लुम्बिनी विकास कोषका योजना प्रमुख भट्टराईविरुद्ध अख्तियारले हाल्यो मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ। पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अध्ययनपश्चात आयोगले आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
उनले भक्तपुरको सूर्यविनायक नगरपालिका-७ स्थित कित्ता नम्बर १३७४/१३७५ को जग्गा खरिद गर्दा लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस रकम लिएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ।
अख्तियारका अनुसार प्रोप्राइटरको बैक खाताबाट जग्गा बिक्रेताको बैक खातामा ४० लाख रुपैयाँ तथा जग्गा खोजी दिने व्यक्तिको बैंक खातामा ४० लाख गरी ८० लाख रुपैयाँ रकम जम्मा गराई निज सरोज भट्टराईले भने अनुसार जग्गा खोजी दिने व्यक्तिले प्राप्त गरेको ४० लाख मध्ये ३८ लाख ७ हजार २ सय समेत जग्गा बिक्रेताको बैक खातामा जम्मा गराएको पाइएको छ।
भट्टराई आफैंले प्रत्यक्ष रूपमा नलिई आमा जनक नन्दनी भट्टराईका नाममा जग्गा खरिद गर्दा उक्त रिसवत रकम प्रयोग गरी भ्रष्टाचार निवारण ऐन,२०५९ अन्तर्गतको कसुर गरेको देखिएपछि आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
भ्रष्टाचारजन्य कसुरबाट आर्जन गरेको देखिएपछि अख्तियारले उक्त जग्गा समेत जफतका लागि मागदाबी लिइएको छ। साथै उनकी आमालाई पनि मुख्य प्रतिवादी सरोज भट्टराईलाई हुने सजाय सरह नै मागदावी गरिएको छ।