उज्यालियो देशकै जेठो गुरुकुलको मुहार
काठमाडौं : प्राचीन शिक्षाको धरोहर हो राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानी। तर, तीन शताब्दी पुरानो देशकै जेठो गुरुकुलको अवस्था भने रुग्ण थियो। जसले आफ्नो मुहार फेर्न लालहरू कुर्दै थिए। शताब्दीयौं पछि २०८० मा गुरुकुलको जीर्णोद्धारको सुनौलो अवसर प्राप्त गर्यो।
तीन तहका सरकार एवं शिक्षा प्रेमीको सहयोगमा गुरुकुलमा अढाई करोड बजेट आयो। १ सय १७ वर्ष पुरानो शास्त्रीय भवनको जीर्णोद्धार भयो। जसलाई हाल ‘जनक सदन’ नाम दिएको छ। गुरुकुलमा थप नयाँ भवनहरू बनेका छन्। यत्रिमात्रै होइन, ओझेलमा परेको गुरुकुलले गत वर्षमै आफ्नो पुरानो इतिहासलाई चर्चामा ल्यायो। अनि विरासत फर्काउन सफल भयो। २०८१ सालको वैशाख १ गतेसँगै देशको जेठो गुरुकुलले ३ सय ६ वर्ष लामो इतिहास रचेको छ। गुरुकुलका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल भन्छन्, ‘यसले गुरुकुलको वैभव उज्यालिएको छ। अहिले गुरुकुलले ‘प्राचीन शैक्षिक तीर्थाटन’को रुपमा प्रसिद्धि कमाएको छ।’ वि.सं. १७७५ मा गुरुकुलको स्थापना भएको थियो।
२०८० सालमा गुरुकुलले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव पाहुन पाए। उनीहरूमात्रै होइन् देशका न्यायालय, शिक्षालय, राजनीतिक वृत्तकालगायत उच्च पदस्थहरू गुरुकुलको भ्रमण गरिसकेको छ। ‘जब देशको जेठो गुरुकुलले व्यापक प्रचारप्रसार पायो। अनि सबैको माया, स्नेह र संरक्षण प्राप्त गरेको छ’, उनी भन्छन्, ‘त्यसले गुरुकुललाई शैक्षिक तीर्थाटनको रूपमा विकास गरिदिएको छ। यसले गुरुकुललाई नयाँ परिचय थपिदिएको छ।’
मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डल जेठो गुरुकुलले देशकै ध्यान खिचेकोमा खुसी व्यक्त गर्छन्। ‘कुनै पनि प्राचीन सभ्यताको कला, संस्कृति, मठमन्दिरको भनेको उसको वर्तमान अवस्थामा पहिचान र इतिहास कायम हुनु हो। यो अवसरबाट गुरुकुलसहित प्राचीन भूमि मटिहानी वञ्चित थियो। अहिले गुमेको पहिचान हामीले फर्काउन सफल भयौं।’ मटिहानीको धार्मिक, संस्कृति, ऐतिहासिक, पुरातात्त्िवक गाथाबारे चर्चा, विमर्श सुरु हुनु ठूलो विषय रहेको उनी बताउँछन्।
अहिले सबै सम्प्रदाय र समुदायका बटुकहरू गुरुकुलमा अध्ययन पर्छन्। पहिले यस्तो थिएन। हिमाल, पहाड, तराईसहित २६ जिल्लामा बच्चाहरू आवासीय रूपमा यहाँ पढ्छन्। भारती विद्यार्थीहरू पनि आकर्षित छन्।
नेपाल संस्कृत विश्वविद्यालय प्राज्ञ ध्रुव रायका अनुसार सबैभन्दा ठूलो कुरो गुरुकुलको पहिचान फर्कियो। यो नै ठूलोे प्रगति हो। ‘महोत्तरीको मटिहानी अब धार्मिक पर्यटनको रूपमा विकास भयो त्यसको बलियो एक पिल्लरका रूपमा गुरुकुल छन्। धार्मिक पर्यटनलाई गुरुकुलले बढावा दिइरहेको छ,’ उनी भन्छन्, ‘सनातन वैदिक हिन्दु धर्मको प्रचारप्रसारमा पनि यसले ठूलो मद्दत गरेको छ।’
प्रत्येक हप्ताको बिहीबार र विशेष दिनहरूमा लक्ष्मीनारायण सागरको किनारमा ‘लक्ष्मीनारायण भगवान्’को आरती हुन्छ। त्यस अनुष्ठानमा गुरुकुलका बटुक, गुरुजनहरूले मुख्य सहयोग रहन्छ। यो पनि उसको लागि हिन्दु धर्मको प्रचारप्रसार गर्ने अवसरको रूपमा प्राप्त भएको प्राज्ञ राय सुनाउँछन्। उनी भन्छन्, ‘सनातन वैदिक हिन्दु परम्पराको संस्कृत भाषाको शिक्षा र कमजोर आय भएका विद्यार्थीको रोजाइमा गुरुकूल पर्छन्। किनभने यहाँ आवासीय पठनपाठन हुन्छ।’ पछिल्लो समयमा गुरुकुल संरक्षणमा सरकारकै रुझान बढेकोमा उनले खुसी व्यक्त गरे।
प्राचीन गुरुकुललाई हुलाक टिकटमा प्रकाशित गर्नुपर्ने माग गुरुकुलले सरकारसँग गरेको छ। चैत्र महिनामा राष्ट्रपति रामचन्द्र पौडेल गुरुकुलमा पुग्दा यस्तो माग गरिएको थियो।
यहाँ बालगुरु षडानन्द गुरुकुलबाट कक्षा ६ र ७ को पठनपाठन अघि बढाउन प्रक्रिया अघि बढाइएको छ। यो गुरुकुलमा कक्षा ८—१२ सम्म हाल पठनपाठन हुँदै आएको छ। मटिहानीको गुरुकुलमा शिक्षा प्राप्त गरेर वाला षडानन्दले वि.सं. १९३२ भोजपुरको दिङ्लामा गुरुकुल खोलेका थिए।