर होली मनाइरहेका छन्।
यसै अवसरमा पाटनमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती,वृदवृद्धा,बालबालिका होली मनाइरहेका छन् । होली खेल्न विभिन्न स्थानबाट युवायुवतीहरू आउने क्रम जारी छ। कलाकारहरूको पनि उल्लेख्य सहभागीता रहेको छ। विदेशी पर्यटकहरू पनि होलीमा रमाइ रहेका छन्।
पाटनमा एक साताअघि चीर गाडिएको थियो। चीर गाडिएसँगै काठमाडौंमा होलीको चहल पहल बढेको थियो। असत्यमाथि सत्यको विजयको प्रतीक,पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।
फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ ।
हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिन्छन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।
होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको संस्कृतिविद्हरू बताउँछन्।