‘पानीघट्ट’ आफैंमा सामाजिक मूल्य रूपान्तरण तथा सांस्कृतिक अन्तर्घुलनको साक्षी हो।
सुरेश प्राञ्जाली स्टेफेन किङ, नोन ग्रिसम, जेके रोलिङ, पाउलो कोहेलो, जेरी जेन्किन्स, मिचेल चाबोन, जर्ज सन्डर्स, हारुकी मुराकामी, काजुओ इसिगुरो, चेतन भगत, खालिद हुसेनीलगायत लेखकलाई बढी रुचाइने र पढिने पुस्ताका पाठक र लेखक हुन्। त्यसैले उनीबाट पनि पाठकले आधुनिक उपन्यासको अपेक्षा गर्नु अस्वाभाविक होइन। तर शीर्षक नै क्लासिक लाग्ने उपन्यास लेखे उनले ‘पानीघट्ट’। शीर्षकले नै कुनै गाउँको कथा जस्तो लाग्ने यो उपन्यास पुरानै कथाको आधुनिक पुनर्लेखन पो हो कि भन्ने अनुमान पनि गर्लान् पाठकले। तर त्यो पनि होइन। उपन्यास क्लासिक भइकन पनि फरक स्वादको अनुभूति हुन्छ।
प्राञ्जालीको यसअघि ‘तुइन’ उपन्यास प्रकाशित छ। ‘तुइन’ मध्यपश्चिम कर्णालीको परिवेशमा बुनिएको कथा हो भने ‘पानीघट्ट’ चाहिँ पश्चिमाञ्चलको गण्डकी भेगको ज्याग्दी, रानीस्वाँरा, धिम्री, पेल्काचौर, ठाँटीचौपारी वरिपरिको परिवेशमा बुनिएको मीठो र रोचक कथा हो। क्लासिक प्रेमकथालाई नै उपन्यासको मूल कथानक बनाइएको छ। न यौनको न त हिंसाकै विषय उठाइएको छ। विषयवस्तुमा कुनै नवीनता पनि छैन। पुरानै विषयवस्तु र परम्परागत शैलीमा उपन्यास लेखिएको छ। कुनै नवीन प्रयोग पनि छैन। त्यसैले कुनै बौद्धिक पाठक अथवा विश्वविद्यालयका प्राध्यापकीय समाचोलकको आँखामा पनि यो उपन्यास पर्न सकेजस्तो लाग्दैन। तर दुई चार जना बौद्धिक पाठक अथवा दुईचार जना प्राध्यापकीय समालोचकको आँखामा नपरे पनि हजारौं सामान्य पाठकको आँखामा पर्न सक्ने सामथ्र्य भने बोकेको छ यो उपन्यासले।
कुनै आडम्बर, कुनै बनावटीपन अथवा नक्कलीपन नभएको र समाज जस्तो छ त्यस्तै रूपमा दुरुस्तै प्रस्तुत गरिएको उपन्यासमा नेपाली अग्र्यानिक सुवास छ। गाउँको शुद्ध हावापानी र माटोको सुवास छ। समय धेरै परिवर्तन भइसक्यो, तर विशेषगरी नेपाली ग्रामीण परिवेशमा छोरीमान्छेले बाँच्ने समाज भने अझै पनि फेरिएको छैन भन्ने प्रमाण हो उपन्यासकी प्रमुख पात्र जूनमायाले बाँचेको समाज। उपन्यासमा वर्णित विक्रम सम्बत्को ३० वा ४० को दशकमा छोरीमान्छेले बाँच्ने समाज र ८० को दशकको समय र समाजमा केही परिवर्तन भएको छ, तर हाम्रो परिवार र हाम्रो समाजले छोरा र छोरीमा गर्ने लैंगिक विभेदमा अझै परिवर्तनको अनुभूति हुन सकेको छैन। यही तीतो यथार्थको सुन्दर कथा बुनिएको छ ‘पानीघट्ट’ मा।
अझै पनि हाम्रो ग्रामीण समाजमा छोरीमान्छेको स्थान दयनीय अवस्थामा छ। अझै पनि कुल र वंश अघि बढाउने, घरको रेखदेख गर्ने भूमिकामा सीमित पारिएको छ छोरीमान्छेलाई। आमाको गर्भदेखि नै अभिशप्त जीवन बाँच्नुपर्छ छोरीमान्छेले। छोरी, बुहारी र आमाको भूमिकामा पुग्दा पनि छोरीमान्छेले छोराको भन्दा फरक र उपेक्षित जीवन बाँच्नुपर्छ। यो हिजोदेखि आजसम्मको कटु यथार्थ हो। उपन्यासकी प्रमुख पात्र जूनमायामा विद्रोही चेत छ, तर त्यसलाई व्यवहारमा उतार्न दिएका छैनन् लेखकले। त्यसो गरेको भए कथानक अर्कै मोडमा पुग्थ्यो। आधुनिक कथा बन्थ्यो, आधुनिक उपन्यास बन्थ्यो। तर उसको जीवनलाई परिवारको इज्जत र कुलको मर्यादा धान्नमै सीमित राखेर एउटी असल र आज्ञाकारी तर कमजोर पात्रको रूपमा प्रस्तुत गरिएको छ। यसले गर्दा कथा हृदयस्पर्शी मात्रै बनेको छ, परिवर्तनको संवाहक बन्न सकेको छैन।
उपन्यासले लैंगिक विभेदको समस्याको उठान गरेको छ। तर विद्रोहको चेत भएकी नायिकाबाट पनि त्यसको समाधान भने खोजिएको छैन। विद्रोह गर्न नसक्दा जूनमायाको अर्कै पुरुषसँग बिहे हुन्छ। तर ऊ त्यहाँ टिक्न सक्दिन। रनेको प्रेमलाई स्वीकारेर ऊसँग जान्छे। तर रनेको परिवारले उसलाई सहजै र सहर्ष स्वीकार्दैन। लैंगिक विभेद भोगेकी जूनमायाले जातीय विभेद पनि भोग्नुपर्छ त्यहाँ। निकै गाह्रोसँग स्वीकार गरिए पनि उसले रनेसँग धेरै दिन खुसीका दिन बिताउन पाउँदिन। रने लाहुर फर्किन्छ र अन्त्यमा रने होइन, रनेको सम्झनास्वरूप धागोले बाँधेको चिठीमात्रै आउँछ। जूनमायाले फेरि बिछोडको पीडा सहनुपर्छ। जन्मेदेखि लिंगीय विभेदको सिकार बनेकी जूनमाया धेरै जूनमायाहरूकी प्रतिनिधि पात्र हो। निकै मार्मिक छ उपन्यासको कथानक।
पिरको पिरो धुँवामै रुमलिएको छ जूनमायाको जिन्दगी। पानीघट्टमा कोदो पिधिँएझैँ नियतिको जाँतोमा पिँधिएको छ उसको जिन्दगी। जिन्दगीको घट्टमा सधैं पिँधिएकी छे जूनमाया। उसको जिन्दगीका समयका हरपल पानी झैं बग्दै गए, तर उसको जिन्दगीचाहिँ घट्टको जाँतो झैं कहरैकहरमा फनफनी घुमको छ। लाहुरे संस्कृति, रोदी बस्ने परम्परा, चेली लतार्ने संस्कृति आदि सांस्कृतिक बिम्बहरूमा सिंगै गुरुङ समुदायको संस्कृतिको जीवनचरित्र सजीव भएर आएको छ उपन्यासमा। गण्डकी भेगको लोकसंस्कृति र लोकजीवन जीवन्त बनेर आएको छ। उपन्यासमा तत्कालीन सामाजिक यथार्थ प्रतिबिम्बित भएको छ। यही सामाजिक यथार्थको प्रतिबिम्ब उतार्ने क्रममा स्थानीय गुरुङ समुदाय र ब्राह्मण समुदायबीचको अन्तरसामुदायिक द्वन्द्वको झिनो अंश पनि उपन्यासमा आएको छ। यसो त उपन्यासमा वर्णित घटनाक्रमहरू आजको समाजमा पनि यतैकतै घटी नै रहेका छन्। यसर्थ पनि उपन्यासमा सामाजिक यथार्थ प्रतिबिम्बित भएको भन्न हिचकिचाउनु पर्दैन।
उपन्यासमा भावना र संवेदना पक्ष निकै सबल छ। उपन्यास पढ्दै जाँदा ठाउँठाउँमा मनमा खुल्ल–खुल्ल हुन्छ। जुने अर्थात् जूनमायाले भोगेको दुःखले सासै रोकिएला जस्तो हुन्छ। कहिलेचाहिँ मुटु ढक्क फुल्छ। मनमा सुर्केनी गाँठो परे जस्तो हुन्छ। पानीघट्ट एउटा बिम्ब हो। जसरी पहराबाट हाम्फाल्दै बगेको पानीले घट्टको जाँतोलाई फनफनी घुमाउँछ र त्यसमा अन्नका दाना पिँधिन्छ, उसैगरी उपन्यासकी पात्र जूनमाया अर्थात् जूने अर्थात् जूनुको जिन्दगी पनि त्यो पानीघट्ट जस्तै भएको छ।
समयले उसको जिन्दगीलाई फनफनी घुमाएको छ र पिँधिएका छन् उसका रंगीन सपना र मीठा रहरहरू। अनि ऊ बाँचेकी छे दुःखैदुःखमा। कहरैकहरमा। विद्रोही चेत भएकी कथानायिकाबाट कुनै विद्रोह नै नगराई पुरुषको शरणमा पु¥याउनुले नारीपात्रप्रति नै अन्याय पो भयो कि ? उपन्यास आद्योपान्त पढिसकेपछि पाठकको मनमा यस्तो प्रश्नचाहिँ उठिरहन्छ।
गुरुङ भाषाको नेपाली अनुवाद उपन्यासको पुछारमा नभई सम्बन्धित अनुच्छेमै कोष्ठकभित्र दिइएको भए पठन अझै सहज हुने थियो। पुस्तककै परिचय खण्ड/प्रकाशकीयका शब्द सापटी लिएर भन्नुपर्दा ‘लैंगिक विभेदको कठोर सामाजिक यथार्थबाट सुरु भएको उपन्यास ‘पानीघट्ट’ गुरुङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्परासँगै हुर्किएकी एउटी बाहुनी ठिटी जूनमाया र गुरुङ ठिटो रनबहादुरबीचको रोचक प्रेमकथा हो। यस अर्थमा ‘पानीघट्ट’ आफैंमा सामाजिक मूल्य रूपान्तरण तथा सांस्कृतिक अन्तर्घुलनको साक्षी हो।