कलाकारमा सबैभन्दा बढी इमान्दारिता देखिनुपर्ने हो तर विडम्बना त्यो रहेन।
तोल्यानी पिपरा चर्दो जंगलको शशो
जिउदाई छँदा गीत चोर्दाछन् मरिगया कसो।
मौलिक संस्कृति देउडामाथि आक्रमण भइरहेको छ। दिनप्रतिदिन यो क्रम बढ्दो छ। देशमा प्रतिलिपि अधिकार ऐन लागू छ तर कार्यान्वयनमा छैन। सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान आन्तरिक बेमेलका कारण थला परे झैं देखिन्छ। कलासंस्कृति साहित्यसम्बन्धीको जिम्मा प्रज्ञाप्रतिष्ठानले हेर्नुपर्ने, रेखदेख गर्नुपर्ने भएता पनि कलाकार र उपकुलपति डा.टी.एन. जोशीबीच हार्दिकता देखिँदैन। एक्लो वृहस्पति झुटो भने झैं देखिन्छन् उपकुलपति जोशी। सुदूरपश्चिम सरकारले निगरानी राख्नुपर्ने बेला आएको देखिन्छ।
बडो जतनसँग मौलिक भाकाहरू संकलन गरी रेडियो नेपालमा रेकर्ड गरेका ती दिनहरूको याद निकै आउँछ। २०३४ कात्तिकदेखि रेकर्ड गरेका दर्जनौं गीत २०४३ सालदेखि २०५८ सालसम्म निजी लगानीमा म्युजिक नेपालमा रेकर्ड गरिएका झन्डै तीन सय कालीकर्णालीका देउडाका मौलिक भाका रेकर्ड त्यहीकै गाउँमा पु¥याएर सांस्कृतिक सेवा गरेको गर्विलो इतिहास कसरी भुल्न सकिएला ? २० वटा देउडा गीतका अनमोल गीति क्यासेट वास्तवमा देउडा संगीतका सांस्कृतिक जग हुन्, आधारशिला हुन्। तिनै जगको आधारमा आज देउडा संगीतमा मनपरी काम भइरहेको देखिन्छ। वर्तमान पिँढी र भावी पिँढीका लागि यसले सच्चा सांस्कृतिक खुराक दिन सक्दैन।
२०४६ सालमा ‘कठैदैन’ नामक गीति क्यासेटमा समावेश ‘जुनकिणी’ बोलको बैतडी, डँडेलधुरातिरको मार्मिक गीतलाई सत्तरीको दशकमा नयाँ पिँढीले रेकर्ड गरेर वास्तविक स्रष्टाको मानमर्दन गरेको देखिन्छ। यो त नमुना मात्र हो। अरूका गीत गाएर उत्ताउलो बाजा बजार एकैरातमा नाम र दाम कमाउने मनशायले युवाले मीठो स्वरको दुरुपयोग गर्नु भएन। अमृत गुरुङले ‘सा कर्णाली’ बोलको गीतले वास्तविक मौलिकता मेरो दृष्टिमा दिएन। बरु सो गीतले दियो, कर्णाली अञ्चलको भौगोलिक र भाषिक विविधता। यसैगरी, गायक शिशिर योगीले गाएको गीत पनि लोकगीत र देउडाको सामान्य छनकभित्र पर्न गयो–
मलम लाउन्या कोइ भयैन चोट लायाका ठाउँमा
गलिपासो लाउँदो भया साइय तेरा नाममा।
छाता लैझा नन्दलाल मेघ आया रुझल्लई
बैरागीको बाझोमन काँ गया बुझल्लाई।
माथिका यी दुईथरी गीतले फरक धारको मर्म बुझायो। पहिलो गीतले आत्मीयताका विषयमा वर्णन गरेको पाइयो। दोस्रोमा गीत गाउँदागाउँदा मन पनि बैरागी हुने भइहाल्यो भन्ने अर्थ बुझाउँछ। यी गीतका हरफले मात्रै देउडागीत प्रेमीको होइन, प्रकृति प्रेमीतर्फ पनि आल्हादित पार्छ। अझ मौलिक बाजाहरू हार्मोनियम, सारंगी मादल र मुर्चंगा संगीतको माधुर्यतामा यी गीतको मिलनले सांगीतिक स्वाद दिलाउँछ। राजनीति छाडा भएका कारण साहित्य र संगीतमा धेरै ठूलो असर परेको देखिन्छ।
कलाकारमा सबैभन्दा बढी इमान्दारिता देखिनुपर्ने हो तर विडम्बना त्यो रहेन। बिकाउ कलाकार भएका कारण मौलिकता हराउँदै गयो। संस्कृति र संस्कारको मौलिकपन अझै पनि गाउँघरमा हराएको देखिँदैन। तरुणहरूमा भन्दा वृद्धवृद्धाको लवाइखवाइ भेषभूषामा मौलिकता भेटिन्छ। नयाँ वर्षको पहिलो दिन बिसु पर्वमा खाने परिकार, नाचगान, देउडाखेलका रूपरंगमा पुराना पिँढी रमाउछन्। नयाँ पिँढी देउडा गीतसंगीत डिस्कोमा परिणत गरेर देउडाको रूपरंग फेर्न चाहन्छन्। दुवै समूहको सोचाइमा आकाश–जमिनको भिन्नता देखियो।
गण्डकी अञ्चलको मौलिक गीत र संस्कृति ‘कौरा’ले रूप फेरेको छैन। गुरुङ समुदायले आफ्नो संस्कार संस्कृति बचाइराखेको देखिन्छ। संस्कृतिविद् जगमान गुरुङले सार्वजनिक कार्यक्रममा ‘नेपालको अरू ठाउँको रीतिस्थिति र संस्कारमा फेरबदल आउन सक्छ तर गुरुङ संस्कृति भरिलो र दरिलो नै रहनेछ’ भन्नु भएको कुराको याद आउँछ। देउडा संस्कृतिविद् नभएता पनि उहाँले देउडा मौलिक गीत र परम्परा भएकाले यसलाई बचाइराख्न नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ पनि भन्नुभएको थियो।
सुदूरपश्चिममा देउडामात्र प्रमुख संस्कृति र गीत हो भन्ने कतिपय मानिसमा भ्रम छ। तर यो तर्क सरासर गलत हो। मात्र्या, भस्सो, हुडकेउली, भारत, फागलगायत संस्कृतिले सिंगारिएको धनी प्रदेश हो सुदूरपश्चिम र कर्णाली। अझ कर्णाली प्रदेशमा त धामी नचाउने संस्कृति अनौठो छ। यी संस्कृतिजन्य खजानालाई जतनका साथ डोटेली, बझांगी, बाजुरेली, जुम्ली, हुम्ली भाषिकामा गीतका माध्यमले राष्ट्रको सेवा गर्नु अबका गायक–गायिकाको कर्तव्य देखिन्छ। तर त्यस्तो देखिँदैन, कारण थाहा छैन।
तल्लो घट्ट पथ्थरीय मल्लाको पाखो लाउँ
हात् पुग्याले चिउणी समाऊँ स्वर पुग्या डाको लाउँ।
(लय–साँफ्याका साँझ..भन् साली तेरी दिदी काँ छ ?)
२०५२ सालमा म्युजिक नेपालमा रेकर्ड गरेको साँफ्याका साँझ नामक गीति क्यासेटको रमाइलोे देउडा गीत हो माथिको। पंक्तिकारलाई स्वरमा साथ दिने गायिका हुन्– इन्दिरा गुरुङ गोले। अछाम, बाजुरा, बझाङ जिल्लालाई केन्द्रबिन्दुमा राखेर गाएको उक्त गीत पहाडी भुखण्डमा राम्रैसँग चल्यो। त्यो बेला क्यासेटको चलन थियो। ए र बी साइड गरी ८÷१० गीत ती क्यासेटमा समावेश गर्ने गथ्र्यो। सबै मानिसले जापानिज पानासोनिक टेपरेकर्डर खरिद गरी गीतहरू बजाउने गथ्र्यौं, सबै ध्यान दिएरै सुन्थे। जमानाले कोल्टे फेरेको छ। युट्युबको जमाना आयो। सुन्ने र हेर्ने सुविधा एकैपटक देखा पर्यो। भ्युजहरू बढेको देखेर स्रष्टा मक्ख परे।
साँफ्याका साँझ बोलको गीत हुबहु रूपमा केही वर्षपहिले एकजना कलाकारले गाएर मक्ख परे। इमान्दारिता गुमाए वास्तविक स्रष्टालाई थाहा नै नदिई नयाँ किसिमका आधुनिक बाजा समावेश गरी समाजमा फुर्तिलो रवाफ बढाए। यी त उदाहरण मात्रै हुन्। कयौं गीतमाथि अनायस अतिक्रमण गरी स्रष्टाको मेहनत र मौलिकतामाथि बलात्कार गरेको दृश्य हेर्न इमान्दार स्रष्टा अहिले बाध्य छन्। आफू ज्युँदै छँदा देउडा गीतको रङ बदलिएको देख्दा देउडा संगीतका पछि लागेर सेवा गरेको ४६ वर्षको प्रतिफल के यही हो ? चिन्ता लाग्छ।
राम्रा गायक नरेन्द्रराज रेग्मी, अन्तराम विष्ट, भोजराज भट्ट, डिक्रादेवी, भुवन दाहालहरूलाई के कस्तो अनुभूति हुन्छ ? जिज्ञासा बढिरहेछ। देउडा गीतमा मात्र नभएर होलीका गीत वर्षामासमा गाइने घाँसे गीतमा पनि यही प्रवृत्ति देखा परिरहेछ। संस्कृति र संस्कार, प्रतिलिपि अधिकार, लोप हुन लागेका पुराना मौलिक सम्पदा अनि समग्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा–साहित्यबारे प्रान्तीय सरकारले यथाशीघ्र चासो र चिन्ता लिनुपर्ने बेला आएको देखिन्छ। यसबारे ध्यान नदिए समाजमा डरलाग्दो गरी विकृति, विसंगति नबढ्ला भन्न सकिन्न।