बदलिँदो घोडेजात्रा संस्कृति

बदलिँदो घोडेजात्रा संस्कृति

नेपाल जहाँ अनेक संस्कृतिमा हरेक तिथि चाडपर्वको आफ्नै प्रकारको मौलिक विशेषता छन्। प्रत्येक तिथिको एउटा न एउटा महत्त्व छ। यसरी घोडेजात्रा, भोटोजात्रा, गाईजात्रा र इन्द्रजात्रा काठमाडौं उपत्यकाका ऐतिहासिक मौलिक एवं सांस्कृतिक पर्व हुन्। जुन पौराणिक, ऐतिहासिक तथा धार्मिक संस्कारसँग आबद्ध छन्। फलतः वर्षदिन नै मनाइने चाडमध्ये घोडेजात्रा पनि एक प्रमुख पर्व हो। अतः संस्कृतिमा निकै धनी देश छ नेपाल। हरेक दिन एक न एक पर्व परेकै हुन्छ।

आफ्नो संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्नु प्रत्येक नेपालीको परम कर्तव्य हो। चाडपर्वमा नेपाली रमेरै मनाउने गर्छन्। यसमा पनि नेवार समुदायका जातिहरूमा विशेष महत्त्व यस पर्वले राख्छ। यसर्थ टुँडिखेलमा मनाउने जात्रा भएकाले घोडेजात्रा टुँडिखेलबारेका किंवदन्तीसँग पनि जोडिएर आउँछ। यसर्थ घोडेजात्रा घोडाप्रतिको सम्मान त हुँदै हो तर यो घोडा दौड नभएर जात्रा भएकाले धार्मिक र सांस्कृतिक मान्यतासँग पनि यसको सम्बन्ध छ। यो चाड पिशाच चतुर्दशीको भोलिपल्ट औंसी तिथिमा मनाइने यो पर्व भएकाले यसले तान्त्रिक मान्यतालाई आत्मसात् गरेको पाइन्छ। किनकि, घोडा दौडाएर पिशाच, दुष्टात्मा भगाउने कार्य र विश्वासलाई मल्लकालको बढ्दो तान्त्रिक विधाको प्रभावसँग जोडेर हेर्दा पनि पुष्टि हुन आउँछ।

घोडेजात्रा चैत्र कृष्ण औंसीका दिनमा पर्छ। यस वर्षको यही चैत २६ गते सोमबार परेको छ। यसलाई पिशाच चतुर्दशी पनि भन्छन्। यस दिन टुँडिखेलमा घोडा दगुराउने जात्राका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा पनि हुन्छन्। यो घोडेजात्रा नेवार समुदायको पनि ठूलो चाड हो। यस दिन भगवान् शिवजीको धूमधामसँग पूजाआजा गरिन्छ। यसमा अझ बढी नाचगान, बाजागाजा र परम्परागत भेषभूषा नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन्। उक्त दिन काठमाडौंको टुँडिखेल नजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजा अर्चना पनि गर्ने परम्परा छ।

यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाई दिई सफासुग्घर तुल्याई मद्यमांस आदि तामसी भोग चढाइन्छ। यस भोगमा छ्यापी, लसुनजस्ता उत्तेजक भोजनको प्राचुर्य हुन्छ। भनिन्छ– घोडेजात्रापछि लसुन छिपिएको हुन्छ, खान लायक हुँदैन भन्ने किंवदन्ती पनि आजसम्म त्यतिकै चरितार्थ पाइन्छ। यसको साथै छिटोछरितो, बलवान् जनावरका रूपमा घोडाको महत्त्व पौराणिक कालदेखि नै सर्वस्वीकार्य भएकाले नै मानिसले घोडालाई तालिम दिई कज्याएर आफ्नो अनुकूल यातायातको साधन र मनोरञ्जनका लागि उपयोग गर्दै आएका छन्।

यसरी वैदिककालमा घोडाको निकै महत्त्वपूर्ण भूमिका र मान्यता देखिन्छ। उसबेला चक्रवर्ती राजाले आफ्नो प्रतिष्ठा, राज्यको सीमा सुरक्षा स्थिर राख्न, राज्यबाट कर उठाउन श्यामकर्ण घोडालाई विशेष रूपले सजाई विशेष अधिकार दिई दिग्विजय गर्न छाडेका र सो कार्य सम्पन्न भएपछि उनले अश्वमेघ यज्ञ सम्पन्न गरेका पुराणहरूमा उल्लेख पाइन्छ। यसको अलावा सामाजिक प्रतिष्ठान र मान्यतामा नेपालको कर्णाली अञ्चलको मुगु जिल्लाको घोडा भेडा प्रथामा स्थानीय जनतामा भैपरी आउने मुद्दामामिला, झै–झगडा, अंशबन्डा आदिमा स्थानीय भद्रभलादमी मध्यस्थकर्ताको सहयोगमा कुनै पनि समस्याको समाधान गरिदिने मध्यस्थकर्तालाई भेडाको मासु खुवाई घर फर्कंदा घोडामा चढाएर पठाउने नियमको उल्लेख पाइन्छ।

लोकोकृतानुसार लुकुवा महादेवका बारेमा अर्को एउटा कथा पाइन्छ। अघि शिवजीले भष्मासुर दानवको तपस्यादेखि खुसी भएर जसको शिरमा हात राख्लास् त्यो भष्म हुनेछ, भनेर वरदान दिएपछि भष्मासुर शिवजीकै शिरमा हात राख्न जाइलाग्यो। त्यो लुक्न गए। सो कुरा थाहा पाएर विष्णुनारायणले मोहिनी रूप लिएर भष्मासुरलाई भलाइ उसको आफ्नै शिरमा हात राख्न विवश गराए। भष्मासुर आफैं भष्म भयो। यसरी भष्मासुरको नास गराएपछि शिवजीलाई रछानबाट उतारी स्नान गराई पवित्र गराए। त्यसैले यस दिनलाई पिशाच चतुर्दशीका रूपमा प्रतिष्ठित गरी लुकुवा महादेवको पूजा गर्ने परम्परा चलाए। यो चलन काठमाडौंमात्र नभै अधिराज्यका नेवार समाज भएका प्रायः सबै ठाउँमा देखिन्छ। यसै दिनदेखि काठमाडौंमा टंकेश्वरी, भद्रकाली आदि मातृका देवीहरूको खट्यात्रा हुन्छ। मातृका देवीहरूमध्ये पनि यस यात्रामा मुख्य भद्रकालीको यात्रा मानिन्छ।

घोडेजात्राअघि आजको जस्तो रूपमा हुँदैनथियो। जुन तबेलाबाट घोडा ल्याएर मत्याई दौडाइने गरिन्थ्यो। राजाहरूले भद्रकाली दर्शन गर्ने प्रथा थियो। जुनबेला दर्शन गर्न जाँदा राजा घोडामा जाने गर्थे। त्यसबेला राजाको पछिपछि मन्त्रीहरू र दरबारियाहरूको ताँती छुट्थ्यो। वस्तुतः राजाको दर्शनयात्राको शोभा हेर्न टुँडिखेलमा जनता भेला हुने गर्थे। यसरी राजाको घोडे यात्राले पछि गएर औपचारिक घोडेजात्राको रूप हुन गएको अनुमान गर्न सकिन्छ। यस जात्राको पहिलाको रूप पाटनको बालकुमारीको चौरमा हिजो आजसम्म पनि देख्न पाइन्छ।

पछिल्लो समय विभिन्न मनोरञ्जन थपिँदै गए र यो घोडेजात्राको तयारी धेरै दिन अघिदेखि गरिन थालेको हो। यस जात्राको मुख्य आकर्षण पक्ष भन्नाले घोडा, मोटर, मोटरसाइकल, साइकल, रेसजस्ता खेलहरूको प्रतियोगिता हो। यसका अलावा विभिन्न खेल, तमाशा, लडाइँका प्रदर्शन, सर्कस पनि देखाइन्छ। फौजीले हेलिकप्टरबाट विभिन्न किसिमका रोचक कार्यक्रम बढी लोकप्रिय हुन थालेका छन्। जसले गर्दा घोडेजात्रा हेर्नेको संख्यामा तीव्र प्रतिस्पर्धा हुन थालेको छ। अहिले आएर साधारण जनताले पनि मोटरसाइकल, साइकल, दौडमा भाग लिन पाउँछन्।

घोडेजात्राको ऐतिहासिक मान्यता, मूल्य र महत्त्व छ। यो प्रचलनको सुरुआत गर्ने राजा जयप्रकाश मल्ल हुन्। यो जात्रा खासगरी काठमाडौं उपत्यकाको तीन सहरमा भव्यरूपमा मनाइन्छ। यो जात्रामा विशेषगरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायमै छ। यो चाड तीन दिनसम्मको भएता पनि अन्तिम दिन चैत्र शुक्ल परेवाको दिन मातृका देवीको खटहरू सहरमा परिक्रमा गराई ६ वटा गल्लीबाट ल्याई असनको चोकमा सातवटा खट घुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोगभेट भएको भनिन्छ भन्ने किंवदन्ती छ।

नेवारी सम्प्रदायले आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ। जसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट स्पष्ट हुन्छ। घोडेजात्रा पर्व विशेषता कृषकवर्गले आनन्द गर्ने चाड हो। जनश्रुतिअनुसार, घोडेजात्रा गरिब कृषकले पनि जंगबहादुरको घोडा किन्छ भनी व्यंग्य गरेको पाइन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.