कनकाई नहरमा डुबेर बालकको मृत्यु
झापा : झापामा होलीको दिन नहरमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ स्थित सृष्टि टोलका रमेश प्रधानका १४ वर्षीय छोरा रविन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सोमबार दिउँसो साढे २ बजे रविन कनकाई सिँचाइ आयोजनाको नहरमा नुहाउन गएका थिए। उनको डुबेर मृत्यु भएको स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।