होलीमा सामाजिक समरस

होलीमा सामाजिक समरस
सुन्नुहोस्

चन्द्रमास गणनाविधिअनुसार फाल्गुन पूर्णिमा तिथिमा होली पर्व मनाइन्छ। विभिन्न प्रकारका हास परिहास गीत संगीत आदिका माध्यमले मनलाई आनन्दित पार्ने यो पर्वलाई सामाजिक समरसताको पर्वका रूपमा व्याख्या पनि गरिन्छ। होली पर्वको महत्व समाजका सबै वर्गमा बराबर छ। यो पर्वले मानव चेतना स्वास्थ्य र सामाजिक एकताका लागि अति महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। अहिलेको परिप्रेक्ष्यमा मानिस आफू र दौतरीबीच विभिन्न प्रकारका रङहरू दलेर रमाइलो गर्दै होली मनाउने गर्छन्।

यद्यपि होली पर्वको इतिहास अध्ययन गर्ने हो भने यो पर्व वैदिक सोम यज्ञको स्वरूप हो। वैदिक यज्ञमध्ये सोमयज्ञ सवैभन्दा उत्तम यज्ञ मानिन्छ। वैदिककालमा पर्याप्तमात्रामा प्राप्त हुने सोमलताको रस निकालेर सोही रसबाट विधिपूर्वक जुन यज्ञ गरिन्थ्यो, त्यही यज्ञलई सोमयज्ञ भनेर शास्त्रमा विवेचना गरिएको छ। 

यसरी सोम यज्ञमा प्रयोग गरिने सोमलता कालान्तरमा लोप भएका कारण यज्ञ यगादि सम्पादन गर्न निर्देशन गर्ने ब्राह्मण ग्रन्थहरूमा विकल्पका रूपमा पूर्तिक अर्जुनवृक्षजस्ता धेरै वनस्पतिको निर्देशन गरिएको छ। आयुर्वेदका अनुसार अर्जुनवृक्ष हृदयरोज निवारणका लागि महत्वपूर्ण मानिन्छ।

सोमलता र अर्जुन वृक्षबाट निर्मित सोमरसको सेवन गरेर यसको शक्तिका प्रभावले ऋषिमुनिहरू ऋमरताको अनुभव गर्थे भनेर ऋग्वेदमा वर्णन गरिएको छ। वैदिक यज्ञको यो सर्वोत्तम सोमयाग एकाह अहिन र सत्रयागका रूपमा तीन प्रकारले आयोजना गरिन्छन्। वैदिककालमा सत्रयाग एक वर्षसम्म गर्ने गरिन्थ्यो। यो यज्ञमा ऋत्विक ब्राह्मणले कुनै दक्षिणा लिँदैनथे, यत्रको फल नै दक्षिणा मानिन्थ्यो। यसरी वर्षभरि यज्ञ गरेर शारीरिक रूपमा थाकेका ब्राह्मणहरू आपसमा मनोविनोद हास परिहास गरेर आनन्दिति हुन्थे। सत्रयाग समापनको दिन फाल्गुन पूर्णिमामा यज्ञको पूर्णाहुति पछि सबै मिलेर उत्सवको आयोजना गरिन्थ्यो।

होलीमा विभिन्न समुदाय एकआपसमा हास्यव्यंग्यका माध्यमले समुदायका कमीकमजोरीलाई देखाइदिने गर्थे। यस प्रकारका हास्ययुक्त व्यंग्यहरूलाई ‘अगिभर अपगर’ संबादको रूपमा लिइन्थ्यो। शास्त्रका व्याख्याताहरूका अनुसार अगिभर शब्दले ब्राह्मणलाई जनाउँछ भने अपगर यो शब्दले शुद्रलाई चिनाउँछ। यसरी एक वर्षे सोमयज्ञ समापन गरेपछि वर्षभरिको निरसता हटाउँदै ब्राह्मण र शुद्रहरू एकापसमा आरोप प्रत्यरोप लगाएर हास परिहास गरेरै आनन्द लिन्थे। ताड्य ब्राह्मण ग्रन्थको होली पर्वको वर्णनमा गरेको विवेचनाअनुसार यो समयमा सबै नागरिक संसदीय र गाउँले लवजका भाषाहरू बेलेर विभिन्न प्रकारका प्रदर्शन गर्ने चलन छ।

सोमयज्ञ समापनको केही दिन पहिला औदुम्बर (डुम्री) को हाँगा हवन कुण्डका छेउमा गाडेर बिभिन्न प्रकारका गीत–संगीत आरम्भ गर्ने परम्परा थियो। जुन परम्परा हाल चिर गाड्ने परम्पराका रूपमा प्रचलनमा छ। आयुर्वेद अनुसार डुम्री अति औषधीय गुण भएको वनस्पति मानिन्छ। डुम्रीको हाँगालाई माधुर्यको प्रतीकका रूपमा पनि लिइन्छ। साथै निरन्तर गतिशील व्यक्तिले मात्र औदुम्बरको फल खान पाउँछ भन्ने आशयले पनि यज्ञशालामा यो वनस्पति राखिने गरेको कुरा ऐतरेय ब्राह्मण ग्रन्थमा उल्लेख छ।

होली पर्वका दिन घरघरमा मीठामीठा परिकार बनाउने चलन अहिले पनि छ। यस्ता परिकार यज्ञ अनुष्ठान गराउने आचार्यहरूलाई सेवन गराउने उद्देश्यका साथ बनाइन्थ्यो। यसरी वैदिककालमा सोमयज्ञ समापन उत्सवका रूपमा प्रतिवर्ष मनाइने होली पर्वमा समय र व्यवस्थाको मागअनुसार विशेष पक्ष र लक्ष्यहरू थपिँदै गए। कालान्तरमा होली पर्वमा भगवान्का भक्त प्रह्लादको र उनकी फूपू होलिकाको आख्यान पनि जोडियो। यसरी एक वर्षसम्म चल्ने सोमयज्ञ महाव्रत क्रमशः होली पर्वका रूपमा अनेक विशेषताका साथ उत्सवका बिभिन्न प्रकल्प थप हँुदै प्रबद्र्धन भयो।

होली पर्वलाई नवशस्येष्टि पर्व पनि भनिन्छ। प्राचिन कालदेखि नै भारतवर्षमा प्रचुरमात्रामा हिउँदमै अन्न फल्ने गरेको पाइन्छ। कृषिकर्मबाट उत्पादित अन्न यज्ञ गरेरमात्र उपयोग गर्ने शास्त्र विधि रहेका कारण होली पर्वका दिन गहुँ र चनाजस्ता अन्नलाई आगोमा पोलेर भुटेर सेवन गर्ने गरिन्छ। यस्तो भुटेको पोलेको अन्नलाई होलक भनिन्छ। होलक सेवन गर्ने पर्व भएका कारण पनि यो पर्वको नाम होलि रहेको हो भन्न सकिन्छ। यो पर्व काम उद्दीपन पर्व पनि हो।

मानव जीवनका चार मुख्य पौरख धर्म, अर्थ, काम र मोक्ष हुन्। ऋतु परिवर्तन यज्ञ समापन अन्न भण्डारण भएपछि यसको उपभोग नै काम हो। होली पर्वमा गीतसंगीत, कलाकौशल प्रदर्शन, बिभिन्न प्रकारका हास परिहास ब्यंग्यविनोद आदिले मनमा कामबासना जागृत हुन्छ र युवकयुवतीले एकापसमा नैसर्गिक प्रेम प्रकट गर्छन्। यसरी होलि पर्वलाई मानव जीवनको तेस्रो पुरुषार्थ कामवासनाको धर्मअनुकूल उपभोग गर्ने स्वस्थ मान्यता होली पर्वले प्रदान गरेको छ।

होलि पर्वमा गरिने सबै प्रकारका विधि र क्रियाकलाप समाज उपयोगी, वैज्ञानिक र तर्कसम्मत रहेको पाइन्छ। होली पर्वमा सबैभन्दा प्रमुखताका साथ प्रयोग गरिने वस्तु भनेको रङ हो। प्राचीन आयुर्वेदमा रङबाट गरिने उपचारको विशेष वर्णन पाइन्छ। रङ चिकित्सा प्राच्यविद्याको आयुविज्ञानमा मात्र हैन, यो उपचारबिधि संसारभरी नै प्रचलित छ। प्राचीनकालमा होलिमा प्रयोग गरिने रङ बिभिन्न प्रकारका वनस्पतिबाट तयार गरिन्थ्यो। विशेष गरेर पलासको फूलबाट रङ बनाएर एकापसमा दल्ने गरिन्थ्यो।

आयुर्वेदमा पलासको बोक्रा, पत्ता, जरा र यसको चोपबाट विभिन्न प्रकारका औषधि निर्माण गरिन्छ। पलासको फूलबाट तयार गरेको रङ शरीरमा लगाउँदा विभिन्न रोग निको हुने कुरा आयुर्वेद ग्रन्थमा वर्णन गरिएको छ– पलासको फूलले कफ, पित्त, कुष्ठरोग, छाला पोल्ने रोग, अति प्यास लाग्ने रोग, बात पसिनाको दुर्गन्ध रगतको समस्या, पिसाबसम्बन्धी दोषलाई निको पार्छ। यसरि दिनभरि होलीमा रङ दलेर अपराह्नमा नुहाएर शरीर साफ बनाएपछि इष्टदेवताको पूजा गरी आफन्त र मान्यजनसँग भेटघाट गरेर यथायोग्य अभिवादन गरी आपसी मनमुटाव समाप्त गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.