शैक्षिक सत्र अगावै गुल्मीमा आइपुग्यो पाठ्यपुस्तक

शैक्षिक सत्र अगावै गुल्मीमा आइपुग्यो पाठ्यपुस्तक
सुन्नुहोस्

गुल्मी : सरकारले समयमै पाठ्यपुस्तक उपलब्ध नगराउँदा विद्यार्थीले पठनपाठनमा समस्या भोग्दै आएका थिए। शैक्षिक सत्र सुरु भएको महिनौं बितिसक्दासमेत ग्रामीण क्षेत्रका विद्यार्थी पाठ्यपुस्तकको पर्खाइमा बस्नुपर्ने बाध्यता थियो। तर, गुल्मीमा नयाँ शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेका छन्। आगामी शैक्षिक सत्र २०८१ का लागि जिल्लाभरका विद्यालयमा पुग्ने गरी समयमै पुस्तक आइपुगेको पुस्तक तथा स्टेशनरी व्यवसायीले जनाएका छन्। 

यतिबेला विद्यार्थी संख्याको आधारमा माग अनुसार पुस्तक विद्यालयसम्म पुर्‍याउने काम भइरहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गुल्मीका सचिव गोपाल बस्नेतले जानकारी दिए। कक्षा १ देखि ४ सम्म सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पुग्ने गरी जिल्लामा करिब पाँच हजार सेट पुस्तक आएका छन्। त्यस्तै कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको लागि सात हजार सेट पुस्तक आएका छन्। कक्षा १ देखि ४ सम्म धेरै विद्यार्थी निजी विद्यालयमा भर्ना हुने भएकोले उपल्लो कक्षाको तुलनामा कम पाठ्यपुस्तक आएका हुन्।

विगतका वर्षमा समयमा पाठ्यपुस्तक नहुँदा र प्रयाप्त उपलब्ध नहुँदा यसको मार विद्यार्थीले खेप्दै आएका थिए। यसवर्ष भने प्रयाप्त सेटमा पुस्तक आइपुगेका छन्। जनक शिक्षा सामग्री केन्द्रले मागको आधारमा सबै पुस्तकहरु उपलब्ध गराएको व्यावसायीको भनाइ छ।  

जिल्लामा  ४६ वटा पुस्तक तथा स्टेशनरी व्यवसायी रहेका छन्। जिल्लामा सामुदायिकतर्फ प्राथमिक विद्यालय २८८, निम्न माध्यमिक विद्यालय ५९ र माध्यमिक विद्यालय (कक्षा ९ र १०) १२७ वटा रहेका छन्। त्यस्तै संस्थागततर्फ प्राथमिक २७, निम्न माध्यमिक आठ र माध्यमिक १८ विद्यालय रहेको जिल्ला शिक्षा तथा समन्वय इकाई, गुल्मीले जनाएको छ। सरकारले विकट जिल्लाका विद्यालयमा समेत पाठ्यपुस्तक पठाउने कामलाई तीव्र पारिरहेको छ। निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुको लागि निजी प्रकाशन गृहले प्रकाशन गरेका कारण समयमै पुस्तक आइसकेको जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए। 

‘विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको महिनौ बितिसक्दा समेत विद्यार्थीको हातमा पुस्तक नपुग्दा विविध समस्या झेल्नु पर्थ्यो', उनले भने, ‘यो आर्थिक वर्षमा शैक्षिक सत्र अगावै पुस्तक जिल्लामा आइपुगेका छन्, आउँदो वैशाख १० गतेसम्म जिल्लाका सबै विद्यालयमा  पाठ्यपुस्तक पुग्नेछन्।’ 

‘माग अनुसार पहिलेका वर्षमा पाठ्यपुस्तकको सेट ढिलो र कम आउने गर्दथ्यो तर , यो वर्ष प्रयाप्त सेटमा पुस्तक उपलब्ध भएका छन् जसका कारण विद्यार्थीलाई पठनपाठनमा सहज हुने छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.