संयुक्त इफ्तारीमा २५ सय बढी मुस्लिम धर्मावलम्बी सहभागी
वीरगन्ज : पवित्र पर्व रमजानको रोजा बसेका मुस्लिम धर्मावलम्बीहरूका लागि शुक्रबार साँझ वीरगन्ज महानगरपालिकाले वीरगन्ज-१० आदर्शनगरस्थित पुरानो बसपार्कमा संयुक्त इफ्तारी समारोह आयोजना गरेको छ।
आपसी भाइचारा अभिवृद्धि हेतु वीरगन्ज महानगरपालिकाको आयोजनामा भएको इफ्तारीमा महानगरको ३२ वटै वडाका गरी करिब २ हजार ७ सयभन्दा बढी मुस्लिम धर्मावलम्बी सहभागी भएका थिए। शुक्रबार साँझ आयोजना गरिएको इफतारीमा सहभागी मुस्लिम धर्मावलम्बीलाई महानगरपालिकाले विभिन्न परिकारका साथै जलपान ग्रहण गराएको थियो।
वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व रमजानको अवसर पारेर आयोजना गरिएको इफ्तारीमा सहभागी सबैलाई शुभकामना दिँदै धन्यवाद पनि व्यक्त गरे।
एक अर्काको धर्म र पर्वप्रति सम्मान गर्दै आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न मुस्लिमहरूको मुख्य पर्व रमजानको उपलक्ष्यमा महानगरपालिकाले गत वर्षदेखि इफ्तारी समारोह आयोजना गर्दै आएको भन्दै मेयर सिंहले यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए।