काठमाडौं : नेपाली कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने लगभग पक्का भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान उम्मेदवारहरुबीच छलफल भएपछि कांग्रेसले इलाममा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा खड्कालाई उम्मेदवार बनाउने भएको हो। आगामी वैशाख १५ गते प्रतिनिधिसभामा इलाम-२ र प्रदेशसभामा बझाङ- १ मा उपनिर्वाचन हुँदैछ।
मंगलबार र बुधबार बसेको बैठकमा संस्थापन पक्ष र इत्तरपक्षबीचको अडान कायम रहँदा कांग्रेसले उम्मेदवार चयन गर्न नसकेपछि आज बिहान उम्मेदवारका आकाक्षीबीच शीर्ष नेताले छलफल गरेका थिए।
बुधबार संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। महामन्त्री गगन थापा समूहका तर्फबाट भेषराज आचार्यलाई उम्मेदवारी बनाउनुपर्ने अडान रहेको थियो। आजको बैठकमा पनि देउवाले अडान नछाडेपछि खड्का उम्मेदवार बन्ने लगभग पक्का भएको हो। जिल्ला सभापति समेत रहेका खड्का यस अगाडि नेम्वाङसँग पराजित भएका थिए।
कांग्रेसले आज दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकबाट उपनिर्वाचनको उम्मेदवार औपचारिक घोषणा गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
इलाम-२ मा नेकपा एमालेले स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माओवादी परित्याग गरेका मिलन लिम्बू र राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाइसकेको छ। एमालेलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने गरी औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी भएपनि आन्तरिक सर्कूलर जारी भएको छ। माओवादीको इलाम जिल्ला कमिटीले उम्मेदवारका रूपमा धिरेन शर्माको नाम केन्द्रमा सिफारिस गरेको थियो। गतवर्ष भएको निर्वाचनको मत परिणाम अनुसार इलाम-२ मा एमालेका नेम्वाङ र कांग्रेसका खड्काबीच प्रतिस्पर्धा हुनेछ।