किसानका गोष्ठी स्टार होटलमा होइन, खेतमा, बारीमा, बगैंचामा गर्नुपर्छ : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोष्ठी र सेमिनारका नाममा सरकारले खर्च गरिरहेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन्। बागमती प्रदेश कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले गोष्ठी र सेमिनारका नाममा धुस्नु खर्च भएको दाबी गरेका हुन्।
उनले किसान सम्बन्धी गोष्ठी स्टार होटलमा नभई गाउँमा हुनुपर्ने तर्क गरे। ओलीले सरकारले किसानसँगै खेतमा, बारीमा, बगैंचामा, गोठमा गोष्ठी गर्नुपर्ने धारणा राखे। ‘अहिले सरकारको रिपोर्ट हेर्ने हो भने, गोष्ठी र सेमिनारमा यस्तो धुस्नु खर्च भएको छ, किसान सम्बन्धी गोष्ठी हुन्छन् स्टार होटलमा । त्यो त गाउँमा हुनुपर्ने गोष्ठी हो, बुद्धिजीवी गाउँमा जानुपर्ने हो किसान त यहाँ आउँदैनन्। गाउँमा गएर बुद्धिजीवीले गोष्ठी गर्नुपर्ने, सरकारले खर्च गाउँमा गर्नुपर्ने।’ओलीले भने,‘सरकारले खर्च गाउँमा गर्नुपर्ने, खेतमा, बारीमा, बगैंचामा, गोठमा गोष्ठी गर्नुपर्दछ। गोष्ठीका नाममा कुनै गोष्ठी सु-सम्पन्न हुन्छ अर्थोक केहि पनि हुँदैन। खर्च भव्य हुन्छ,गोष्ठी सु-सम्पन्न हुन्छ अर्थोक केहि पनि हुँदैन। त्यस्ता खालका कुराका अर्थ हुँदैन।’
ओलीले हाम्रो कार्यशैली कस्तो गरिरहेका छौं त्यसतर्फ ध्यान दिनुपर्ने बताए।
पूर्वप्रधानमन्त्री ओलीले विज्ञान प्रविधिले उपलब्ध गराएका सुविधा हरेक मानिसले पाउनुपर्ने धारणा राखे। उनले पुँजीवादीहरुले मानवअधिकारको उपहार गर्ने तर्क गरे। हरेक क्षेत्रका उपलब्धी राष्ट्रका टाढाबाठाले मात्रै नभई हरेक जनताले पाउनुपर्ने धारणा राखे। पुँजीवादीहरु मान्छे मारेका मारेइ हुन्छन् तर शान्तिको मन्त्र जपिरहने गरेको ओलीको भनाई छ।