उपनिर्वाचन : बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं : नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बिहान सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आज दिउँसो ३ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको औपचारिक निर्णय गर्ने कांग्रेसले जनाएको छ।
सिंह कांग्रेस दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन्। सुदूरपश्चिम प्रदेश सरकारका कानुनमन्त्री रहेका सिंहको गत असार पाँच गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
बझाङमा नेकपा एमालेबाट दमन भण्डारी ,नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह उम्मेदवार बनेका छन्।