माध्यमिकी परिक्रमा : मिथिलाको महाकुम्भ
जनकपुरधाम : टाउकोमा खानपिनका सामग्री। एक हातमा ओढ्ने–ओछ्याउनेसहितका लत्ताकपडा। अर्को हातमा पाल बनाउन चाहिने बाँसका डण्डी। अनि ओठमा मुस्कानसहित ‘जय सियाराम’को स्तुति गरिरहेका हुन्छन्। यो दृश्य हो नेपाल र भारतको धार्मिक–सांस्कृतिक धरोहर १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको। जुन मिथिला क्षेत्रको महाकुम्भ पनि हो। साधुसन्त तथा भक्तजनको लावालस्करसहितको टोली विगत वर्षझैं यसपटक पनि जनकपुरधाम आइपुगेर अन्तगृह परिक्रमासँगै यात्रा सम्पन्न भएको छ।
राम र सीताको पदचाप पछ्याउँदै मिथिला परिक्रमा गर्नाले पाइला–पाइलामा पुण्य कमाइने जनविश्वास छ। यसमा सहभागी भए मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको राममन्दिरका महन्थ राम गिरी बताउँछन्। संस्कृतिका जानकार विष्णुमणि खनालका अनुसार यो यात्रामा १०औं लाख भक्तजन सहभागी हुने गरेका छन्।
यो नेपाल र भारतको सांस्कृतिक सेतु पनि हो। यसले नेपालका धनुषा, महोत्तरी र भारतको उत्तरी बिहारका धार्मिक, ऐतिहासिक स्थानलाई समेट्छ। मिथिला परिक्रमा तीर्थस्थल भनेर स्थापित भए पनि पर्यटकीय गन्तव्यका रूपमा भने विकसित हुन सकेको छैन। जसमा पक्की बाटो, उचित व्यवस्थापन, सम्पदाको संरक्षण र प्रचारको अभाव खड्किएको छ।
लाखौं साधुसन्त, गृहस्थ तथा भक्तजनले परिक्रमाका क्रममा नेपालमा १ सय ८ र भारतमा २७ गरी १ सय ३५ किलोमिटरजति भूमिको पैदल यात्रा गर्ने गरेका छन्। तर, कच्ची सडक, नदीमा क्षतिग्रस्त पुलपुलेसा तथा बिग्रेभत्केको बाटोका कारण बर्सेनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको सरोकारवाला बताउँछन्।
सन् १८१६ मा भएको सुगौली सन्धिले प्राचीन मिथिलालाई नेपाल र भारत गरी दुईतिर विभक्त गरे पनि दुई देशबीचको मैत्रीको प्रतीक परिक्रमाको आस्थामा भने आँच आएको छैन। मिथिला पञ्चकोशी परिक्रमा सडक पक्की बनाउने घोषणा भारतले २० वर्षअघि गरेको थियो। तर, अझै पनि उक्त बाटो पक्की बन्न सकेको छैन। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला २०४९ सालमा भारत भ्रमणमा जाँदा दुई देशबीच परिक्रमा सडक निर्माण गर्ने सहमति भएको थियो। उक्त सहमतिअनुरूप परिक्रमा सडक निर्माण सुरु नगरिँदा पर्यटन प्रवद्र्धनसमेत हुन सकेको छैन। सडक निर्माण भए धनुषा र महोत्तरीका साबिक ८८ गाविसका साथै भारतीय मधुवनी जिल्ला जोडिनेछन्। र, दुवै देशको सांस्कृतिक तथा आर्थिक विकासमा टेवा पुग्ने जानकार बताउँछन्।
परिक्रमा तीन प्रकारका
परिक्रमाको आध्यात्मिक पक्ष सायद सुखको क्षणिकता प्रदर्शन गर्नु पनि हो। आमा (सृष्टि)मा समाहित नभएसम्म तृष्णा हो सुख, माया हो मिलन र बिछोड एवं यात्रा हो यो जीवन। यो चलिरहन्छ, मिथिला परिक्रमाको प्रचलनजस्तै। परिक्रमा भन्नु नै यात्रा आफैंमा एउटा गन्तव्य हो भन्ने कुरा स्वीकार गर्नु हो।
परिक्रमा तीन प्रकारका छन् ः बृहत्, मध्य र अन्तरगृह। बृहत् परिक्रमा तत्कालीन मिथिला राज्य अर्थात् उत्तरमा हिमालय पर्वतको फेदीबाट सुरु भई पूर्वकोशी, दक्षिण गंगा, पश्चिमगण्डकी हुँदै सुरु भएकै ठाउँमा आएर टुंगिन्छ। यसरी हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदी किनारा हुँदै हिमालय क्षेत्र, कोसी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा मिथिला महात्ममा पाइन्छ। हिजोआज व्यस्तताका कारण साधु–सन्तबाहेक अरूले यो परिक्रमा गर्न छाडेका छन्।
जनकपुरधामस्थित रत्नसागर स्थानका तत्कालीन महन्थ बाबानारायण दासले करिब डेढ सय वर्षअघि साधुसन्तलाई लिएर वनको बाटो भई माध्यमिकी परिक्रमालाई मिथिला महात्मको निर्देशानुसार फेरि सुरुवात गरेको बताइन्छ। त्यसलाई करिब ५० वर्षपछि सीताकुण्डका महन्थ परमहंस शियालालशरणले साधुसन्तसहित बाजागाजाका साथ परिक्रमा गरेका कथन पाइन्छ। परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्थ परमहंसको योगदान मानिन्छ। माध्यमिकी परिक्रमा करिब ६० वर्षदेखि मिथिला महात्मको कथावाचन मुख्य पण्डित रामदुलारी शरणले गरे। उनको निधनपछि मिथिला महात्मको कथावाचन उनका शिष्य शिया राघव शरणले गरिरहे।
आममानिस मध्यपरिक्रमाप्रति बढी आकर्षित छन्। सर्वप्रथम ‘मिथिला महात्म्य’मा वर्णन गरिएको मध्यपरिक्रमाको सुरुआत १८औं शताब्दीभन्दा केही पहिले भएको हुनुपर्छ भन्ने इतिहासविद््को कथन छ। आधुनिक जनकपुरलाई पुनः चिनाउने महात्मा सुरकिशोरले परिक्रमा मार्ग पत्ता लगाएपछि सीतामढी मठका सीताप्रसाद र बराही मठका सुरदास साधुले मध्य–परिक्रमा आरम्भ गरेको बताइन्छ। २०औं शताब्दीको प्रारम्भतिर जनकपुरधामका रामानन्दी वैष्णव साधुले पाँच दिनमा पूरा हुने परिक्रमालाई १५ दिने बनाए। यस कार्यमा साधु प्रेमलता, सीतामढीका साधु सिद्धबाबा र जनकपुरधामका सन्त वैदेही शरणको भूमिका उल्लेखनीय मानिन्छ। पहिला–पहिला साधुसन्तको मात्र सहभागिता रहने परिक्रमाले बिस्तारै जनसाधारणको ध्यान पनि आकृष्ट ग¥यो। जसको फलस्वरूप यसमा गृहस्थहरूसमेत सहभागी हुन थालेका छन्।
यो महोत्सवमा धनुषा, कचुरी गाउँको मिथिलाविहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसागर हुँदै जानकी मन्दिर पु¥याइन्छ। त्यहाँबाट जानकीको डोला र जनकपुरका अरू मन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा–यात्रा आरम्भ हुन्छ। माध्यमिकी परिक्रमाका लागि धनुषाको मिथिला विहारी नगरपालिकाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्निकुण्डस्थित सुन्दर सदनबाट किशोरीजीको डोला नै मुख्य आकर्षण हो। डोलामा सीतारामको प्रतिमा राखिएको हुन्छ।
डोलाका पछि–पछि ढोल, पिपही आदिको बादन, नरनारीको सहभागिता, भजन–किर्तन आदिले मिथिलाका मौलिक सांस्कृतिक भक्तिमय छटाले जो कोही पनि सहजै मोहित हुन सक्छन्। यस्तै झाँकीका साथ भक्तजनको विशाल समूहले १५ दिनसम्म मिथिलाको तत्कालीन राजधानी–क्षेत्रको चारैतिर रहेका धार्मिक स्थलको परिक्रमा गर्छ। नेपाल र भारत दुवै मुलुकका धार्मिक, सांस्कृतिक एवं आपसी सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा ११ तथा भारतमा ४ गरी जम्मा १५ प्रमुख स्थान छन्।
परिक्रमा प्रारम्भको दुई स्थान कल्याणनेश्वर र गिरिजा स्थान भारतमा र नेपालमा महोत्तरीको मठिहानी, जलेश्वर, धुब्रकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ तथा धनुषाको पर्वता, धनुषाधाम, औरहीमा विश्राम गर्दै अन्त्यका भारतीय क्षेत्रको करुणा र विशौल हुँदै जनकपुरधाममा अन्तगृह घुम्ने गर्छन् परिक्रमावासीले। यो धर्मयात्राबाट सतकर्म, पाप तथा अन्य कष्टबाट मुक्ति पाउनुको साथै मनोबाञ्छित फल प्राप्त हुने जनविश्वास रहँदै आएको छ।
जहाँ छन् बिसौनी
यात्राको पहिलो बिसौनी हो हनुमान नगर। जनकपुरधामबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम र जानकीका मूर्ति भएको १६० वर्षअघि स्थापित मन्दिर छ। दोस्रो दिनको मेला लाग्ने कलना गाउँ, कल्याणेश्वर भारत, उत्तर बिहारको बासोपट्टी र उमागांव बीचमा छ यो प्रसिद्ध स्थान। कल्याणेश्वरमा धार्मिक संकल्प धारण गर्ने गरिन्छ। भव्य पोखरी र विश्रामस्थलसमेत रहेको कल्याणेश्वर मन्दिर आकर्षक छ। भविष्यवेत्ता भनेर कहलिएका सिद्ध परमहंसबाबा ११० वर्ष बसेको ठाउँ पनि हो यो।
गिरिजास्थान मिथिला परिक्रमा गर्ने यात्रीको तेस्रो विश्रामस्थल हो। गिरिजास्थान (फूलहर) पनि भारतमै पर्छ। स्थानीय तहमा फूलहर नामले चिनिने यो ठाउँ सीताले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा रामसँग पहिलोपटक देखादेख भएको ठाउँ हो भन्ने जनविश्वास छ। गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्तिहरू तथा कष्टहरिणी र सरसमिर नामँका पोखरी भएको ठाउँबाट जमुनी नदी बगेको छ।
चौथो दिन भक्तजन नेपालको मटिहानी आइपुग्छन्। महोत्तरी जिल्लामा पर्ने मटिहानी पुरातात्विक महŒवका १२ वटा मन्दिर र आठवटा पोखरी भएको एउटा घना बस्ती हो। नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रूपमा समेत परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय र मठ छन्। जहाँ यात्रीलाई खुबै सेवासत्कार गरिन्छ।
परिक्रमाका यात्री पाँचौं दिन जलेश्वर महादेवको दर्शन गर्न महोत्तरीको सदरमुकाम जलेश्वर आइपुग्छन्। छैटौं दिन पञ्चमी तिथिमा परिक्रमा यात्रा जलेश्वरबाट उत्तरतर्फ मडईमा पुगेर टुंगिन्छ। जहाँ मुनेश्वर महादेवको मन्दिर र दुई आकर्षक पोखरी छन्। यसदिन यहाँ लाग्ने मेलामा स्थानीयवासी पनि ठूलो संख्यामा सहभागी हुने गर्छन्। परिक्रमाको सातौं दिन यात्रीले विश्राम गर्ने ठाउँ ध्रुवकुण्डमा ध्रुवजीको मन्दिर छ। मन्दिरको नाममा रहेको १५ बिघा जमिनको आम्दानी मेलामा खर्च गर्ने चलन छ। कञ्चनवन यात्रीको आठौं दिनको गन्तव्य कञ्चनवन हरिणिमणि र हरिपुरनजिकै पर्छ। यहाँ सीतारामको मन्दिर छ।
परिक्रमाको गहिरो सम्बन्ध फागु पर्वसँग पनि छ। प्रेम र भाइचारा अभिवृद्धि गर्ने सांस्कृतिक पर्व फागु यहाँ मज्जाले मनाइन्छ।
हो हो किनकाके हाथ अबिर झोरी
किनकाके हाथ कनक पिचकारी,
रामजीकेँ हाथ कनक पिचकारी,
सियाजीकेँ हाथ अबिर झोरी
यीलगायत कर्णप्रिय फागु गीत र जोगिराले परिक्रमा यात्रा मनोरम हुन्छ नै। कञ्चनवनमा फागुको बेग्लै मज्जा हुन्छ। लामा लामा दाह्रीजुँगा भएका बाबाजी, साधुसन्त, नरनारी, गृहस्थ, परिक्रमावासी तथा स्थानीय रंगबिरंगी रंग अबिरमा रंगिएका हुन्छन्। यसरी हर्षोल्लासमय बातावरण फागुको रंग चढ्दै जान्छ। पर्वता, कञ्चनवनबाट नवौं दिनको यात्रा सुरु गर्ने भक्तजनहरू बीचमा पर्ने क्षिरेश्वरनाथ महादेवको दर्शन एवं जलाईद नदीमा स्नान गरेर बास बस्न पर्वता आइपुग्छन्। ढल्केबरबाट जनकपुर जाने कच्ची बाटोमा पर्ने पर्वतामा हनुमानको मन्दिर छ।
यात्रीहरू १०औं दिन धनुषाधाम पुग्छन्। सीताजीसँग स्वयम्बर हुनुअघि भगवान रामले भाँचेको धनुको एउटा टुक्रो खसेको विश्वास गरिएको यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ। विवाहपञ्चमी र रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधाममा बाँणगंगा नदी र उत्तरपट्टि करीब ५०० विगाहामा फैलिएको नयाँ वन क्षेत्रले यो ठाउँलाई रमणीय बनाएको छ।
यात्रीहरू ११औं दिन सतोखर पुग्छन्। राममन्दिर र पोखरी भएको ठाउँमा असार–साउनतिर हुने बोलबम र झ्ुला पर्व पनि राम्रोसँग मनाइन्छ। १२औं दिन यात्रुहरू औरही पुग्छन्। जनकपुर–जयनगर रेल्वेको तेस्रो बिसौनी वैदेहीनजिकै रहेको औरहीमा भक्तजन विमला खोलामा स्नान गरी रामजानकी मन्दिरमा दर्शन गर्छन्। १३औं दिन परिक्रमा यात्रा फेरि भारत भूमि प्रवेश गर्छ र यात्री करुणामा पुगेर विश्राम गर्दछन्। रामजानकीको मन्दिर रहेको यस ठाउँमा करुणा नामकै पोखरी छ।
भारतकै विशौल परिक्रमा यात्रीको १४औं दिनको गन्तव्य हो। यहाँ विश्वामित्रको मन्दिर छ र कमला नदी यहीँबाट बग्दछ। परिक्रमा यात्राको अन्तिम १५औं दिन (फागुन पूर्णिमा) सहभागी भक्तजन जनकपुरधाम आइपुग्छन्। यहाँका विभिन्न तीर्थस्थलको दर्शन गर्दै अन्तरगृही परिक्रमामा सामेल हुन्छन्। यहीँबाट मिथिला–मध्य परिक्रमाको विसर्जन हुन्छ। जसमा राजा जनकले आफ्नो राजधानीको चार कुनामा स्थापना गरेका चारवटा महादेव–पीठ पूर्वको कल्यानेश्वर (हाल भारतमा), दक्षिणको जलेश्वरनाथ (जलेश्वर, महोत्तरी), पश्चिमको क्षिरेश्वरनाथ (महेन्द्रनगर, धनुषा) र उत्तरको सतोखर (धनुषा) पर्छन्। अन्तिम अर्थात् १५औं दिन फेरि जनकपुर आइपुगेर जनकपुरको पाँच कोश दूरीको परिक्रमा गरेपछि यात्रा सम्पत्र हुन्छ। जसलाई अन्तरगृही वा पञ्चकोशी परिक्रमा भनिन्छ।
अन्तरगृह परिक्रमाको सीमाक्षेत्र जनकपुर नगरपालिका भित्र पर्छ। यहाँ चोक चोकमा समत जलाएको हुन्छ। त्यही धूलोलाई स्पर्श र प्रणाम गर्दै परिक्रमा प्रारम्भ गरिन्छ। यसैक्रममा रङ्गअवीर खेलिसकेपछि मिथिलामा ‘धुरखेल’ अर्थात् जे जीए से खेले फागु जे मरए से लेखा लए भन्दै धूलो छ्यापेर रमाइलो गर्ने चलन छ। जनकपुरमा परिक्रमा सकिएपछि फागु खेलिन्छ, यो निर्विवाद छ।
सर्वाधिकले १५ दिनमा, त्यसभन्दा कम ५ दिन र २४ घण्टामा समेत परिक्रमा घुम्ने गर्छन्। परिक्रमाका सहभागीका लागि गाउँ–गाउँमा श्रद्धालुले खानपिनका साथै सेवा–सत्कारको व्यवस्था गरेका हुन्छन्। यसमा सहभागी भक्तजनले निर्वाह गर्ने धार्मिक मूल्यमान्यता पनि हुन्छ। मिथिलावासीका साथै नेपाल र भारतका विभित्र प्रान्तबाट पनि भक्तजन आउँछन। यो उत्सवलाई मिथिलावासी खेतीपाती धान भिœयाउने काम सकेर रमाइलो, धर्म–कर्म तथा भ्रमण गर्ने मौकाका रूपमा पनि लिन्छन्। परिक्रमाको आर्थिक महŒव पनि छ। जसले कृषि पेसा र बजारलाई पनि एकीकृत गर्छ। तर, त्योभन्दा माथि छ, जनकले जोतेको दृष्टान्तको महात्म्य। मिथिला परिक्रमाको क्रममा डोला उठ्दा वा बस्दा हरेकपटक गुञ्जिने गर्छः जय जय हो किशोरीजी ! मोटा पर मोटरी जय सियाराम। किशोरीजी अर्थात् मिथिलाकी छोरी–सीता।
राजर्षि जनककी राजकुमारी भएर जनकपुरको दरबारमा हुर्केकी सीता वास्तवमा समग्र मिथिलाकै छोरी हुन्। उनी पृथ्वी स्वरुपा हुन्। राजा स्वयं किसान भएर हलो जोत्ने क्रियाको प्रसंगले सीताको जन्मको महात्म्यलाई झ्नै महान बनाएको छ। शासकलाई माटोसँग जोड्ने यो कथामा अन्तरनिहित अर्थ–राजनीतिको सन्देश बिर्सनेहरू विस्तारै इतिहासका पानामा बिलाउँदै जान्छन्। तर, जनजीवनसँग जोडिएका पात्र हजारौं वर्षसम्म पनि जनजिब्रोमा झुन्डी नै राख्छन्।
कसरी गरिन्छ समापन ?
दिनरात नभनी जनकपुरधाम आउने साधुसन्तसहित महन्तले बिभिन्न स्थानमा दिनभर विश्राम गर्ने, मध्य रातमा नगरको परिक्रमा गरी परिक्रमाको विधिवत् समापन गर्ने गर्छन्। उनीहरू कुवा, नदी, तलाउमा स्नान–ध्यान गरी चोखो भई नियमनिष्ठाका साथ बस्ने र परिक्रमा अवधिमा कुनै स्त्रीसँग सम्बन्ध राख्न नहुने, मदिरा तथा मासु खान नहुने मान्यतालाई कायम राख्दै परिक्रममा सहभागी हुन्छन्।
साधु–सन्त तथा महात्माहरूले जनकपुरधामका ऐतिहासिक बाह्रबिघा, तिरहुतिया गाछीमा पण्डाल, तथा बिभिन्न कुट्टी, छाउनी तथा ओडारको सहारामा बसी परिक्रमा गर्ने गर्छन्। परिक्रमा यात्रीले रात्रिकालीन विश्रामका लागि पराल, भाँडाकुँडा, टायरगाडा, दाउरा, चामल, दाललगायत उपभोग्य वस्तु लिएरै हिँड्ने गरेका छन्। डोलाको पछिपछि परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा लाखौं नरनारीहरू हरेक वर्ष सहभागिता जनाउँछन्।
लावालस्कर सहितको टोलीले मिथिलाका चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गर्ने गर्छ। जसलाई १५ दिने माध्यमिकी परिक्रम वा मध्यमा परिक्रमा भनिन्छ। यो परिक्रमा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हँुदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिषौल र फेरि कल्याणेश्वर हुँदै फागु पूणर््ािमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तरगृह परिक्रमा गरी समाप्त हुन्छ।
माध्यमिकी परिक्रमा यात्राका नेपालका धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन्। मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै रूपमा चर्चा गरिएको स्थलप्रति भक्तजनमा अटुट विश्वास पाइन्छ। मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि धार्मिक यात्रा माध्यमिकी परिक्रमामा भारतका आयोध्या, मथुरा, हरिद्धार, दरभंगहा, सीतामढी, बैजनाथ धामका साधुहरू उल्लेख्य रूपमा सहभागी हुने गर्छन्। महाशिवरात्री तिथिदेखि १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुन पूर्णिमामा समापन हुन्छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गरिन्छ। यसलाई मिथिलाञ्चल क्षेत्रकै महाकुम्भ भनेर पनि चिनिने गरिन्छ। तर, मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरूले छोटो दूरीको अन्तगृह परिक्रमा गर्नुपर्ने उल्लेख छ। अन्तगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम उपमहानगरपालिका भित्र पर्छ। मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हँुदै हिमालय क्षेत्र, कोसी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ। भारतको पटना स्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ। केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागर स्थानका स्वः महन्त बाबा नारायण दासजीले करिब डेढ सय वर्षपूर्वदेखि दुई सय सम्म साधुसन्तलाई लिएर वनको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशअनुसार पुनःआरम्भ गरेको बताइन्छ। त्यसलाई ५० वर्षपछि सीताकुण्डका महन्त परमहंस सियालाल शरणले ५ सय साधुसहित बाजागाजासहित परिक्रमा गरेका थिए।