वैभव वीरगन्ज, फेरिएको वीरगन्ज

वैभव वीरगन्ज, फेरिएको वीरगन्ज

वीरगन्ज  : ‘तुम्हारे सहरका मौसम बडा सुहाना लगे, मै एक साम चुरालु अगर तुम्हे बुरा ना लागे’। (तिम्रो सहर त निक्कै मनमोहक पो भएछ, म त्यहाँको एक रात चोर्न चाहन्छु यदि तिमीलाई नराम्रो लाग्दैन भने।) विराटनगरका इन्जिनियर सरोजानन्द मिश्राले वीरगन्जका राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई सायरी लेखेर पठाए। माघ तेस्रो साता वीरगन्ज घुमेर फर्केपछि मिश्राले यस्तो सायरी लेखेका थिए। वीरगन्जमा शनिबार आयोजित एक कार्यक्रममा चन्द्रकिशोरले उक्त सायरी पढेर सुनाए। 

हुन पनि मुलुकको प्रमुख आर्थिक नगरी वीरगन्ज दुई चार वर्षअघि फोहोर र मच्छर (लामुखुट्टे) को सहरका रूपमा चिनिन्थ्यो। साँघुरा सडक, रिक्साको ठलेमठेल, जताततै फोहोर अनि, मच्छरको आतंक हुन्थ्यो। तर, आजभोलि वीरगन्ज फेरिएको छ। १० वर्षअघि विरगन्ज पुगेकाले इन्जिनियर मिश्राकै शैलीमा भन्नेछन्– वीरगन्ज त फेरिएछ। घुमौं घुमौं लाग्ने भएछ।’ 

दुई, तीन वर्षअघिसम्म वीरगन्जको मेनरोडमै फोहोर र नालाको दुर्गन्धका कारण नाकै थुनेर हिँड्नुपर्ने बाध्यात्मक अवस्था हुन्थ्यो। तर अहिले त्यो बाध्यता छैन। वीरगन्जका मुख्य सहरी क्षेत्रका सडक स्वच्छ र सफा बनेका छन। महानगरले विरासतमा पाएका धार्मिक र पर्यटकीय सम्पदाहरू सौन्दर्यकरण गरेर आकर्षक पारेको छ। बाहिरबाट आउनेहरूका लागि ती सम्पदाहरू अहिले फोटो खिच्ने र सेल्फी स्पोर्ट बनेका छन्। 

वीरगन्ज महानगरको नेतृत्व मेयर राजेशमान सिंहले सम्हालेको झन्डै २२ महिना पुगेको छ। त्यसयता महानगरको नेतृत्वले वीरगन्जलाई ‘वैभव वीरगन्ज’ बनाउने नारा लिएर सहरको सरसफाइ र सौन्दर्यकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ। त्यसैको नतिजा हो अहिलेको स्वच्छ र सफा वीरगन्ज।

सडक, नाला वा खाली जग्गामा जथाभावी फोहोर फाल्नेविरुद्ध १५ महिनादेखि वीरगन्ज महानगरपालिकाले आर्थिक जरिवाना तिराउने अभियान चलाएको छ। जथाभावी फोहोर फाल्ने झन्डै एक हजार जना आर्थिक कारबाहीमा परिसकेका छन्। महानगरपालिकाको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँका अनुसार, जथाभावी फोहोर फाल्ने ९ सय ९२ जनालाई कारबाही गरी जरिवाना तिराइएको छ। २ सय ६५ वटा संस्था र ७ सय २७ जना व्यक्तिलाई जरिवाना गरी त्यसबापत २७ लाख ८१ हजार १ सय ५ रुपैयाँ राजस्व संकलन पनि गरिएको मियाँले बताए। 

मियाँले भने, ‘जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न सुरुका चरणमा हामीले टोलटोलमा पुगेर सचेतनामूलक कार्यक्रम ग¥र्यौं। तर त्यसले काम नगरेपछि २०७९ पुस १७ गतेदेखि आर्थिक जरिवाना नै तिराउन थाल्यौं। जसका कारण अहिले जथाभावी फोहोर फाल्ने प्रवृत्तिमा निक्कै कमी आएको छ। अनि सहर पनि पहिलेको भन्दा अहिले निक्कै सफा र स्वच्छ पनि देखिन थालेको छ। 

महानगरले हरेक वडामा बिहान र साँझ गरी दुई चरणमा गरेर घर, पसल वा संस्थाका फोहोर संकलनका लागि ट्याक्टर र दुईपाङ्ग्रे ठेला पठाउने गरेको जानकारी पनि उनले गराए। यसका साथै सडकका कसिङ्गरलगायतका सुक्खा फोहोर सफाइ गर्नका लागि बिहान र बेलुकी गरी दुई समयमा सडक सरसफाइ गर्ने गरिन्छ। महानगरका नाला र ढल सफाइ पनि नियमित रूपमा भइरहेको जानकारी उनले दिए। वीरगन्जमा वर्षाका बेला ढलको पानीले हुने डुबानको समस्या निराकरणका लागि यसवर्ष वर्षा सुरु हुनुअगावै करिब ९ किलोमिटर ढल पूर्ण रूपमा सफा गरिएको बताए। ढल र ठूला नालामाथि बनाइएका संरचनाहरू भत्काइएका छन्। 

वीरगन्जलाई धार्मिक पर्यटनको हब बनाउने मेयर सिंहको नारालाई सार्थकता दिन महानगर क्षेत्रमा वर्षौंदेखि ओझेलमा रहेका ऐतिहासिक मठमन्दिरहरूको महानगरपालिकाले सौन्दर्यकरण गरेको छ। वीरगन्जकै प्रमुख शक्तिपीठ गहवामाई मन्दिर र मन्दिर प्रांगणको स्तरोन्नति र सौन्दर्यकरण गरी आकर्षक बनाइएको छ। यस्तै मन्दिर प्रांगणमा रहेका पुराना संरचना हटाएर पार्कजस्तै फराकिलो र खुल्ला बनाइएको छ। यस्तै काठमाडौंको पशुपतिनाथ मन्दिर जस्तै रहेको वीरगन्ज चिनी मिल परिसरको झन्डै चार दशक पुरानो पशुपतिनाथ मन्दिरको पनि सौन्दर्यकरण गरिएको छ। वीरगन्ज— १० घडिअर्वामा तीन दशक बढी समयदेखि एक व्यक्तिको निजी कब्जामा रहेको श्रीरामजानकी मन्दिर महानगरले आफ्नो स्वामित्वमा ल्याएर स्तरोन्नति र सौन्दर्यकरण गरेको छ। उक्त मन्दिरमा भारत अयोध्याको नवनिर्मित राम मन्दिरको समुद्घाटन गरिएकै दिन गत माघ ८ गते भगवान् श्रीराम, माता सीता र भगवान् हनुमानको मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ। त्यहाँ हरेक साँझ हुने आरती र पूजापाठमा सयौंको सहभागिता हुने गरेको छ। 

वीरगन्ज—१४ पिपरामा रहेको झन्डै १ सय ३५ वर्ष पुरानो नरसिंह भगवान्को मन्दिरको पुनर्निर्माण र सौन्दयकरणका लागि ५० करोड रुपैयाँ विनियोजन गरेर काम पनि सुरु गरिसकिएको मेयर सिंहले जानकारी दिए। यस्तै, वीरगन्ज—१९ विन्ध्यवासिनीमा रहेको विन्ध्यवासिनी माईको मन्दिर पुनर्निर्माण र स्तरोन्नतिका लागि डीपीआर (विस्तृत परियोजना प्रस्ताव) तयार भइसकेको भन्दै सिंहले छिट्टै काम सुरु गरिने बताए। 

भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगन्जको इनर्वामा रहेको ऐतिहासिक शंकरचार्य प्रवेशद्वारको पनि सौन्दर्यकरण गरिएको छ। यस्तै वीरगन्जको पहिचानको रूपमा स्थापित घण्टाघरको रंगरोगन र विद्युतीय बत्तीले सजाइएको भने घण्टाघर परिसरभित्रै वाटर फाउन्टेन जडान गरी अझ आकर्षक बनाइएको छ। यस्तै वीरगन्ज— १४ गण्डकमा रहेको सहिद तेजबहादुर अमात्यको सालिक परिसरको पनि रंगरोगन गरी त्यहाँ पनि वाटर फाउन्टेन जडान गरिएको छ। सालिक परिसरकै छेउको खाली जग्गामा विद्युतीय सौन्दर्यकरण गरेर सेल्फी स्पोर्ट निर्माण गरिएको छ। 

वीरगन्ज महानगरपालिकाले ‘उज्यालो अभियान’ पनि चलाएको छ। जसका कारण वीरगन्ज सहर रातिको समयमा झिलिमिली हुन्छ। महानगरका ३२ वटै वडामा गरी हालसम्म १३ हजार ३ सय २२ वटा विद्युत्को पोलमा बत्ती जडान गरिएको छ। यस्तै, महानगरको सहरी क्षेत्रमा रहेका ४ सय ५० वटा पोलमा स्ट्रिपी लाइटिङ (रंगीन बत्ती) लगाइएको महानगरका इन्जिनियर राजीव उपाध्यायले जानकारी दिए। यसका अतिरिक्त महानगरपालिका आफैंले दुई फरकफरक स्थानमा हाईमास्ट लाइट पनि जडान गरेको उपाध्यायले बताए। वीरगन्ज सहरलाई झिलिमिली बनाउनका साथै रातभरि उज्यालो राख्न महानगरले ‘उज्यालो अभियान’ कार्यक्रम चलाएको उनले बताए। 

वीरगन्ज सहरलाई ‘हरित सहर’ बनाउने अभियानअन्तर्गत सहरका विभिन्न स्थानका सडकको डिभाइडर र सडकको दायाँबायाँमा वृक्षरोपण गरिएको छ। महानगरका विभिन्न स्थानका सडकका डिभाइडर र सडकका दायाँबायाँ १३ हजार ५ सय वटा बिरुवा रोपिएको महानगरको वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका वन प्राविधिक दशरथ रौनियारले बताए। 

यस्तै, वीरगन्जका अर्को एक पर्यटकीय गन्तव्यस्थलका रूपमा वीरगन्ज महानगरपालिकाले वीरगन्ज—१९ मा ५० करोड रुपैयाँको लागतमा कृत्रिम ताल बनाउने प्रक्रिया थालिसकेको छ। तिलावे जल पर्यटक क्षेत्र परियोजनाअन्तर्गत वीरगन्ज—१९ स्थित तिलावे नदी छेउको २५ बिघा क्षेत्रफलमा कृत्रिम ताल बनाउने प्रक्रिया थालिसकिएको इन्जिनियर प्रकाशमान अमात्यले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.