आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ ६९ रनले पराजित
काठमाडौं : आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ ६९ रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा नेपालले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै २१५ रन मात्र बनाएको हो।
नेपालका लागि अर्जुन कुमालले सतक प्रहार गरे। उनले ११८ बलमा १४ चौकासहित १०२ रनको योगदान गरे। त्यसैगरी अर्जुन साउदले ३६ रन बनाए भने अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्।
आयरल्यान्डका लागि वेन ह्वाइटले सर्वाधिक ५ विकेट लिए। त्यसैगरी गाभिन होइले ४ विकेट र फियोन ह्यान्डले १ विकेट लिए।
त्यस अगाडि नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ का स्टेफन डोहेनीले शतक प्रहार गरेकाथिए। उनले १२९ बलमा २ छक्का र ८ चौकासहित १०७ रनको योगदान गरे।
त्यसैगरी पिटर मुरले ४४ रन,म्याथ्यू हम्फ्रेजले २३ रन, मोरगन टोपिङले २१,फियोन ह्यान्डले २० रन,वेन ह्वाइट १९ रन र गाभिन होइ १४ रन बनाएर पेभेलियन फर्के। नेपालका रिजन ढकाल र रन्जित कुमारले ३/३ विकेट,विकाश आग्री र साहब आलमले १/१ विकेट लिएका थिए।