बिर्तामोडमा छुरा प्रहारबाट एक युवक घाइते, पाँच जना पक्राउ
झापा : झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक युवक घाइते भएका छन्। युवकमाथि छुरा प्रहार गर्ने पाँच जना पक्राउ परेका छन्।
बिर्तामोड नगरपालिका- १ स्थित पश्चिम बस पार्कमा सोही ठाउँका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए।
सुनिराममाथि छुरा प्रहार गर्ने बिर्तामोड- १ का २३ वर्षीय राम टुडु, सोही ठाउँका २९ वर्षीय सुसान मुर्मु, बिर्तामोड- ६ का १९ वर्षीया एलिना श्रेष्ठ, अर्जुनधारा- ११ का ३० वर्षीय सरोज सहनी र कनकाई- १ का २३ को मनोज विकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गिरीले बताए। उनीहरुबीच मंगलबार राती सवा ८ बजेतिर झगडा भएको थियो। सोही क्रममा छुरा प्रहारबाट सुनिरामको बायाँ हातको कुममा र ढाडको माथिपट्टि गर्दनको भागमा चोट लागेको छ।