सुनसरीको हरिनगरामा दुई समूहबीच विवाद, प्रहरीको गोली लागेर दुईजना घाइते
धरान : सुनसरीको हरिनगरा गाउँपालिकामा दुई समूहबीच भएको विवाद भएको छ। बिहीबार दुई युवाको व्यक्तिगत झगडालाई लिएर यहाँ बसोबास गर्ने समुदायहरू विवादमा तानिएका छन्।
दुई युवाहरूको झगडाले ठूलोरुप लिएपछि सुनसरीको हरिनगरा गाउँपालिका र देवानगन्ज गाउँपालिकामा शुक्रबार १२ बजेदेखि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालिन कर्फ्यु लगाएको छ ।
कर्फ्यु लगाएको समयामा फरक समुदायका व्यक्तिहरू एकअर्कामाथि आक्रमणमा उत्रिएपछि भीड नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। घाइतेहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
बिहीबार एक समूहले जीवन मेहतालाई कुटपिट गरेपछि विवाद सुरु भएको हो । घाइते मेहताको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
कर्फ्यु उलंघन गर्दै ५ हजार भन्दा बढिको संख्यामा एक अर्कामा आक्रमणमा उत्रिएपछि भिड नियन्त्रणका लागि प्रहरीले दर्जनौं हवाई फायर र अश्रुग्यास प्रहार गरेको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए ।
उनले कानुन विपरीत काम गर्नेहरूलाई पक्राउ गरी कडा कारवाही गर्ने बताए। एसपी बिपिनले भीड नियन्त्रणका लागि दुबै समुदायका अग्रजहरूलाई बोलाएर घटना साम्य पार्ने प्रयास भइरहेको बताए ।