रामराज्य अर्थात् सर्वे भवन्तु सुखिन

रामराज्य अर्थात् सर्वे भवन्तु सुखिन

तेत्रा युगमा रामले जुन शासन स्थापित गरे। त्यो यो धर्तीकै आदर्श शासन थियो। यो शासनको मूल मर्म भनेकै सर्वे भवन्तु सुखिन थियो। आज हामी जुन समाजवाद र साम्यवादको कुरा गर्छौं, त्यसको उच्चतम् रूप थियो।

वैदिक सनातनी सभ्यताका 

विराट आराध्य
गीतामा भनिएको छ–
यदा यदा ही धर्मस्य ग्लानिर्भवती भारत
अभ्युत्थानमं धर्मस्य तदात्मानं सृजाम्ह्याम
परित्राणाय साधुनां विनाशाय च दुष्टकृतामं
धर्मसंस्थापनार्थाय सम्भावी युगे युगे।

जबजब धर्तीमा अत्याचार बढ्दै जान्छ। धर्म विलुप्त हुँदै जान्छ। साधुहरू दुष्टहरूको प्रताडनाको सिकार हुँदै जान्छन्। तब धर्मको रक्षार्थ बेलाबेलामा जन्मी रहनेछु।

श्रीहरि विष्णुले लोककल्याणको निम्ति समयसमयमा विभिन्न अवतार लिए, त्यही प्रमुख अवतारमध्येका सातौं अवतार थिए– श्रीराम।

राम नामको अर्थ

राम अर्थात् दुई अक्षरको नाम। जुन नामले वैदिक सनातनीहरू माझ गहिरो सार्वभौमिक सम्बन्ध राख्छ।

रमन्ते सर्वेजन गुणहीन अश्विन राम
रमेण कणे कणे इतिराम

जो सबै गुणमा रम्छन्। जो कण कणमा छन्। 

तिनै राम हुन्। जो रमण गर्छन्। रमण गराइन्छन्। तिनै राम हुन्।

हाम्रो आर्यव्रतमा राम सधैं रमण गर्छन्। हाम्रो आर्यव्रत सधैं राममा रमण गर्छ। रामलाई खोज्न कही जानै पर्दैन। उनी हाम्रै वरिपरि छन्। आकाशमा राम (इन्द्रधनुष) भएर देखा पर्छन्। नदीमा रामगंगा भएर बग्छन्। नगरहरूमा रामनगर भएर बस्छन्। पहाडमा रामगिरि भएर चुलिन्छन्। अन्नमा रामदाना भएर भोकले रन्थनिएका आँतलाई तृप्त पार्छन्।

शिष्टाचारमा आपसमा ‘रामराम’ ‘सीताराम’ चल्छ। हर्षमा ‘धन्य राम’ चल्छ। विस्मातमा ‘हे राम’ चल्छ जीवनको अन्त्यमा ‘राम नाम सत्य हो’ चल्छ। जता हे¥यो उतै राम नै राम देखिन्छ।

रामनवमी

वाल्मीकि रामायण लेखिएको छ–

चैत्रे नावमिके तिथौ
नक्षेत्रे दितिदैवत्ये स्वच्च्यंसंस्थेषु पन्चसु
ग्रहेषु कर्कटे लग्ने वाक्पताविन्दुना सह।

वाल्मीकि रामायणमा प्रस्तुत श्लोकअनुसार रामको जन्म तेत्रा युगको चैतमासको नवमी तिथिमा भएको पाइन्छ। त्यसैले चैत्रमासको नवमी तिथि रामनवमीको रूपमा चर्चित छ। त्यसैले यो दिनलाई अति पावन दिन मानिन्छ। यही दिन अविश्वसनीय परमार्थिक गुणले सम्पन्न, अदम्य साहस, पराक्रमले भरिएका, सनातनीहरूका अप्रीतम भगवान् राम जन्मिएका थिए। साँच्चै रामको जीवन पवित्र अनुपालनाको जीवन थियो। अद्भुत बेदाग चरित्र, अतुलनीय सादगी, उल्लेखनीय त्याग सराह्रनीय आत्मबलिदानको जीवन थियो। उनी मर्यादा पुरुषोत्तमको रूपमा पनि आलोकित छन्। यसैले पनि रामनवमी हिन्दु धर्मावलम्बीहरूका निम्ति विशेष दिन हो। यो दिन व्रत, उपवास बसिन्छ। राम मन्दिरमा पूजाआजा, भजन कीर्तन हुन्छ। श्रीराम सूर्यवंशी थिए, त्यसैले यो दिन सूर्यलाई पूजा गर्नु र अध्र्य दिनुको विशेष महŒव छ।

रामको जीवनी

जबजब भगवान् विष्णुले यो धर्तीमा मानव अवतार लिए, माता लक्ष्मी र शेषनागलाई पनि साथमा लिएर जन्मिए। राम अवतारमा माता लक्ष्मी, माता सीता र शेषनाग भ्राता लक्ष्मणको रूपमा जन्मिए। सबैभन्दा प्राचीन र विश्वसनीय कृति वाल्मीकि रामायणअनुसार श्रीरामको कुलको सुरुआत मनुको दोस्रो पुत्र वाकुबाट सुरु भएको मानिन्छ। वाकुका पुत्रहरू तज थिए– विपुती, वर्ण, कुकस्त, अनन्य, पृथु, विश्वगन्धी आदि। एवं रीतले राजा मानदाताको हाँगोबाट हरिश्चन्द्र, रोहितासु, ​​​​​​​हरितासु हुँदै दिलीपसम्म आइपुग्छ। दिलीपबाट भगीरथ, सगर आदि हुँदै ऋतुपर्ण, खटवाङ, रघु, अज, दशरथ हुँदै राममा आइपुग्छ।

​​​​​​​अयोध्याका राजा दशरथका तीनवटी रानी थिए– कौशल्या, कैकेयी र सुमित्रा। तर तीनवटै रानीबाट पुत्र नभएपछि राज्य कसले सम्हाल्ने हो भनेर राज दशरथ औधी चिन्तित थिए। ऋषि वशिष्ठको सल्लाहअनुसार उनले पुत्रेष्ठी यज्ञ गराए। उक्त यज्ञको फलस्वरूप पायस उत्पन्न भयो। त्यही प्रसाद खाएपछि रानीहरू गर्भवती भए। सुमित्राबाट लक्ष्मण र शत्रुघ्न जन्मिए। कैकेयीबाट भरत जन्मिए। जेठी कौशल्याबाट वैदिक सनातनीहरूका विराट आरध्य प्रभु श्रीराम जन्मिए।

एकातिर नारायण विष्णु रामको रूपमा यसरी जन्मिएका थिए भने अर्कातिर माता लक्ष्मी मिथिलाको जनकपुरमा सीताको रूपमा जन्मिएकी थिइन्। किंवदन्तीअनुसार राजा जनकले सुनको हलो चलाउँदै जाँदा जमिन मुनिबाट सीता जन्मिएको भन्ने लोकश्रुति छ। बाल्यकालदेखि नै श्रीराम बहुत सहृदयी र विनयशील थिए। पिताको सबैभन्दा निकट थिए। पितृभक्त थिए। उनको शिक्षादीक्षा गुरु वशिष्ठको आश्रममा भएको थियो। उनले बाल्यकालबाटै आफ्नो पराक्रमको अनुक्रम सुरु गरेका थिए। सानै उमेरमा गुरुकुलमा हुँदा होम, होमादी, यज्ञमा बिध्न, बाधा सिर्जना गर्ने कयौं राक्षसको वध गरेका थिए।

एकपटक महर्षि विश्वामित्रसँगै राम–लक्ष्मण मिथिला गएका थिए। त्यतिखेर राजा जनकले आफ्नी छोरी सीताको निम्ति स्वयंवरको आयोजना गरेका थिए। जहाँ विभिन्न राज्यका राजकुमारको जमघट थियो। स्वयंवरको सर्त थियो। जसले शिव धनु उठाएर यसमा ताँदो चढाउन सक्छ, उसले मात्र राजकुमारी सीतासँग विवाह गर्नेछ। तर यो कसैले गर्न सकेन। यसबाट राजा जनक यो धर्तीमा कोही शूरवीर छैन भन्ने चिन्ताले अत्यन्त व्याकुल भए। के साँच्चै धर्तीबाट पराक्रमी वीरहरू विलुप्त भएका हुन् ? कसैले पनि धनु डेग चलाउन सकेन। त्यहाँ संसारका अति नै बलशाली राजाहरूको पनि उपस्थिति थियो। शिवको अनन्य भक्त देवराज इन्द्रलाई समेत पराजित गरेर पृथ्वीलाई दग्ध पार्ने रावणको पनि उपस्थिति थियो। उसले पनि धनुष टसको मस गर्न सकेको थिएन।

यत्तिकैमा जनकको दरबारमा प्रभु रामको आगमन हुन्छ। उनको शौर्य र तेजले पूरै माहोल प्रकाशित हुन्छ। उनको एक स्पर्शले धनुष टुक्राटुक्रा हुन्छ। भगवान् राम र सीताको स्वयंवर सम्पन्न हुन्छ। एवं उनका भ्राता लक्ष्मण, भरत, शत्रुघ्नको क्रमशः उर्मिला, श्रुतकृति, माण्डवीसँग विवाह सम्पन्न हुन्छ। सारा अयोध्यावासी हर्ष र खुसीले गद्गद् हुन्छन्।

प्रभुरामको विवाह सम्पन्न भएपछि राजा दशरथले रामलाई राजा बनाउने सुनिश्चित गरेका हुन्छन्। तर राजा दशरथका माइली रानी कैकेयीको दासी मन्थराले यसलाई भाँड्ने खेल सुरु गर्छे। रामको सौतेनी आमाकैकेयी रामलाई राजा नबनाएर आफ्नो छोरा भरतलाई राजा बनाउन चाहन्थिन्। त्यसैले उनले दशरथसामु रामलाई १४ वर्ष वनवास पठाउने र भरतलाई राजगद्दी सुम्पिने माग गरिन्। दशरथको मनले त यसो गर्न मानिरहेको थिएन तर उनी आफ्नो वचनले बाँधिएका थिए। उनले मुटुमाथि ढुंगा राखेर रामलाई वनवास पठाए। आफ्ना भाइ लक्ष्मण, सीताका साथ १४ वर्षका निम्ति वन प्रस्थान गरे।

पुत्र बिछोडको वियोगमा राजा दशरथको परमधाम भयो। यसो हुनु नै थियो। राजा दशरथलाई अञ्जानमा बाण चलाउँदा मृत्यु भएका पितृभक्त श्रवण कुमारका बाबुआमाको श्राप थियो। भाइ भरत दाजु रामका परमभक्त थिए। उनले वनमा गएर रामलाई फर्काउन अनेकौं कोसिस गरे। तर राम पितृभक्त थिए। पिताको आज्ञा उल्लंघन गर्न चाहँदैनथिए। 

भरतले आफू राजा नभई रामको पादुका गद्दीमा राखेर राज्य गर्ने घोषणा गरे।

वनमा रहँदा रामले अत्यन्तै सादगीपूर्ण तपस्वीको झैं जीवन जिए। उनी जहाँ पुग्थे, बस्नका निम्ति त्यही झुपडी बनाउँथे। त्यही भूमिमा सुत्थे। कन्दमूल ल्याएर खान्थे। प्रतिदिन साधना गर्थे। आफैंले तयार गरेको वस्त्र धारण गर्थे। धनुष र बाणको सहायताबाट जंगलका पशु र राक्षसबाट सबैको रक्षा गर्थे। जंगलका ऋषि, मुनि, साधु, सन्त राक्षसको आतंकबाट त्रसित थिए। यज्ञ होम होमादी बाधा अड्चन खडा गर्थे– राक्षसहरू। प्रभु श्रीरामले बर्बरहरूबाट जोगाए। उनी वेदको पालना गर्थे। गाई, ब्राह्मणलाई औधी श्रद्धा गर्थे। अत्रि आदि मुनिहरूलाई राक्षसबाट मुक्ति दिलाएपछि राम दण्डकारड्य क्षेत्रमा आइपुगे। त्यहाँ उनी जंगलका निषाद, वजर, मतका, रिक्ष आदि आदिवासी माझ पनि लोकप्रिय भए।

जंगलका आदिवासीहरू रामका परमभक्त थिए। उनले निषाद घरमा भोजन गरे। आफ्नो अनन्य भक्त भिल्लिनी शवरीले प्रेमपूर्वक दिएको जुठो बयर ग्रहण गरे। सबैलाई धर्म, कर्म, वेदको शिक्षा दिए। धनुष, बाण बनाउन सिकाए। गुफालाई कसरी उपयोग गर्न सकिन्छ ? धर्मको बाटोमा हिँडेर आफ्नो रिवाजलाई कसरी सम्पन्न गर्न सकिन्छ ? त्यो सिकाए। जंगलमा रहँदा उनी आदिवासी, जनजाति माझ पनि लोकप्रिय, पूजनीय र वन्दनीय भए। सबलाई एक सूत्रमा बाँध्ने काम गरे।

अत्यन्त कामुक, रामको सौन्दर्यबाट मोहित भएर कामको अन्धतामा सीतालाई समेत मार्न खोज्ने रावणकी बहिनी सुपर्णखाको नाक काटिएपछि कथाले अर्काे मोड लिन्छ। बहिनीको अपमानले रावण क्रोधित हुन्छन्। सीताको अपहरण गरेर बदला लिने निर्णय गर्छ। यसका निम्ति उनले मारिचलाई सुनको मृग बनाएर छल्न पठाउँछ। राम सुनको मृग समाउन गएको र लक्ष्मण दाजुलाई बचाउन गएको मौका छोपेर रावण साधुको भेषमा पञ्चवटी कुटीमा आउँछ। सीतालाई हरण गर्छ।

जब रावण सीतालाई लिएर जाँदै थिए, त्यतिखेरै जटायुले देख्छन्। उनले आफ्नो पूरै बल लगाएर युद्ध गर्छन्। रावणले पखेटा काटेपछि जटायु घायल भएर जमिनमा गिर्छन्। त्यही जटायुले रामलाई रावणले सीता हरण गरेर लगेको बताउँछन्। माता सीताको खोजमा रामले अनेकौं जंगलको भ्रमण गरे। उनले कयौं जातिलाई एकठ्ठा गरेर सेना गठन गरे। यसै क्रममा उनको भेट आफ्ना परमभक्त हनुमानसँग भयो। सुग्रिबसँग मितेरी साइनो गाँसियो। बालीको वध भयो। भगवान् रामले आफ्ना बानरभक्त र हनुमानसँगै लंका पुग्न समुद्री मार्ग चुन्छन्। समुद्रको किनारामा शिवलिंग स्थापना गरेर शिवजीको पूजा अर्चना गरे। लंका पुग्न नल, नीलको सहयोगमा राम नाम लेखेको समुद्रमा तैरिने चट्टानको उपयोग गर्दै विशाल समुद्रमा सेतु निर्माण गर्ने काम गरियो। लंका प्रस्थान गरियो।

रावणले भगवान् रामलाई चुनौती दिए– उनलाई हराउनू र सीतालाई लिएर जानू। राम र रावणका सेनाबीच घमासान युद्ध भयो। युद्धमा कुम्भकर्ण, इन्द्रजितलगायत वीरहरू मारिए। दश शिरको रावणलाई मार्न कठिन थियो। जति काटे पनि उसको शिर फेरि पलाउँथ्यो। किनकि उसलाई ब्रह्माजीको वरदान थियो। उसको नाभीमा अमृत थियो। यो सबै रहस्य रावणको भाइ विभिषणले खोलिदिएपछि रावणको वध भयो। विभिषणलाई लंकाको राजा बनाएर पुष्पक विमानमा राम भाइ लक्ष्मण र माता सीता सहिर विमानमा अयोध्या फर्किए।

संक्षिप्तमा कथा यही हो। यही कथालाई वाल्मीकिले विशाल महाकाव्यको रूप दिए। संस्कृत भाषामा लेखिएको प्रामाणिक ग्रन्थ यही नै हो। यही कथालाई आधार मानेर प्रभु श्रीरामबारे अनेकौं ग्रन्थ लेखिए। अरू ग्रन्थमा तामिल भाषाको कम्बन रामायण, आसाममा असमी रामायण, उडिसामा विलंका रामायण, कन्नडमा पम्प रामायण, नेपालीमा भानुभक्तीय रामायण, अवधि भाषामा गोश्वामी तुलसीदासको रामचरित मानस आदि चर्चित रहे।

रामका कथाहरू देश विदेशमा पनि फैलिए। विदेशमा पनि राम कथा चर्चित भए। कम्बोडियामा राम केर्तिय, लाओसमा राम जातक, मलेसिया हिकायत सेरियाम आदि चर्चित छन्। थाइल्यान्डमा रामायणलाई रामकिन भनिन्छ। रामायण थाइल्यान्डको राष्ट्रिय ग्रन्थ पनि हो। इन्डोनेसिया मुस्लिम देश हो। त्यहाँ रामायण राम काकाविनको रूपमा चर्चित छ। त्यहाँ रामायणलाई योगेश्वर रामायण पनि भनिन्छ। त्यहाँ त्यो कथा योगेश्वरले सुनाएका थिए।

राम एक ऐतिहासिक महापुरूष थिए। जसका पर्याप्त ऐतिहासिक प्रमाण भेटिन्छन्। राममाथि क्यामिल बुल्केले वर्षौं लगाएर शोध गरेका थिए। शोधले प्रमाणित गर्छ कि भगवान् रामको जन्म ५११४ इपुमा भएको थियो। चैत्रमासको नवमी तिथिमा भएको थियो। वाल्मीकि रामायणको रचना रामको राज्यभिषेक भएपछि ५०७५ इपुमा भएको मानिन्छ। रामको चर्चा चौथौ शताब्दी इपुको कौटिल्यको अर्थशास्त्र, बौद्ध साहित्यको दशरथ जातक कथा आदिमा उल्लेख छ। तेसो शताब्दी इपुमा जब कौशम्बीमा उत्खनन भयो। त्यहाँ राम सीता अंकित पक्का माटोको मूर्ति पनि प्राप्त भयो।

चर्चित इतिहासकार, पुरातŒवशास्त्री, अनुसन्धानकर्ता राम अवतारले माता सीता र रामसँग जोडिएका जीवनका घटनाका दुई सयभन्दा अधिक स्थान पत्ता लगाएका छन्। त्यहाँको स्मारक, भित्तेचित्र आदिलाई वैज्ञानिक तवरले खोज गरेका थिए। ती प्रमुख स्थानहरूमा सरयु र तमसा नदी आसपासका स्थान, दण्डकारड्यका कयौं स्थान, प्रयागराज, चित्रकुट, तुंगभद्रा, शवरी आश्रम, रामेश्वरम्, इलिया पर्वत शृंखला आदि थिए। जसले रामको ऐतिहासिकतालाई प्रमाणित गर्छ।

रामबारे विधर्मीका दुष्प्रचार

​​​​​​​जब भारतमा अंग्रेजहरू आए, उनीहरूले आफ्नो मिसन पनि लिएर आए। म्याक्स मुलर, रवर्ट क्याम्पवेलजस्ता मिसिनरीका एजेन्टहरूले सनातनीहरूका ग्रन्थ वेद, पुराण आदि माथि अनेकौं छेडछाड गरे। मर्यादा पुरुषोत्तम राम सनातनीका आधार स्तम्भ थिए। उनीहरूलाई थाहा थियो कि यसलाई भत्काउन सक्यो भने सनातन धर्म यसै कमजोर हुन्छ र आफ्ना धर्मान्तरणको मिसन सहजै लागू गर्न सकिन्छ।

खोजकर्ता क्यामिल बुल्के आफ्नो खोजमा प्रस्ट रूपमा लेखेका छन्– मध्यकालमा रामायणका कतिपय कथाहरूलाई तोडमोड गरेर प्रक्षिप्त गरिएका छन्। अंग्रेजको पालामा त्यसको झन् विद्रूपीकरण गरिए। अचेल तथाकथित वामपन्थी, नारीवादीहरू त्यही तोडमोड गरिएका प्रक्षिप्त कथा ल्याएर सनातनी सभ्यताका आराध्य प्रभु रामको आलोचना गर्छन्। मूलकथामा जाने हो भने न त रामले सीता त्याग नै गरेका थिए, न त बाम इतिहासकारले दुष्प्रचार गरे झैं दलित शम्बुकको बध नै गरेका थिए। भिल्लिनी शबरीको जुठो बयर खाने रामका निम्ति सबै समान थिए। राम कुनै जातिवादका पक्षमा थिएनन्। उनले त केवल सत्य, असत्य, न्याय र अन्याय मात्र हेरेका थिए। रामको निम्ति राजधर्म नै प्रमुख थियो।

कतिपय वैदिक सनातन धर्मको चेष्टा नभएका इसाई धर्मका प्रचारक, इसाई आवरणका वाम र लिवरलहरू रामको जलसमाधिलाई आत्महत्या जस्तो अति नै संगीन आरोप पनि लगाउन पछि पर्दैनन्। वास्तवमा समाधि भनेको कुनै आत्महत्या होइन। मध्यकालमा यस्ता धेरै साधु थिए। जसले आफू जीवित छँदै समाधि लिन्थे। केही शताब्दीअघि राजस्थानका सन्त रामपिरले ज्युँदै समाधि लिए। सनातन धर्ममा समाधिको आफ्नै महŒव छ। सनातनीका विराट आराध्य समाधि लिनु कुन आश्चर्यको कुरा भयो र ? यस्ता दुष्प्रचारदेखि सदैव सावधान रहनै पर्छ।

कस्तो थियो राम राज्य ?

रामको कुरा आउनेबित्तिकै राम राज्यको पनि कुरा आउँछ। राम अयोध्या फर्किएपछि झन्डै १० हजार वर्ष शासन गरे भन्ने उल्लेख छ। यस अवधिमा अयोध्याको शासन धर्तीको अधिकांश स्थानमा थियो। अफगानको हिन्दकुशदेखि, अरुणाचल, लाओस, बर्मा, मलेसिया आदि स्थानसम्म फैलिएको थियो। साँच्चै राम राज्य कस्तो थियो त ? यसबारे वाल्मीकि रामायण, तुलसी दासको राम चरित मानसमा कलात्मक रूपमा चित्रण गरिएको छ।

तेत्रा युगमा रामले जुन शासन स्थापित गरे। त्यो यो धर्तीकै आदर्श शासन थियो। यो शासनको मूलमर्म भनेकै सर्वे भवन्तु सुखिन थियो। आज हामी जुन समाजवाद र साम्यवादको कुरा गर्छौं, त्यसको उच्चतम् रूप थियो। राम राज्यको बारेमा वाल्मीकि रामायण र तुलसीदासको राम चरित मानसमा कलात्मक चित्र कोरिएको छ। राम चरित मानसका यी हरफले राम राज्यबारे स्पष्ट पार्छन्–

दैविक दैहिक भौतिक तापा।
राम राज नही कहु ही व्यापा।।
सब नर करही परस्पर प्रीति।
चलही निरत श्रतु नीति।।

अर्थात्, राम राज्यमा सबै मानिस परस्पर प्रेम गर्थे। वेदमा बताइएको नीतिअनुसार धर्मको पालना गर्थे।

चारिउ चरन धर्म जगमाही।
पुरी रहा सपनेहु अघ नाही।।
राम भगती रत अरू नारी।
सकल परम गतिके अधिकारी।।

अर्थात्, चारै चरणबाट, सत्य, दया, दानबाट धर्म र जगत् परिपूर्ण छ। पाप सपनामा पनि छैन। महिला, पुरुष सबै रामभक्तिका पारायण छन्। सबै परम गतिका अधिकारी छन्।

अल्प मृत्यु नही कब निउ पिरा।
सब सुन्दर और विकज शरीरा।
नही दरिद्र कोउ दुःखी नदिन।
नही कोउ अबुध न लच्छन् हिना।।

अर्थात् कसैको अल्पायुमा निधन हुँदैन। न कसैलाई पीडा हुन्छ, न कष्ट हुन्छ। न कोही दुःखी छन्। न दीनहीन छन्। न कुनै मूर्ख छन्। न शुभ लक्षणले हिन छन्। सबै सुन्दर र निरोगी छन्।

राम राज्य चारैतिर इच्छाएका पूरा हुने कल्पवृक्ष थिए। धर्ती उर्वर थिए। राज्य धनधान्यले पूर्ण थियो। कसैलाई कसैको भय थिएन। राम राज्यमा बाघ र बाख्रा एउटै मूलका पानी पिउँथे। समतामूलक समाजको ज्वलन्त उदाहरण थियो– रामराज्य।

​​​​​​​अन्त्यमा

श्रीहरि विष्णुका अवतार सदाचार र शिष्टाचारका प्रतीक थिए। मर्यादा र संस्कारका प्रतीक थिए। सद्गुणका खानी थिए। अविश्वसनीय परमार्थिक गुणले सम्पन्न थिए। रामको मूल चरित्र भनेकै मर्यादा थियो। जो कहिल्यै मर्यादा उल्लंघन गर्दैनन्। प्रशंसनीय सन्तोष, बेदाग चरित्रले भरिएका रामको नाम उच्चारण गर्नेबित्तिकै शरीर र मनमा अनेकौं ओरतिक्रिया उत्पन्न हुन्छ। वास्तवमा राम सनातन आधार स्तम्भ हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.